कोलम्बो- श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले मन्त्रीपरिषद् पुर्नगठन गरेका छन् । बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेका हुन् ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गरेका हुन् ।
सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए ।
नयाँ मन्त्रीपरिषद्को कानुन मन्त्रीमा भने कसैलाई नियुक्त गरिएको छैन् । विक्रमासिङ्घेको पहिलेको सरकारका अर्थ र परराष्ट्रमन्त्रीलाई भने परिवर्तन गरिउएको छैन् । अर्थमन्त्रीमा मङ्गला सामाराविरा र विदेशमन्त्रीमा तिलक मारापानालाई जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ तारिखका दिन तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर पुर्व राष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेका थिए ।
तर संसद र सर्वोच्च अदालतले उनको यो कदम गलत र अवैधानिक भएको भन्दै मान्यता नदिएपछि उनी पुरानै अवस्थामा फर्किनु परेको हो । आफैले हटाएको प्रधानमन्त्रीलाई फेरि नियुक्त गर्नुपरेपछि राष्ट्रपति सिरिसेनालाई काम गर्न गाह्रो हुने ठानिएको छ । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४