शुक्रबार, वैशाख १४, २०८१

यी हुन् पूर्वी पहाडका सात सुगम पिकनिक स्पट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- हिउँद सुरु भएसँगै सुरु हुन्छ पिकनिक सिजन । प्रदेश १ को पिकनिक सिजनमा पूर्वी तराई क्षेत्रका पिकनिक स्पटहरू धेरै लोकप्रिय छन् । राजमार्गले छुने र समथर भूभागका पिकनिक स्पटहरू भएकाले तराईका पिकनिक स्पटहर धेरै चल्छन् । 

सडक यातायातको सुविधा विस्तार भएसँगै पूर्वका तराई क्षेत्रका मात्रै हैन पहाडी क्षेत्रका पिकनिक स्पट पनि चल्न थालेका छन् । पहाडी क्षेत्रमा सडक पुगेपछि त्यहाँ नयाँनयाँ पिकनिक गन्तव्य बनेर तराई क्षेत्रका पिकनिक पारखीहरु पनि पहाडको भ्रमणमा जान थालेका छन् । यी पूर्वी पहाडका तराई क्षेत्रबाट एकै दिनमा पिकनिक खाएर आउन सकिने सात सुगम पिकनिक स्पट -

कन्याम

इलाम जिल्लामा रहेर मेची राजमार्गमै छोएर बसेको कन्याम पूर्वी पहाडको लोकप्रिय पिकनिक स्पट हो । ढकमक्क हरियाली चियाबारी भएको यो पिकनिक स्पटमा नेपाल मात्रै हैन इलामसँग सिमाना जोडिएका भारतीय भूमिबाट पनि पर्यटक आउने गर्छन् । पिकनिक, घोडचढी र चित्ताकर्षक दृश्यावलोकनका लागि कन्याम लोकप्रिय छ । पूर्वी तराई र मेची पहाडी दुवै क्षेत्रका आन्तरिक पर्यटकका लागि कन्याम राम्रो पिकनिक स्पटका रूपमा धेरै समयदेखि लोकप्रिय छ । 

माईपोखरी

इलाम बजारबाट १५  किलोमिटर उत्तरी क्षेत्रमा अवस्थित माईपोखरी इलामको अर्को महत्त्वपूर्ण पिकनिक स्पट हो । समुद्री सतहबाट २१३० मिटरको उचाइमा रहेको यो पोखरी वनस्पति, चराचुरुंगी, जलचर र थलचर मात्रै हैन आकर्षक प्राकृतिक बनावटका कारण पनि चर्चित छ । करिब १८८ हेक्टर क्षेत्रफलमा फैलिएको यो पोखरीमा नेपाल तथा भारतका पर्यटक घुम्न, पिनकिन खान र अध्ययन अवलोकन गर्न आउने  स्थानीय बताउँछन् । नौ कुना रहेको यो पोखरी धार्मिक आस्थासँग पनि जोडिएको छ । दुई हेक्टर सीमसार रहेको यो पोखरीका नौ कुनामा नवदुर्गाको बास रहेको विश्वास छ । 


जोरपोखरी 

पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा रहेको यो पोखरी मेची राजमार्गमै छोएर बसेको छ । सँगसँगै दुई पोखरी रहेकाले जोरपोखरी भनिएको हो । ताप्जेजुङको पाथीभरा जाँदा र आउँदा यो पोखरीमा दर्शन नगरेमा तीर्थयात्रा अपुरो हुने धार्मिक विश्वास यो पोखरीसँग जोडिएको स्थानीय बताउँछन् । पाँचथर सदरमुकामबाट ३९ किलोमिटरको सडक दुरीमा रहेको जोरपोखरी क्षेत्रमा पिकनिक गर्ने, पूजा गर्ने र घुमघाम गर्नेहरुको बाक्लो उपस्थिति हुन्छ ।

शिवगंगा मन्दिर, हिलिहाङ दरबार र ताङसाङजुङ डाँडाजस्ता अन्य महत्त्वपूर्ण धार्मिक, पुरातात्त्विक तथा प्राकृति गन्तव्य पनि यो पोखरी नजिकैका गन्तव्य भएकाले पनि यो क्षेत्रमा राम्रो आवागमन हुने गर्छ । धेरै पर्यटकीय महत्व बोके पनि यो क्षेत्रमा राम्रो लज भने व्यावसायिक सञ्चालनमा आँउन बाँकी छन् । गाडीमा आएकाहरुले फिदिम वा ताप्लेजुङमै गएर बास बस्नुपर्ने हुन्छ । 


भेडेटार

सुनसरी र धनकुटाको सिमानाका पहाडी टुप्पोमा टुसुक्क बसेको पूर्वकै सबैभन्दा व्यस्त हिलस्टेसन हो भेडेटार । समुद्री सतहबाट १४३० मिटरको उचाइमा रहेको भेडेटारमा बेलायती राजकुमार चाल्र्सले पाइला टेकेको डाँडामा चाल्र्स प्वाइन्टसमेत बनाइएको छ । धरान बजारबाट १७ किलोमिरटको नागबेली पिच बाटो भएर पुगिने भेडेटारबाट मकालु, कञ्चनजंगा र सगरमाथाजस्ता विश्वका सर्वोच्च शिखरहरू मात्रै हैन पूर्वी तराईका हरियाली फाँटसमेत देख्न पाइन्छ ।

भेडेटार नजिकै नमस्ते झरना, सिएनएनले विश्वमा कम चर्चामा आएका उत्कृष्ट गन्तव्य भनेको नाम्जे गाउँ र पूर्वका सबै जिल्ला सदरमुकाम देखिने भनिएको ध्वजेडाँडा आदि अन्य महत्त्वपूर्ण पर्यटकीय गन्तव्य छन् । आकर्षक होटलहरु भएको भेडेटार पिकनिक खानेहरुका लागि मात्रै हैन साना–मझौला आकारका सभासेमिनार गर्न पनि लोकप्रिय  स्थल हो । 

राजारानी

भेडेटारबाट २० किलोमिटरको दुरीमा रहेको धनकुटाको राजारानी आकर्षक भूबनोट र सुन्दर तालको कारण चर्चामा छ । खसगरी पूर्वी तराईका पिकनिक पारखीले राजारानीलाई गन्तव्य बनाइरहेका छन् । राजारानीमा रानी ताल र कली झरना जस्ता आकर्षक गन्तव्यहरू भएकाले पनि यो क्षेत्रमा घुमघाम गर्नेहरु बाक्लिएका छन् । खदमराजा र खदमरानीले प्राचीन कालमा बसेर राज्य गरेकाले राजारानी नामकरण गरिएको विश्वास छ ।े यो क्षेत्रमा पिकनिक आउने, जैविक अध्ययन गर्ने र होमस्टे गर्नेहरुको संख्या बढ्दो भएको स्थानीय कमल राई बताँउछन् ।

संसारीमाई  सीमसार

धनकुटाको पाख्रीबास नगरपालिका ४ मा आकर्षक बुद्ध मूर्तिको निर्माण गरिएपछि संसारीमाई सिमसारमा आवागमन बढेको छ । धनकुटाबाट भोजपुर र संखुवासभामा जाने सडकमार्गको ‘गेटवे’ को रूपमा रहको पाख्रिबासमा साढे २७ फिट अग्लो बुद्ध मूर्ति बनेपछि यहाँको पर्यटकीय चहलपहल बढ्ने मूर्ति निर्माण समितिका अध्यक्ष ज्ञानु गुरुङले बताए । पाख्रीबास बजारबाट पाँच मिनेटको पैदलमार्गमा पुग्न सकिने संसारीमाई सीससार क्षेत्रमा पिकनिक खानेहरु बर्सेनि बढ्दै गएका छन्  ।

२५ रोपनी क्षेत्रफलमा फैलिएको संसारीमाई सीमसार क्षेत्रमा वार्षिक ५० वटा गाडीमा पाँच हजार हाराहारी पिकनिक खान आउने आगन्तुक यो बुद्धमूर्ति बनेपछि झनै बढ्ने स्थानीयको भनाइ छ । दुईवटा मझौला र दुईवटै साना पोखरी भएको उक्त सीमसारमा आफ्नै पानीको मुहान र चिया बगान पनि छ । पैदलयात्रीले हिँड्ने आकर्षक टायलमार्ग पनि भएकाले पिकनिक पारखीका लागि संसारीमाई सिमसार आकर्षक गन्तव्य बनेको छ । 



वसन्तपुर

नेपाली राष्ट्रिय फूल हो गुराँस र गुराँसको राजधानी हो संखुवासभा, तेह्रथुम र ताप्जेजुङका तीनजुरे, मिल्के र जलजले क्षेत्र । र,  यी सबैको केन्द्र बिन्दुमा रहेको कोसी पाहाडको सुगम बजार हो वसन्तपुर । समुद्री सतहबाट २३२३ मिटरको उचाइमा रहेको वसन्तपुर सडकमार्गबाट तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारबाट २४ किलोमिटरको पूर्वमा छ । धरानबाट ८९ किलोमिटरमा रहेको वसन्तपुरमा आकर्षक आरआर गोर्डन छ ।

रक (पत्थर) र  रोडोडेन्ड्रोन (गुराँस) को नामबाट यसको नाम आरआर गार्डेन भएको स्थानीय पर्यटन अभियन्ता तथा प्रदेश एकका प्रादेशिक सांसद लक्ष्मण तिवारी बताँउछन् । गुराँसको राजधानी क्षेत्र भएकाले  वसन्तपुर क्षेत्रलाई लालीगुराँस नगरपालिका भनेर नामाकरण गरिएको छ ।

वसन्तपुर गुराँस अध्ययन गर्न आउने र हिमपातको सिजनमा हिउँ खेल्न आउनेहरुको लोकप्रिय गन्तव्य हो । पक्की सडक भएर जान सकिने वसन्तपुरबाट नजिकै गुफापोखरी, तिनजुरे तथा मेन्छ्यायेम पर्वत पनि नजिकै पर्छ । पूर्वी तराईबाट एकै दिनमा ओहोरदोहोर गर्न मिल्ने वसन्तुपुरमा घुम्ने र पिकनिक खानेहरु गुराँस फुल्ने माघ फागुनमा धेरै हुन्छन् । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।