काठमाडौं- रसिया विश्वकपपछि अर्जेन्टिनी राष्ट्रिय टोलीबाट टोलीबाहिर रहँदै आएका लियोनल मेस्सी छिट्टै राष्ट्रिय टोलीमा फर्किने सम्भावना बढेको छ ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई सकेसम्म चाँडो राष्ट्रिय टोलीमा फर्काउने योजना अनुसार भेनेज्वेलासँगको मैत्रिपूर्ण खेल खेल्ने घोषणा गरेको बताएका छन् ।
उक्त खेल बार्सिलोनाको रंगशाला क्याम्प नोउमा हुने सम्भावना छ । खेलको मिति भने तय नभए पनि मार्च २२ वा २६ मध्ये कुनै एक मितिमा यो खेल हुनेछ सम्भावना रहेको बताएका छन् ।
यो खेल स्पेनमै खेलाउने योजना बनाएका हुन् । स्कालोनीले मेस्सीलाई बार्सिलोनास्थित घरेलु रंगशालामा अर्जेन्टिनी जर्सीमा उतार्ने योजना बनाएका छन् । र, उनले यसबारे मेस्सीसँग कुरा गरिरहेका छन् । यदि मेस्सी सहमत भए यो खेल स्पेनमै हुनेछ ।
यसअघि मेस्सीले कोपा अमेरिका फुटबलमा आफू राष्ट्रिय टोलीमा फर्किने बताइसकेका छन् । तर, स्कालोनीले राष्ट्रिय टोलीबाट ठूला खेलका लागि मेस्सीलाई मानसिक रूपमा तयार पार्न पनि भेनेज्वेलासँगको खेललाई सही समय ठानेका छन् ।
उनले मेस्सीलाई अर्जेन्टिनी १० नम्बर जर्सीमा फर्काउन उनकै घरेलु मैदान सही हुने ठानेर यस्तो योजना बनाएका हुन् । यदि भेनेज्वेला र अर्जेन्टिनाको खेल बार्सिलोनाको रंगशालामा गराउन मेस्सी र बार्सिलोना नमानेको खण्डमा मात्रै एथ्लेटिको मड्रिडको रंगशाला वान्डा मेट्रो पोलिसानोमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४