बुधबार, वैशाख १२, २०८१

प्रदेश राजधानी तेघरीमा नदीजन्य पर्दाथको दोहन बढ्दो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- सुदूरपश्चिम प्रदेशको प्रस्तावित राजधानीस्थल तेघरी जंगल भएर बग्ने गोदावरी नदीमा अवैध रुपमा घुम्ती क्रसर उद्योग स्थापना गरेर नदीजन्य पदार्थ उत्खनन बढेको छ। 

करिब एक महिनादेखि नदीमै घुम्ती क्रसर उद्योग स्थापना गरी उत्खनन गर्न थालेपछि स्थानीयबाट चर्को बिरोध भइरहेको छ।स्थानीय सामुदायिक वन उपभोक्ता समिति, स्थानीयको विरोधका बाबजुत पनि नदीजन्य पदार्थ तस्करीमा संलग्नहरुले अटेरी गरिरहेको स्थानीयको गुनासो छ।
    
‘हामीले नदीमै अवैध रुपमा क्रसर उद्योग सञ्चालन नगर्न भन्यौ, तर कसैले सुनेन,’ नाम नबताउने शर्तमा स्थानीय एक उपभोक्ताले भने,‘हामीले विरोध गर्दा उल्टै धम्क्याउँछन् ।’वडा कार्यालय, गोदावरी नगरपालिका, इलाका वन कार्यालय, जिल्लास्थित वन डिभिजन कार्यालय, वन मन्त्रालय लगायतका स्थानमा गुहार्दा समेत कुनै प्रतिक्रिया नपाएको गुनासो पोख्दै उनले भने,‘हामी जहाँ जहाँ पुग्यौँ, त्यहीँका कर्मचारीले हामीलाई सहयोग गर्नु त कहाँ हो कहाँ बुझेर खबर गरौला समेत भनेनन् ।’ आफूहरु सम्बन्धित निकायसम्म पुग्दा पनि कुनै प्रतिक्रिया नपाउँदा निरास भएको उनको गुनासो थियो।

‘रात दिन खोलामा ट्रिपर, ट्याक्टर, ट्रकहरु गुडेका गुड्यै छन्,’ स्थानीय हरी भट्टराईले भने,‘हामीलाई त यही बाटो गाडी गुड्दा धुलो माटोले हैरानी दिएको छ ।’ खोलामै घुम्ती क्रसर उद्योग सञ्चालनमा ल्याएर अवैध रुपमा नदीजन्य पदार्थ निकासी गर्दा भोलीका दिनमा बाढी तथा कटानको जोखिम बढ्ने हो कि भन्ने चिन्ता लाग्न थालेको उनी बताउँछन्।‘हामी खोला किनारमै बस्दै आएका छौँ,’ उनले भने,‘यसरी धमाधम खोलामै ढुंगा बालुवा उत्खनन गर्दा भोली नदी बस्तीमा पसेर सखाप पार्ने त हैन भन्ने चिन्ता लागिरहन्छ ।’ 

आफूले सुरुदेखि नै पटक–पटक नदीजन्य पदार्थ उत्खननमा विरोध गर्दै आए पनि कसैले साथ नदिएको तेघरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदनराज शर्माले बताए। उनले भने,‘मैले सुरुदेखि नै सम्बन्धित निकायमा पटक–पटक कुरा राखेँ, तर कसैले सुनिदिएनन् ।’ खोलामै घुम्ती क्रसर उद्योग राखेर नदीजन्य पदार्थ उत्खनन गर्दा हाम्रो गाउँको पश्चिमी भेग नै जोखिममा परेको उनले बताए। 
 
आफूलाई पनि मनमा खड्केको कुरो भएको बताउँदै गोदावरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णराज जोशीले भने,‘यसबारे नगरपालिकामा पनि कुरा उठाउँदा सबैले बैधानिक हो भने ।’ नदीमै क्रसर उद्योग सञ्चालन गर्न पाउने÷नपाउने बारे आफू अनविज्ञ रहेको उनी बताउँछन्।‘हामीसँग कुरा नगरेरै मन्त्रालयबाटै सिधै अनुमति पाएको भन्दै नदीमै क्रसर उद्योग खोलिएको छ,’ उनले भने,‘यसमा हामीले केही बोल्न सक्दैनौँ ।’ उनले खोलामै उत्खनन गरिँदा भविष्यमा गाउँ जोखिममा पर्न सक्ने पनि औँल्याए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका सहायक वन अधिकृत भोजराज पाठकले यसरी खोलामै घुम्ती क्रसर उद्योग सञ्चालन गरिनु गैरकानुनी भएको बताए।उनले भने,‘मेरो जानकारीमा अहिलेसम्म केही आएको छैन, तर पनि गोदावरी नदीमै घुम्ती क्रसर उद्योग राखिएको भन्ने कुरा गैर कानुनी हो ।’
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले गोदावरी नदीमा घुम्ती क्रसर राख्न नपाउने बताए।उनले भने,‘ढुङ्गा, गिट्टी तथा बालुवा संकलनका लागि ठेक्का दिए पनि खोलामै क्रसर राख्न भने अनुमति दिएका छैनौ ।’ ठेकेदार भीमबहादुर साउँदलाई त्यहाँको नदीजन्य पदार्थ संकलनका लागि अनुमति दिएको बताउँदै उनले भने,‘खोलामै जबरजस्ती घुम्ती क्रसर राखेका होलान्।हामी तुरुन्तै त्यसलाई हटाउन भन्छौँ ।’ उनले ठेकेदार कम्पनीलाई क्रसर उद्योग नराख्न भन्दै पटक–पटक पत्राचार गरिसकेको समेत बताए।

यस विषयमा गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदले घुम्ति क्रसर उद्योग राखेको क्षेत्र सामुदायिक वनको क्षेत्र भएकाले उनीहरुकै सहमतिमा राखेको हुन सक्ने बताए।वन डिभिजन कार्यालय धनगढी प्रमुख अमरबहादुर बुलनले खोलामै क्रसर उद्योग राखेर नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने बताए।उनले भने,‘नदीमै घुम्ती क्रसर उद्योग राखेको कुरा साँचो हो भने त्यो सरासर गलत भइरहेको छ ।’ उनले त्यसलाई रोक लगाउनु पर्ने बताए।आफू मातहतका कर्मचारी र कार्यालयलाई खटाएर त्यसलाई रोक्न लगाउने उनले बताए।

रोडा ढुङ्गा संकलन तथा क्रसर उद्योगको दूरी सम्बन्धी मापदण्ड २०७३ अनुसार वन क्षेत्रबाट दुई किलोमिटर टाढा क्रसर उद्योग सञ्चालन गर्न पाउने कुरा उल्लेख छ।तर, सो क्षेत्र तेघरी सामुदायिक वन क्षेत्रकै बीचमा पर्छ।

नगरपालिकाबाट वार्षिक एक करोड २० लाख रुपैयाँमा गोदावरी नदीबाट नदीजन्य पदार्थ निकासी गर्न अनुमति लिएको ठेकेदार भीम साउँदले बताए।प्रति घनमिटर ८४ रुपैयाँ ७८ पैसाका दरले नदीजन्य पदार्थ नागार्जुन कम्पनीलाई बेचिरहेको बताए।उनले भने,‘हामीले त सिधै नागार्जुन कम्पनीलाई नदीजन्य पदार्थ बेचिरहेको छौँ।उसले कहाँ क्रसर राख्यो त्यो हाम्रो सरोकारको विषय हैन ।’ नागार्जुन कम्पनीका प्रमुख ईश्वरी भट्टले भने आफूले सडक विभागबाट खोलामै घुम्ती क्रसर राख्न भनि अनुमति लिएको बताए पनि कागजात देखाउन मानेनन्।घुम्ती क्रसर राखेको स्थल बर्खायाममा गोदावरी नदीको पानी बहाव हुने स्थल रहेको सरकारी जंगलमा रहेको छ।नागार्जुन मोहना अत्तरीया छ लेन सडक निर्माणको जिम्मा पाएको कम्पनी हो।

उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव मेघनाथ काफ्लेले गोदावरी नदीमा राखिएको घुम्ती क्रसर अवैध भएको बताए।उनले भने,‘प्रदेश सरकारको कार्यविधि नबेको समयमा संघकै नियमानुसार त्यहाँ घुम्ती क्रसर राख्न मापदण्ड नै पुग्दैन ।’ उनले गोदावरी नदीमै घुम्ती क्रसर सञ्चालन गर्नेहरु कानुनी कारबाहीमा पर्ने बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।