काठमाडौं-सरकारले दुई सचिवको सरुवा गरेको छ । अर्थमन्त्रालयको राजश्व सचिवका रुपमा कार्यरत शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ भने, प्रधानमन्त्री कार्यालयका लालशंकर घिमिरेलाई अर्थमन्त्रालय लगिएको छ ।
प्रधानमन्त्री कार्यालयमा पुगेका राजश्वसचिव ढुंगानालाई एक कार्यक्रमकाबीच अर्थमन्त्रालयबाट बिदा गरिएको छ । उनी सोमबारदेखि प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा हुनेछन् ।
अर्थमन्त्रालयकै वैदेशिक आर्थिक सहायता समन्वय महाशाखामा कार्यरत घिमिरे तत्कालिन अर्थमन्त्री वर्षमान पुनको पालामा अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
अर्थमन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले ढुंगानाको सरुवाले आफ्नो एउटा हात कमजोर भएको बताएका छन् । उनले अर्थमन्त्रालयमा रहँदा ढुंगानाले राजश्व सुधारमा खेलेको भूमिका प्रशंसनीय रहेको बताएका थिए ।
कार्यक्रममा अर्थसचिव राजन खनालले अर्थमन्त्रालयले ढुंगानाको अभाव सँधै महसुस गर्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४