काठमाडौं- प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निवासको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूलाई सभापति देउवाले बीचमै रोकिरहन्थे। साँझ पर्दै गएपछि बैठकमा बोलिरहेका नेताहरूलाई उनी चाँडो कुरा राखिसक्न आग्रह गर्छन्। कुरा लम्ब्याए हस्तक्षेप गरेर बस्न भन्छन्, कुरा सक्न भन्छन्।
शनिबार पनि बैठकस्थलमा यस्तै भयो। बैठकमा केन्द्रीय सदस्य विष्णुविक्रम थापाले बोलिरहेका थिए। देउवाले उनलाई कुरा छोट्याउन भने। सिन्धुपाल्चोक क्रियाशील सदस्यता विवादबारे बोलिरहेका थापाले आफ्नो कुरा सक्नका लागि समय माग गरे। एकछिन देउवा चुप लागे।
राप्रपाबाट आफूलगायत प्रवेश गरेपनि सदस्यता नदिन खोजिएको आरोप उनको थियो। सिन्धुपाल्चोकमा कृत्रिम विवाद देखाएर महाधिवेशनमा भाग लिन नदिने प्रपञ्च गरिएको उनको भनाइ थियो।
थापाले गुनासो र आरोप लगाइरहँदा देउवाले भनेका थिए, 'ए बाबा! मैले बुझेँ। अब सक्नुस्।'
तर थापाले मलाई लागेको कुरा राखिसक्ने भन्दै समय लिइरहे। बोलिरहे।
सिन्धुपाल्चोक र राप्रपाबाट आएका नेताहरूमाथि अन्याय गर्न नपाइने उनले पुनः दोहोर्याएका थिए। तर उनले कुरा सकेनन्। देउवाले फेरि भने- बुझेँ यार! सक्नुस्। तर थापा नरोकिएपछि देउवाले भने- बुझेँ, बुझेँ तपाईं बस्नुस्! बस्नुस् न यार! देउवाले पटकपटक हस्तक्षेप गरेपछि थापा बसे।
यसअघि शभ्भुलाल श्रेष्ठ र कुमार खड्काले बोलेका थिए। उनीहरूको माग सम्बोधन गर्न नारायण खड्का, बीरबहदुर बलायरलगायतका देउवा पक्षहरूका नेताहरूले दवाव दिएका थिए।
बिहीबारको बैठकमा राप्रपा परित्याग गरी कांग्रेस छिरेका डोल्पाका नेता कर्ण बुढाले क्रियाशील सदस्य नदिइएको प्रति असन्तुष्टि पोखेका थिए। ’हामी लामो समय अर्को कुनै पार्टीमा काम गरेर नेपाली कांग्रेस प्रवेश गरेका हौं। तर हामीले अझसम्म क्रियाशील सदस्यता पाएका छैनौं। निकट भविष्यमा नै कांग्रेसको महाधिवशेन आउँदैछ। क्रियाशील सदस्यता नभएपछि कसरी महाधिवेशनमा भाग लिने? यो त हामीमाथि अन्याय भयो। हामीलाई क्रियाशील सदस्यता उपलब्ध गराइयोस्। डोल्पामा कांग्रेसले चुनाव जित्ने वातावरण बन्छ।’
बुढा बोल्ने क्रम जारी थियो। उनले आफ्ना भनाइ राखिसकेकै थिएनन्। तर देउवाले बीचैमा बुढालाई रोकेर भने, ’तपाईंले न्याय पाउनुहुन्छ। मैले कुरा बुझें। अब भोलि, भोलि, भोलि!’
बिहीबारको बैठकमा नेता धनराज गुरुङले देउवाको प्रशंसामा बनाइएका भिडियो सामग्रीबारे असन्तुष्टि व्यक्त गरेका थिए। ‘जसरी केपी ओलीलाई ’आइ लभ यु बा’ भनियो। बालुवाटारबाट बालकोट जाँदा नारा लगाइयो। त्यस्तो प्रवृत्तिबाट हामी आजित थियौं। सभापतिजी पनि प्रधानमन्त्री बनेपछि भिडियो बनाएर त्यही प्रवृत्ति देखाउन खोजियो,’ गुरुङले भनेका थिए, ‘त्यो काम तुरुन्तै बन्द गर्नुस्, यसरी भजन गाएर सरकार सफल हुँदैन।’
गुरुङको प्रश्नको जवाफको दिँदै देउवाले भनेका थिए, ‘ए बाबा मैले त्यस्ता भिडियो नबनाउन निर्देशन दिइसकेको छु। अब बन्दैनन्, ढुक्क हुनुस् न।’
नेता रामशरण महतले डडेल्धुराको विवादको कुरा उठाएपछि उनले बीचमै रोकेर जवाफ दिएका थिए। यस्तै शेरचनले बोल्दासमेत देउवाले बीचमै रोकेर जवाफ दिएका थिए। फरक विचार आउँदा देउवाले बीचमा रोक्ने गरेको गुनासो इतर समूहका नेताहरुको छ।
‘हामीले बोल्दा, उहाँको आलोचना गर्दा उहाँले बीचमै रोकेर प्वाक्क जवाफ दिनुहुन्छ। कहिलेकाहीं झोक्किनुहुन्छ,’ इतर समूहका एक नेता भन्छन्, ‘उहाँमा फरक विचार सुन्ने, आलोचना सहने बानी नै छैन। रिसाइहाल्नुहुन्छ।’
महाधिवेशन सार्न मिल्ने तर्क
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा टीएन योगीले नेपाली कांग्रेसको महाधिवेशन २०७९ जेठसम्म सार्न मिल्ने जिकिर गरे।
कांग्रेसको तत्कालै वैधानिकता समाप्त नहुने बताएका उनले केन्द्रीय समिति बैठकमा यस्तो जिकिर गरेका हुन्। 'निर्वाचन अयोगमा २०७३ मंसिरमा कांग्रेस दर्ता रहेछ। महाधिवेशनका लागि २०७९ जेठसम्मको अवधि पाउने रहेछ,' उनले भने।
उनले बच्चाको उमेरको उदाहरण दिँदै यस्तो तर्क गरेका हुन्। 'बच्चा जन्मेपछि मात्रै आयु गणना हुन्छ। संविधान बनेपछि त्यसकै आधारमा आयोग गठन भएको हो। १३औँ महाधिवेशन हुँदा राजनीतिक दल सम्बन्धि ऐन २०७३ आएकै थिएन। पछि बनेको कानुन अनुसार पार्टी दर्ता भएको हो। त्यही भएकाले महाधिवेशनका लागि हामीसँग आगामी जेठसम्मको समय छ।'
माओवादी केन्द्रले २०६९ यता महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेज गर्न माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अवैधानिक नरहेकाे फैसला गरेकाले पनि कांग्रेसले पनि उक्त अवसर प्राप्त गर्ने उनको भनाइ छ। त्यसलाई आधार बनाएर पनि महाधिवेशन सार्न सकिने उनको तर्क थियो।
'वैधानिकताको संकट छैन'
नेता डा नारायण खड्काले नेपाली कांग्रेसको वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग नभएको दाबी गरेका छन्।
उनले कोरोना महामारीका कारण समयमा नै महाधिवेशन सम्पन्न गर्न समस्या निम्तिएको समेत बताएका थिए। सर्वोच्च अदालतले नै निषेधाज्ञाको समयलाई शून्य समय मानेकाले कांग्रेसको वैधानिकता अझै केही समय बाँकी नै रहने उनको भनाइ थियो।
'महाधिवेशन सार्न हुँदैन भन्ने आँट छ निर्वाचन आयोगसँग? अरू पार्टी र कांग्रेसका हकमा फरकफरक नियम हुन्छ र?,' उनको भनाइ थियो, 'सर्वोच्च अदालत र निर्वाचन आयोगमा भाँजो हाल्ने काम नगरौँ। आयोगलाई रोक भन्ने? हामी सबै एक भएर सर्वोच्च र आयोगलाई भनौँ। अदालत र आयोगले महाधिवेशन गर्नैपर्छ भन्न सक्दैन।'
केही दिन अघि समयमा नै महाधिवेशन गर्न नसकेर निर्वाचन आयोगसँग वैधानिकताको भिख माग्न लागिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले फेसबुकमा स्टाटस लेखेका थिए।
पिल्सिएको गुनासो
नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यबाट राजीनामा दिएका कुमार खड्काले आफूहरू पिल्सिएको बताएका छन्। अखण्ड पार्टी नेपालबाट कांग्रेसमा आएका खड्काले क्रियाशील सदस्यताको विवादले आफूहरूलाई पिल्स्याएको बताएका हुन्।
'सुर्खेतमा किन विवाद ल्याइयो? १३ सय सिफारिस भएकामा करिब २ सयले क्रियाशील पाउने अवस्था छ र पनि विवाद ल्याउने? हामी पिल्सिएका छौँ। यसलाई रोक्नु पर्छ,' बैठकमा उनले भनेका थिए।
पार्टी एकताको ४४ महिनापछि क्रियाशील विवाद ल्याइएकाले आफूहरूलाई पीडा भएको उनको भनाइ छ। अखण्ड पार्टी नेपालबाट आएको भनेर कांग्रेसकै कार्यकर्ताहरूलाई क्रियाशील सदस्यता दिइएको उनको भनाइ छ।
'पार्टी एकता अघि ती मान्छे कहाँ थिए? त्यो बेला म पनि कांग्रेस थिएँ। ७० को चुनावमा अखण्ड नेपालले चुनाव जित्न नसक्ने स्थिति आएपछि कांग्रेसलाई भोट हाल्न भनियो। कांग्रेसलाई पूर्ण सहयोग गरियो। कांग्रेसले जित्यो। अखण्ड पार्टीबाट उम्मेदवार भएका ठाँउमा शून्य मत आयो। तर अहिले विवाद गर्ने? मानमर्दन गर्ने?,' अखण्ड पार्टीबाट आएकाहरूलाई पार्टीमा दोस्रो दर्जा दिइएको भन्दै उनको आपत्ति थियो।
उनले 'को हार्छ र को जित्छ' भन्ने आधारमा भन्दा पनि कांग्रेसले जित्नुपर्ने भएकाले क्रियाशीलको विवाद सुल्झाउनुपर्ने बताएका थिए। आफूले ४ वर्षदेखि अखण्डबाट आएका कार्यकर्ताहरूलाई पार्टीको झन्डा बोक्न लगाएको तर यत्रो योगदान गर्दा पनि कांग्रेसले क्रियाशील निदएको उनको आरोप थियो। 'चार बर्ष देखि पार्टीको झन्डा बोक्न लगाको छु। अब अर्को पार्टी खोज भनेर कसरी भनौँ। तसर्थ क्रियाशील सदस्यता दिन विवाद गर्न हुँदैन,' उनले भनेका थिए।
सर्यो महाधिवेशन
बिहीबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले चाैधौं महाधिवेशन कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको छ। शनिबार साँझ बैठक सकिनुअघि यस्तो निर्णय गरिएको हो।
कार्यतालिका पास भएको र केन्द्रीय महाधिवेशन २०७८ मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय भएको हो। क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।
यस्तो छ नयाँ कार्यतालिका
१. कृयाशील सदस्यको अन्तिम नामावली बुझाउने : भदाै २
२. निर्वाचन निर्देशिका बुझाउने: भदाै २
३. वडा अधिवेशन : भदाै १८
४. गाउँ/नगर पालिका अधिवेशन : भदौ २७
५. प्रदेश क्षेत्र क/ख अधिवेशन : असोज १
६. संघीय निर्वाचन क्षेत्र अधिवेशन : असाेज ५
७. जिल्ला अधिवेशन : असाेज १०
८. प्रदेश अधिवेशन : कात्तिक १०-१२
९. केन्द्रीय अधिवेशन : मंसिर ९-१३
एउटा ठट्टा पनि..
शनिबार तस्बिर खिचाउने विषयमा देउवाले ठट्यौली गरे। बैठक जारी रहेकै बेला पत्रकारहरुलाई तस्बिर खिच्न बोलाइयो। पत्रकारहरू पनि क्यामेरा लिएर बैठकस्थलतर्फ लागे। यसपछि ठट्यौली सुरु भयो।
पत्रकारहरू तस्बिर खिचिरहेकै थिए। बैठकमा सहभागी नेता मीनेन्द्र रिजालले ठट्यौली सुरु गरे। उनले पत्रकारहरूलाई सोधे- मुस्कानसहितको तस्बिर खिच्न पर्ने हो?'
पत्रकारहरु आफ्नै धुनमा फोटो खिच्ने हतारोमा थिए। लाइट मिलाएर राम्रो फोटो खिच्ने ध्यान केन्द्रित गरेका थिए।
त्यससछि ठट्यौलीलाई जारी राखिदिए प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले। मुडमा देखिएका देउवाले फोटो खिचाउनका लागि उत्साहित भएर भने, 'हाँसेर फोटो खिच्न पर्ने! मास्क खोल्न मिल्दैन। आँखाको भाषामै हासौँ।'
देउवाले उक्त कुरा बताएपछि बलबहादुर केसीले पुन ठट्यौलीलाई निरन्तरता दिए। उनले देउवालाई सोधे, 'के हो आँखाको भाका र भाषा? म त केही बुझ्दिनँ त!'
देउवा ठट्यौलीबाट पछि हट्ने मुडमै थिएनन्। लगत्तै भनिदिए, 'आँखाको भाषा सबैभन्दा बढ्ता बुझ्ने बलबहादुरजी नै हो।'
यसपछि पनि फोटो खिचाउने क्रम केही छिनका लागि जारी भयो। फोटो खिचाउने काम सकिएपछि पुनः बैठक अघि बढ्यो।