काठमाडौं– नेपाल शिक्षक महासंघकी पहिलो महिला अध्यक्ष कमला तुलाधरले शिक्षक आन्दोलनलाई निष्कर्षमा पुर्याउने बताएकी छन्। नवनियुक्त अध्यक्ष तुलाधरले शिक्षकको पेसागत आन्दोलन अघि बढाउन भने विभिन्न चुनौती रहेको बताइन्।
अध्यक्ष भएसँगै नेपाल समयसँग कुरा गर्दै तुलाधरले भनिन्, ‘शिक्षकका मुद्दाका विषयमा म विगतदेखि नै लागिपरेकी छु।’ सबैलाई मिलाएर शिक्षक आन्दोलन अघि बढाउनुपर्ने चुनौती रहेको उनको छ।
‘पहिलो काम आन्दोलनको स्वरुप कस्तो बनाउने, ऐनमा समेट्नुपर्ने विषय के–के हुन् भन्ने पहिचान गरेर शिक्षक आन्दोलनलाई एउटा निष्कर्षमा पुर्याउने काम गर्छु।’
उनले १५ महिनाको विवादपछि महासंघमा नेतृत्व गर्ने अवसर पाएकी हुन्। तुलाधरले भनिन्, ‘यसलाई सदुपयोग गर्दै महासंघलाई एक ढिक्का भएर अघि बढाउन राजनीतिबाट अलग राखेर शिक्षकका मुद्दालाई अघि बढाउनेछु।’ उनले शिक्षक महासंघमा रहेको विवाद पनि अन्त्य भएको बताइन्।
शिक्षक महासंघले नयाँ नेतृत्व पाएसँगै शिक्षक महासंघमा रहेको नेतृत्व विवाद तत्कालका लागि मत्थर भएको छ। महासंघको अध्यक्षमा नियुक्त भएकी तुलाधार नागार्जुन नगरपालिकास्थित रत्नराज्य माध्यमिक विद्यालयकी शिक्षक हुन्।
उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै केन्द्रीय प्रथम उपाध्यक्ष भएपछि नेपाल शिक्षक महासंघको कार्यसमितिमा केन्द्रीय उपमहासचिव रहेर आफ्नो भूमिका निर्वाह गरिसकेकी छन्।
उनको कार्यकाल महाधिवेशन नहुन्जेलसम्मका लागि तोकिएको र महासंघले २०७८ माघभित्र महाधिवेश गर्ने सहमति भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले बताए।
‘लैंगिक समानता र महिलालाई अघि बढाउन शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी उहाँलाई नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्षमा सिफारिस गरेको हो,’ शर्माले भने।
शिक्षकका मुद्दाहरुमा निरन्तर आवाज उठाउँदै आएकी उनी शिक्षक महासंघको इतिहासमै पहिलो पटक महिला अध्यक्ष भएकी हुन्। उनले यसअघि नेपालको तर्फबाट सार्क क्षेत्रको महिला शिक्षकको नेतृको रुपमा आफ्नो भूमिका निर्वाह गरिसकेकी छन्।
महासंघका निवर्तमान अध्यक्ष बाबुराम थापाले २०७६ चैत २९ गते शिक्षक सेवाबाट अनिवार्य अवकाश पाएपछि पनि अध्यक्ष पदमा रहिरहँदा महासंघको विधानअनुसारको अध्यक्ष नभएको भन्दै शिक्षकहरुले विरोध गर्दै आएका थिए। त्यसपछि नेपाल शिक्षक महासंघ दुई धारमा विभाजित भएको थियो।
थापाले अवकाश पाएपछि अध्यक्षमा अर्को व्यक्तिलाई नेपाल राष्ट्रिय शिक्षक संगठनले सिफारिस गर्नुपर्नेमा त्यसो नगरी उनैलाई निरन्तरता दिएपछि नेपाल शिक्षक संगठनलगायतले विरोध गर्दै आएका थिए।
उनीहरुले सहअध्यक्ष पूणर्प्रसाद दवाडीलाई कार्यवाहक अध्यक्ष बनाएर संघको गतिविधि अघि बढाएका थिए। तर, यता तत्कालीन अध्यक्ष थापाले भने नेतृत्व गरिरहेका बेला बहिर्गमन हुँदा नयाँ अध्यक्षको प्रबन्ध गर्नुपर्ने र नयाँ अध्यक्षले बुुझ्दाबुझ्दै समय जाने भन्दै कसैको अनिवार्य अवकाश वा स्वेच्छिक अवकाश भए पनि उसले आफ्नो कार्यकाल पूरा गर्न पाउने प्रस्ताव राखेका थिए।
उनले शिक्षक महासंघको अध्यक्षको तीन वर्षको कार्यकाल बढाएर चार वर्षको बनाउने प्रस्ताव पेस गरेका थिए।
२०७७ फागुन २९ को विशेष राष्ट्रिय परिषद्को निणर्यबाट चारबुँदे सहमति भएसँगै तत्कालीन अध्यक्ष बाबुराम थापा पदमुक्त भएपछि विधानबमोजिम सह–अध्यक्ष पूणर्प्रसाद दवाडीले कार्यबाहक अध्यक्षको जिम्मेवारी समाल्दै आएका थए।
त्यही निणर्यमा उभिएर साउन ३० गते नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिले विधानबमोजिम शिक्षक नेता कमला तुलाधरलाई अध्यक्षमा सिफारिस गरेको हो। नयाँ अध्यक्षको पदस्थापनासँगै बाबुराम थापालाई बिदाइ गरिएको थियो।