वीरगंज- स्थानीय उद्योगबाट फैलिएको दुर्गन्धको कारण वीरगंज महानगरपालिकाको भवानीपुर र सौराहा टोलको बस्ती विस्थापित हुने अवस्थामा पुगेको छ ।
हाड प्रशोधन गर्ने दुईवटा र मासु प्रशोधन एउटा उद्योगबाट फैलिएको दुर्गन्धका कारण वडा नम्बर १८ को सौराहा र वडा नम्बर २० को भवानीपुरका बासिन्दा पीडित भएका हुन् । उद्योगको उत्पादन र भण्डारण व्यवस्थापन वातावरण मैत्री नभएकोले वरिपरीको बस्तीमा दुर्गन्ध फैलिएको हो ।
मध्यमाञ्चल बोन चिप्स , हिरा बफ मिट सप्लायर्स र नारायणी बोन चिप्स उद्योगले जथाभावी कच्चा पदार्थ र उत्पादन भण्डारण गर्दा स्थानीय भबानीपुर, सौराहा, अपौनी,जगरनाथपुर, उदयपुर घुर्मी र बगही टोलका बासिन्दा नराम्ररी प्रभावित भएका हुन् ।
दुर्गन्धका कारण हाम्रो घरमा पाहुना समेत आउन मन पराउँदैनन्,स्थानीयले गुनासो गर्दै भने, हावा चलेका बेला घरको झ्याल ढोका थुनेर समेत दुर्गन्धबाट मुक्ति पाउन सकिदैंन । सबैभन्दा बढी सौराहाको सामुदायीक विद्यालयका बालबालिका र शिक्षक प्रभावित छन् ।
हिरो बफ मिट सप्लायर्सले राँगाको मासु, मध्यमाञ्चल बोन चिप्स र नारायणी बोन चिप्सले विभिन्न घरपालुवा जनावरको हाड खुर प्रशोधन गरेर स्थानीय र भारतीय बजारमा बिक्री गरिरहेका छन् ।
प्रदुषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै महानगरपालिका र संघिय संसदको उद्योग, वाणिज्य समितिमा निवेदन दिएपनि उद्योगी विरुद्ध कुनै कारवाही नभएकोमा स्थानीय आक्रोशित छन् ।
यो उद्योग बन्द गराउन सात वर्ष अघि समेत स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए । आन्दोलन पछि तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले उद्योग बन्द गराएपनि केही समयपछि पुन: संचालनमा आएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४