जनकपुरधाम-नेपाल जेसीजको वर्ष २०१९ का लागि अध्यक्ष पदमा इटहरीका महेश पौडेल निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न ४५ औं महाधिवेशन अन्तर्गत सोमबार अबेर राति भएको मतदानमा पौडेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
पौडेल बाग्लुङका सुदिप राजभण्डारीलाई ६ सय ६० मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार साँझ करिब ५ बजेदेखि सुरु भएको मतदान प्रक्रिया राति १० बजेसम्म चलेको थियो ।
अबेर राति सार्वजनिक मतपरिणाम अनुसार कार्यकारिणी उपाध्यक्षमा नुवाकोटका रविन पोखरेल, विराटनगरका श्यामसुन्दर पौडेल मिलन, गछिया जेसीजका अमिश ढकाल र कपिलवस्तुका रमेशचन्द्र भुषाल निर्वाचित भएका छन् ।
यसैगरी राष्ट्रिय उपाध्यक्षहरुमा रामनगर जेसीजका भोजराज चापागाईं, त्रिुभवन नगरका लालमणि भण्डारी, भकुण्डेवेसीका रुकमणि भण्डारी, सिद्धार्थ जेसीजका कमल भण्डारी, गैडाकोट जेसीजका गोकुल सापकोट, नवलपुर जेसीजका कृष्णप्रसाद अर्याल, नारायणगढ जेसीजका अर्जुन अधिकारी, पाटन जेसीजका सुमनकृष्ण श्रेष्ठ, अतरिया जेसीजका दिनेश बोहोर, काठमाडौँ जेसीजकी इनु थापा, बसामाडी जेसीजका हरि शर्मा, थानकोट जेसीजका मोहनलाल डाँगी निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयन गर्दै ७ पौषदेखि जनकपुरमा जारी जेसीजको ४५ औं महाधिवेशन मंगलबार सकिएको छ । महाधिवेशनमा भाग लिन मुलकभरका करिब दुई हजार जेसीजका प्रतिनिधिहरु जनकपुर पुगेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४