बुधबार, वैशाख १२, २०८१

सोचेजस्तो भएन 'महासमिति' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं- निकै अपेक्षा र उत्साहका साथ महासमिति बैठकमा भाग लिन राजधानी आएका नेपाली कांग्रेसका प्रतिनिधिहरु यतिबेला निराश छन्। विधान संशोधनमा भइरहेको लफडा, बन्द शत्रको तनाव, नेतृत्वको लाचारी, गुटगत झगडाले उनीहरु खल्लो महसुस गरिरहेका छन्। के सन्देश बोकेर राजधानीबाट फर्किने अब ? उनीहरु अन्योल र अलमलमा छन्। 

अझै पनि महासमितिलाई उपलब्धीमूलक बनाउन उनीहरु लागिपरेका छन् । महासमितिमा सहभागी जिल्लाका नेता तथा प्रतिनिधिहरुसँग नेपाल समयले गरेको सम्वाद ।

धना खतिवडा- राष्ट्रियसभा सदस्य तथा महिला संघ महामन्त्री



अव यो कांग्रेसका हरेक तहमा निर्वाचन गरेर मात्र नेतृत्व चयन गर्नुपर्छ। कांग्रेसको नेतृत्व वर्गले निर्वाचन हारेँ भन्दैमा निराश हुनुपर्दैन। महासमिति बैठक भनेको कांग्रेसको महाकुम्भ हो। एक दिन बैठक लम्बियोस् तर देश र कार्यकर्ताको भावना बुझेर काम गर्नुपर्छ। कांग्रेस प्रतिपक्ष भएर पनि सरकारले गरेको अधिनायकवादी क्रियाकलापको विरोध गर्न नसकेको गुनासो छ। 

कांग्रेसले अब प्रादेशिक संरचनाबमोजिम संगठन निर्माण गर्नुपर्छ र त्यहाँ महिलालाई प्रदेश प्रमुखमा कम्तीमा तीन सिट दिनुपर्छ। मनोनीत गर्ने हो भने समानुपातिक ढंगले चयन गर्नुपर्छ। कांग्रेसका भातृ संस्थाको सुझावलाई पनि नेतृत्वले सुन्नुपर्छ। 

यहाँ नेताहरुको मात्र गल्ती छैन। जिल्ला र क्षेत्रबाटै हामी जागरुक हुनुपर्छ। कांग्रेसका नेताले ठूल्ठूलो भाषण गरेर र झन्डा टाँगेर मात्र हुँदैन। अब गाउँगाउँमा जानुपर्छ। घर–दैलो जानुपर्छ। महिलालाई सहभागिता मात्र गराएर हुँदैन। नेतृत्व तहमा जिम्मेवारी दिनुपर्‍यो। 

संसारमा लोप भएको कम्युनिस्टहरुलाई आज हामीले सत्ता हाँक्न दियौं होला। अब महासमिति सदस्यको सुझावलाई लिएर कांग्रेस अघि बढ्नुपर्छ। अब नेतृत्वले म कहाँ अटाउँछु होइन, कांग्रेस कहाँ अटाउँछ भनेर सोच्नुपर्‍यो।   

सीता सापकोटा - सभापति, नेपाल जनसम्पर्क समिति, बेल्जियम


कांग्रेसजस्तो इतिहास बोकेको पार्टीले आफ्ना हरेक कार्यक्रम र प्रतिवेदन पारदर्शी ढंगले ल्याउनु पर्दथ्यो। त्यो आउन नसक्दा मजस्ता तमाम सहभागीहरु दुःखी छौं । आर्थिक, सांगठनिक र राजनीतिक संगठनको प्रतिवेदन आउँदै गर्दा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन अहिलेसम्म आएको छैन। सांगठनिक प्रतिवेदनमा पनि संगठन अहिले तहसनहस भएको अवस्था छ। आर्थिक प्रस्तावलाई प्रस्ताव मात्र बनाउनु हुन्न। यसलाई कार्यान्वयनमा लैजान सक्यौं भने हामीले बनाएको प्रस्ताव ठिक रहेछ भनेर जनताले भन्लान् । 

पार्टीको मेरुदण्ड भनेकै विधान हो। यो समयमै आउनुपर्दथ्यो। महासमिति बैठक सुरु भएको पाँच दिन भइसक्यो । तर अहिलेसम्म हामीले एउटा लोकतान्त्रिक र पारदर्शी पार्टीको विधान पढ्न पाएका छैनौं। पार्टी धेरै खस्केको छ भन्ने हामीलाई थाहा छ। अझै खस्किन्छ भने पनि ठिक छ । भोलिका दिनमा दुबोजस्तो मौलाएर आउनुपर्छ। 

महासमिति बैठकजस्तो महत्त्वपूर्ण ऐतिहासिक बैठकमा हामी आउँदै गर्दा विधान पहिले नै यो झोलाभित्र हालिनुपर्दथ्यो। त्यो पढेर महासमिति सदस्यहरुले कमेन्ट गथर्न पाउनुपथ्र्याे। बैठक बसेको पाँच दिनसम्म बिधान नपाउनु भनेको यो जस्तो अलोकतान्त्रिक बाटो अर्को हुनै सक्दैन। 

कांग्रेस पुरानो र लोकतान्त्रिक पार्टी भएकाले यसमा १६ वर्षको किशोरदेखि ८० वर्षका वृद्धसम्मले भाग लिन पाउँछन्। यो माओवादीजस्तो पार्टी होइन नि ह्वात्तै आएको। त्यसैले यहाँ सबैलाई भूमिका त पुग्दैन। विधि, विधान, पद्धति र प्रक्रियाबाट पार्टी चल्नुपर्छ। 

जनसम्पर्क समिति बेल्जियमको निर्वाचित सभापति म हुँ। हामीले सात समुद्रपारि विदेशको भूमिमा रोजीरोटी गरेर पार्टीका लागि धेरै पसिना बगाएका छौं। तर केन्द्रीय नेताहरु विदेशमा गएर पनि खेलिदिँदा नराम्रो लाग्छ। विदेश गएर पनि गुट बनाइदिनुहुन्छ। एउटा निर्वाचित सभापतिलाई पनि काम गर्न दिनुहुन्न। मुलुक संविधानले, पार्टी विधानले र घर विधिले चल्छ । 

गाउँमा बस्ने कांग्रेस उसले पार्टीबाट केही पाएन, उसलाई मात्र चिन्ता छ पार्टीको। तर, नेताको वरिपरि सुमेरु पर्वतझैं घुम्नेहरुले विकृति ल्याएका छन्। अवसरवादी, नातावाद, कृपावाद, भ्रष्टवाद, फरियावादलाई हामीले चिर्न सक्नुपर्छ। विगतको कमजोरी अन्त्य गरेर अवसरबादीलाई पाखा लगाएर अघि बढ्नुपर्छ। 

भुवनप्रसाद श्रेष्ठ - जिल्ला सभापति, गुल्मी


कांग्रेसको २०१७ सालमा बनेको यो विधान समयसापेक्ष संशोधन र परिमार्जन हुन जरुरी थियो। मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा चलिरहेको छ। हामीले समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिरहेका छौं। कांग्रेसको सांगठनिक संरचना परम्परागत छ। त्यसैले यो महासमिति बैठकले विधान संशोधनको मस्यौदा आएको छैन। यो दुखद पक्ष हो। 

पार्टीको संगठन गर्नमा नेतृत्व चुकेको छ। पदाधिकारीको चयन समयभित्रै गर्न नसक्दा, विभाग गठन गर्न सकेनौं, प्रतिपक्षमा हुँदासमेत अशान्ति र असुरक्षा बढेको अवस्थामा हामीले त्यको आवाज उठाउन सकेनौं। हिजो सत्तामा हुँदा पनि चुक्यौं। यो बैठकले विगतका ती निराशालाई चिरेर नयाँ आशा जगाउनेछ। विधानको प्रतिवेदन नआएसम्म हामी जिल्ला सभापतिहरुले नबोल्ने भनेर सहमति गरेका छौं।  

जगदीश्वरनरसिंह केसी - जिल्ला सभापति, नुवाकोट

महासमिति बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन चार दिन बितिसक्दा पनि किन आएन भनेर केन्द्रीय सभापतिलाई हामीले सोधिसकेका थियौं। सबै महासमिति सदस्यले विधान पहिले पेस गर्नुपर्यो भन्नुभयो। सभापति देउवाले पनि बैठक स्थगितको घोषणा गरेपछि मैले हल्ला नगर्नुस्, साथीहरु विधान आउँदैछ भन्दा सहमहामन्त्री प्रकाशशरण महत आएर मेरो माइक किन हो खोस्न आउनु भयो ?

हाम्रो यो महासमिति बैठकको मूल नारा नै ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ भन्ने छ। तर अव हामीले गौरवमय इतिहास भनेर हुँदैन। गौरवमय इतिहासलाई हामीले बेचेर विगतमै खाइसक्यौं। जिम्मेवार वर्तमानलाई अझ जिम्मेवार हुनुपर्नेमा गैरजिम्मेवार वर्तमान देखियो। यसले गर्दा भविष्य त झन् अन्योल र अन्धार हुने भो साथीहरूको। 

हाम्रो लक्ष्य, राजनीतिक, आर्थिक अजेन्डा स्पष्ट पार्नुपर्छ। सरकारले शान्तिसुरक्षा दिन सकेको छैन। निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन सकेको छैन। ट्यापे र कुखुरा चोरलाई पक्राउ गरेको छ। पार्टीले एकदलीय शासन व्यवस्था लागू गर्न खोज्दैछ। एयर बस खरिद प्रकरणमा भ्रष्टाचार भएको छ। अनावश्यक कर वृद्धि भएको छ। यसमा बैठकले केही बोल्नुपर्छ। 

उद्धव थापा - जिल्ला सभापति,  झापा


कांग्रेसका जिल्ला सभापतिको गत असारमा भएको भेलाले २१ बुँदे घोषणा जारी गर्यो। त्यसमा सबैभन्दा महत्त्वपूर्ण विषय थियो पार्टीका नेताबीचको एकता । अर्को विषय थियो महासमिति बैठक आयोजना गरेर विधान संशोधन । जिल्ला सभापतिहरुको भेलाले गरेको निर्णयबमोजिम यो बैठक भएको हो। 

तर आज बैठक भएको चार दिन बितिसक्दा पनि विधान संशोधनको प्रतिवेदन पाएका छैनौं। अब कांग्रेस हिजोको जस्तो जंगबहादुर शैलीले चल्दैन। कांग्रेस विधि र विधानले चल्छ। महासमिति बैठकको मिति बढाएर भए पनि विधान ल्याउनुपर्छ र हामीले छलफल गरेर पास गर्नुपर्छ। २०१७ सालको विधानलाई लिपिस्टिक र पाउडर लगाएका छौं। अब त्यसरी कांग्रेस चल्दैन। नयाँ विधान चाहिन्छ। 

जीतनारायण श्रेष्ठ - जिल्ला सभापति,  चितवन


महासमिति बैठकलाई कांग्रेसका कार्यकर्ताले मात्र होइन, सारा नेपाली जनता र सत्तारुढ नेकपाका नेताकार्यकर्ताले पनि हेरिरहेका छन्। बैठकमा विधा नआएकाले धेरैले दुःख व्यक्त गरेका छन्। 

मुलुकमा कम्युनिस्ट सरकारले विकृति र विसंगति ल्याएको छ। भ्रष्टाचार बढेको छ। हामीले यहाँबाट फर्कंदा राम्रो सन्देश दिन सक्नुपर्छ। महासमिति बैठकले प्रदेश कार्य समिति बनाउनुपर्छ। प्रदेश संरचना बन्न सकेको छैन। संविधानको संरचनाअनुसार पार्टीको संगठन बनाउनुपर्छ । 

स्थानीय तहमा हाम्रो केही उपस्थिति रहे पनि प्रदेश र संघीय सरकारमा हाम्रो उपस्थिति छैन। त्यसैले नेपाली जनता र कार्यकर्तालाई कांग्रेस छ भन्ने देखाउन पनि हामीले एकजुट भएको सन्देश दिन सक्नुपर्छ। 

प्रदीप देउवा - जिल्ला सभापति,  डोटी


विधान प्रतिवेदनमा जिल्ला सभपातिहरुले हेटौंडा सम्मेलनमा दिएको सुझाव र ककनीमा भएको भेलाबमोजिम आउनुपर्छ। संघीय संरचनाबमोजिमको विधान आउनुपर्छ। 

आर्थिक र राजनीतिक विषयमा हाल सु्झाव दिइएका छन्। विधान प्रतिवेदनमा समावेशीको प्रावधान अँगाल्न सक्नुपर्छ। कांग्रेसको अहिलेको विधान पनि सर्वोत्कृष्ट छ। विधान पालना सबैभन्दा महत्त्वपूर्ण कुरा हो। विधान पालना भयो भने सबै असन्तुष्टि र विवाद स्वतः हटेर जानेछ। 

बलबहादुर कुँवर - महासमिति सदस्य, अछाम


महासमिति बैठकले कांग्रेसलाई आगामी दिनमा कसरी अघि बढाउने भनेर मार्ग निर्देशन गर्नेछ। विधानको प्रतिवेदन ढिलै भए पनि आउला। संविधानबमोजिम सरकार अघि बढेको छ। तर कांग्रेको संगठन अहिले स्थानीय, क्षेत्रीय र जिल्लामा तदर्थ समितिले चलेको छ। 

आगामी पाँच वर्षभित्रमा गाउँ, नगर, प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय र जिल्ला अधिवेशनहरु गरिसक्नुपर्छ। वर्तमान सरकारले गरेको भ्रष्टाचारको विषयलाई लिएर अघि जानुपर्छ। पार्टीमा रहेका कमजोरी सुधार्नुपर्छ। 

हिरामणी अर्याल -  महासमिति सदस्य, गुल्मी 
महासमिति बैठकले कांग्रेसलाई एक गराउने सन्देश दिन सक्नुपर्छ। नेताहरुको बीचमा एकता छैन गुटबन्दी छ। अब पार्टीभित्रको गुटउपगुट अन्त्य गरेर पार्टी पूर्णरुपमा एक भएको सन्देश लिएर जानुपर्छ भन्ने मूल उदेश्य हो। महासमिति बैठकमा पेस हुनुपर्ने सबै प्रस्ताव आएका पनि छैनन्। हामीले हेर्न पनि पाएका छैनौं।

 मुख्य कुरा विधान हो, त्यो अझैसम्म तयार भएको छैन। महासमिति बैठक कांग्रेस एकताका लागि र संगठन सुदृढीकरणका लागि कोसेढुंगा साबित होस् भन्ने चाहना धेरै साथीहरुको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।