काठमाडौँ- राष्ट्रिय ख्रीष्टियन महासंघले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै महासङ्घका अध्यक्ष सिवी गहतराजले ख्रीष्टियन समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा वर्षमा एक दिन बिदा दिन माग गरेका हुन् । दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ ।
देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ ।
महासङ्घले गत महीना सम्पन्न गरिएको एशिया प्यासिफिक समिटले आफ्नो समुदायको भावनामा गम्भीर चोट पुर्याएकाले सरकारले त्यसको समीक्षा गर्नुपर्ने जनाएको छ । बाइबलको मर्मविपरीत गठन भएको उक्त संस्थाले मुलुकमा अस्तित्वमा रहेका सबै धर्मावलम्बीसँग सद्भाव साटेर बसेका नेपाली क्रिश्चियन समुदायलाई बदनाम गरेको अध्यक्ष गहतराजले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४