काठमाडौं- नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठक शनिबारबाट राजधानीमा सुरु भएको छ। चार दिनसम्म चल्ने महासमिति बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
विधानमा हरेक वर्ष महासमिति भेला गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बल्ल बैठक भएको हो। तीन तहकै निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजित भएपछि नेताहरुले महासमिति बैठक बोलाउन दबाब दिएका थिए । नेताहरुको दबाबपछि निकै ठूलो कचिङ्गलका बीच बैठक बोलाइएको छ ।
बैठकको उद्घाटन सत्रमा अहिले नेताहरुले आफ्नो धारणा राखिरहेका छन् । उद्घाटन सत्रमा बोल्ने नेताहरुले अब ब्यक्ति र शक्ति भन्दा नीति र सिद्धान्तप्रति कटिवद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले पार्टीको हार र अहिले देखिएको कमजोर संगठनका विषयमा निर्मम समिक्षा गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, रामशरण महतलगायतका नेताहरुले पार्टी भित्रको गुटबन्दी अन्त्य गर्नु पर्ने बताएका थिए । उनीहरुले अब जनता कम्युनिस्टको भ्रमबाट मुक्त हुँदै गएको उल्लेख गरेका छन् ।
महासमितिमा आजैबाट बन्दसत्र सुरु गर्ने तयारी छ । बन्द सत्रमा राजनीतिक, सांगठनीक, आर्थिकलगायत पाँचवटा प्रतिवेदन पेश हुने भएको छ। प्रतिवेदन आजै केन्द्रीय समितिले पारित गरेको थियो ।
बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन्।
केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन्। शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४