वीरगन्ज - नवलपरासीको नारायणी नदीबाट भारतीय भूमि हुँदै पुनः नेपाल प्रवेश गर्ने गण्डक नहरमा पूर्वनिर्धारित समयभन्दा साता दिन ढिलो हुँदा समेत किसानले सिँचाइका लागि पानी पाउन सकेका छैनन्।
पुस १६ गतेदेखि नै पानीको बहाव सुरु हुनुपर्ने भए पनि एक साता ढिलो गरी आइतबारदेखि पानी छोड्ने भनिएको थियो।
नहर व्यवस्थापन गर्दै आएको नारायणी सिँचाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर सुरेश साहले भारततर्फ दोन नहरको मर्मत सम्भारका कारण निर्धारित समयभन्दा एक साता ढिलो भएको बताए।
नहरको पर्सा र बारा जिल्लाअन्तर्गत पर्ने खण्डमा पानी पठाउन भारतको भैंसालोटन बाँधबाट प्रवाह हुनुपर्छ। यो नहरको संरचना रौतहटको दक्षिणी भेगसम्म निर्माण गरिए पनि रौतहटका किसानको खेतमा सुरुदेखि नै पानी पुगेको छैन।
नारायणी नदीमा बाँध बनाएर भारतले बिहारको पश्चिम चम्पारणमा सिँचाइ सुविधा पु¥याउँदै आएको छ। त्यहाँका किसानलाई पानी आवश्यक भएसम्म भारतीय पक्षले नहरको संरचना मर्मतको बहानामा ढिलो गरी नेपालतर्फ पानी पठाउने गरेको छ।
भैंसालोटनका किसानका लागी नहरको पानीले सिञ्चाइ पर्याप्त मात्रामा भइसकेपछि वा नहरमा पानीको बहाव थेग्न नसक्ने अवस्थामा मात्र भारतीय पक्षले नेपालका लागी पर्साको जानकीटोला हुँदै पानी छोड्ने गरेका छन्।
गण्डक नहरले पर्सामा ६ वटा ब्लकमार्फत १२ हजार हेक्टर क्षेत्रफलमा र बारामा ६ वटा ब्लकमार्फत १७ हजार हेक्टर क्षेत्रफलमा सिञ्चाइ सुविधा पु्र्याउने दाबी गरिए पनि नहरको संरचना क्षतिग्रस्त भएको र भारतीय पक्षले सम्झौताअनुरुप पानी उपलब्ध गराउन बेइमानी गर्दै आएकाले पचास प्रतिशत भूभागमा मात्र सिञ्चाइ सुविधा उपलब्ध छ।
नहर सिञ्चाइको सुविधा जिल्लाभरि नै उपलब्ध नभएकाले उत्तरी भेगका अधिकांश किसान आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ। उत्तरी भेगको केही गाउँका किसान गाउँ छेउछाउबाट बग्ने खहरे खोलाको सिञ्चाइका भरमा खेती लगाउँछन्।
नारायणी सिञ्चाइ डिभिजन कार्यालयका अनुसार अहिले मूल नहरमा करिब चार सय क्युसेक पानीको बहाव छ। सिञ्चाइ प्राविधिकले ठाउँठाउँमा नहरको अवस्था सुनिश्चित गरेपछि पाँच सय क्यु सेक पानी बग्ने जानकारी दिए। नहरको बहाव क्षमता ८ सय ५० क्यू सेक भए पनि भारतीय पक्षले पर्याप्त पानी छोड्दैन।
नहरको खाल्डोमा माटो पुरिंदै गएको र डिलसमेत कमजोर भइसकेकाले पानीको बहाव थेग्न नसकेर नहर फुट्ने खतरा रहेको सिञ्चाइ इन्जिनियरको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४