काठमाडौं- सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि डा गोविन्द केसी १६ औं अनसन बस्न इलाममा पुगेका छन्।
अनसनको तयारीका लागि मंगलबार इलाम आइपुगेका डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिएका हुन्। इलाममा आएर डा केसीले इलामका अग्रज धर्म गौतमसँग भेट गरेको गौतमले जानकारी गराएका छन्। डा केसी अनसन बस्नको लागि उपयुक्त ठाउँको खोजीमा छन्।
डा केसीको माग र सरकारले विगतमा गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन। डा केसीले यसअघि २ गते सोमबारसम्मको अल्टिमेटम दिएका थिए। अल्टिमेटम दिँदा पनि सरकारले मागको विषयमा सुनुवाई नगरेपछि डा. केसीले अनसन सुरु गर्ने तयारी गरेका थिए।
केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन्। पहिलो बुँदामा उनले १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन्। उनले आफूसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन्।
सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि उनले माग गरेका छन् ।
दोस्रो मागमा केसीले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।
तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४