बिहीबार, वैशाख १३, २०८१

निम्छरो शिक्षाको 'माफिया' स्वरूप- १

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
करिब चार वर्षअघि गुरूपूर्णिमाको बिहानै फेसबुक 'मेसेन्जर' मा राधा कँडेलका नामबाट एउटा 'मेसेज' आयो। लेखिएको थियो- 'गुरूपूर्णिमाका अवसरमा आदरणीय गुरूप्रति हार्दिक नमन तथा शुभकामना !' देशविदेशबाट फेसबुकमा अनेकथरी सन्देश आइरहन्छन्। सन्देशको महत्त्व हेरेर कतिपयको जबाफ सम्भव हुन्छ भने कतिपयको हुँदैन। 

मलाई गुरूपूर्णिमाका दिन गुरुका रूपमा शुभकामना आएको हुनाले अलिकति कौतूहल जाग्यो। किनकि म अध्यापन गर्दैनथें। मेरो जीवनमा गुरुका रूपमा सम्बोधित भएर आएको पहिलो सन्देश थियो त्यो। अध्यापन पेसामा हुने मेरा धेरै साथीहरूलाई गुरूपूर्णिमाको शुभकामना आउँथ्यो। उनीहरुका विद्यार्थीले आदर तथा औपचारिकताका लागि पनि त्यसो गर्थे। मेरो हकमा त्यस्तो केही थिएन। कसैले झुक्किएर अर्कैलाई पठाउँदा मलाई पर्‍यो होला जस्तो लाग्यो। तर पनि मैले उक्त सन्देशको जबाफ फर्काएँ। 

'माफ गर्नुहोला, मैले तपार्इंलाई चिनिनँ। अझ गुरु सम्बोधनले त अचम्म लाग्यो। तपाईं झुक्किनुभयो कि ?' उनको सहज जबाफ आयो, 'म झुक्किएको होइन सर ! हजुरले मलाई सात कक्षामा पढ्दा एकदुइटा कक्षा लिनुभएको थियो। तर त्यो कक्षा मैले जीवनभरि बिर्सन नसक्ने खालको थियो। धादिङस्थित श्री महेन्द्र मावि छत्रेदेउरालीमा हजुरले केही दिन ९ र १० कक्षामा विज्ञान र गणित विषय पढाउनुभएको थियो। एक दुईपटक हामीलाई पनि खाली समयमा पढाउनुभएको थियो।' मलाई कथाको पूरै 'फ्ल्यासब्याक' स्मरणमा आयो। 

आफ्नै कथा

२०५२ साल चैतको घटना हो। भर्खरै फागुन १ गतेदेखि माओवादी जनयुद्ध सुरु भएको थियो। त्यतिबेला मैले त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी दोस्रो वर्षको परीक्षा दिएको थिएँ। नतिजा आइसकेको थिएन। म अखिल क्रान्तिकारीको नेता थिएँ। कीर्तिपुरस्थित मेरो डेरामा पुलिसले छापा मारेको थियो। गिरफ्तारीका लागि मलाई पुलिसले खोजिरहेको थियो। यसै बीचमा एकजना साथीले मलाई काठमाडौं नजिकैको धादिङस्थित छत्रेदेउरालीमा विज्ञान शिक्षक नभएकाले पढाउन अनुरोध गरे। म पनि पुलिसबाट जोगिन कहिले कता कहिले कता गर्दै साथीहरूको डेरामा आश्रय लिइरहेको थिएँ। साथीको अनुरोध मेरा लागि 'के खोज्छस् काना आँखो' जस्तै भयो। 

चैत्र दोस्रो साता म सीतापाइला, रामकोट हुँदै छत्रेदेउराली पुगें। विज्ञान र गणित शिक्षकका रूपमा अस्थायी नियुक्तिपत्र लिएँ। मैले करिब अढाइ महिना त्यहाँ अध्यापन गरें। तर मेरो अन्तरकथा कसैले पनि थाहा पाएनन्। कसैले थाहा नपाए पनि एक दिन अचानक प्रधानाध्यापकलाई जानकारी दिएर म बिदा भएँ। शिक्षकका रूपमा उक्त विद्यालयमा छँदा मलाई अपार आनन्दको अनुभूति भयो। 

त्यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकले आजसम्म पनि मलाई सम्झिरहने केही कारण छन्। म विज्ञान पढ्ने विद्यार्थीलाई कक्षाकोठामा भन्दा बढी जंगलतिर वा खेतबारीमा लगेर पढाउँथे। विद्यार्थी पनि उनीहरूले नदेखेको पढाइको नौलोपनदबाट खुसी हुन्थे। विज्ञान उनीहरूले ठानेजस्तो कठिन विषय होइन रहेछ र विज्ञान पनि रसिलो र मजाले बुझिने गरेर पढ्न सकिने रहेछ भन्ने विश्वास दिलाउन म सफल भएको थिएँ। मलाई पढ्ने विद्यार्थीले औधी मन पराएका थिए। 



नेपालमा त्यतिबेला सरकारी स्तरबाट भर्खरै एफएम (फ्रिक्वेन्सी मोडुलेसन) प्रसारण हुन थालेको थियो । त्यसको पहुँच राजधानी काठमाडौं उपत्यकाभन्दा बाहिर पुगेको थिएन । मैले त्यतिबेला पहिलोपटक आफ्नै खर्चमा एउटा नमुना एफएम रेडियो बनाएँ र परीक्षण प्रसारण गरें। नजिकका अन्य विद्यालयलाई समेत समावेश गरें। १० किमि टाढासम्म सुनिने एफएम रेडियो सबै विद्यालयमा मजाले सुनिएपछि दिनभरि विद्यार्थीले गीत गाए। शिक्षकहरूले अनेक भाषण गरे। वातावरण रमाइलो भयो। विज्ञान शिक्षकका रूपमा मेरो चर्चा अलिकति बढी हुन थाल्यो। 

कहिले सानो धाराबाट बल्ब बाल्ने, चुम्बकका अनेक प्रयोग गर्ने तथा आउने जति विद्यार्थीलाई नि:शुल्क ट्युसन पठाइदिने जस्ता कुराले विद्यार्थी र अभिभावक त खुसी थिए। तर त्यहाँ टिकिरहने मेरो अवस्था भने दिनप्रतिदिन छोटिँदै गइरहेको तथ्यबारे म अवगत थिएँ। काठमाडौं नजिकै रहेको ठाउँ हुनाले केही शिक्षक साथीहरू र अभिभावकहरूलाई मेरो वास्तविकता थाहा भयो। उहाँहरूले मलाई झनै माया गरिरहनुभएको थियो। तर म उक्त विद्यालयमा थप समय बसिनँ। त्यहाँका प्रधानाध्यापकलाई सुटुक्क वास्तविकता बताएर माफी माग्दै बिदा भएँ। 

त्यस घटनापछि मेरा बारेमा विद्यार्थी, अभिभावक तथा शिक्षक साथीहरूले कस्तो धारणा बनाए होलान् भन्ने कुरामा कहिलेकाहीं मलाई चिन्ता हुन्थ्यो। एकदुई वर्षपछि त्यहाँका केही शिक्षक साथीहरू र अभिभावकहरूसँग भेटघाट भयो। तर मेरो वास्तविकता थाहा पाएर पनि उहाँहरूमा त्यही सौहार्द, सम्मान र माया पाएपछि बल्ल मलाई ढुक्क भएको थियो। त्यतिबेला पढाएका विद्यार्थीलाई भने मैले भेटिनँ, सायद चिनिन। मेरो कथा यत्तिकैमा सिध्दिएको थियो।

झन्डै २० वर्षपछि राधा बहिनीले सम्झाएको कथाले शिक्षा, शिक्षक र शिक्षण संस्थाबारे मलाई फेरि एकपटक घोत्लिन बाध्य पार्‍यो। राधा कँडेल, जसलाई मैले सात कक्षामा संयोगबस एउटा कक्षा लिन पुगेको थिएँ। उनले आजसम्म उक्त कक्षा बिर्सिएकी थिइनन्। सामाजिक सञ्चारको असाधारण विकासले उनको सम्झनालाई मसँग पुर्‍याउने व्यवस्था पनि गरिसकेको थियो। चार वर्षअघि मलाई सन्देश पठाउने मेरो एकदिने छात्रा राधा कँडेल 'विल्डिङ एण्ड उड वक्र्स इन्टरनेश्नल'की नेपाल परियोजना संयोजक थिइन्। अहिले उनी विश्वविद्यालय अनुदान आयोग (युजिसी) मा लेखा अधिकृतका रूपमा कार्यरत छन् । 
सामाजिक रूपान्तरणको वास्तविक माध्यम नै शिक्षा हो। शिक्षा गलत र निम्छरो भएपछि सबै गडबढी त्यहींबाट सुरु हुन्छन्। त्यसकारण शिक्षालाई मानसिक र आत्मिक जीवनको अंशका रूपमा विकास गरेर मात्र सामाजिक रूपान्तरणको अभियानमा प्रगतिशील भूमिका निर्वाह गर्न सकिन्छ।

निम्छरो शैक्षिक इतिहास

काठमाडौंबाट नजिकै रहेको छत्रेदेउरालीको महेन्द्र मावि अति अविकसित, पछौटै र औसतस्तरका शिक्षकहरुद्वारा सञ्चालित थियो। राम्रा शिक्षक गाउँ जाँदैनथे। झन् स्नातकोत्तर गरेका विज्ञान शिक्षक गाउँ जाने भन्ने कुरा त अचम्मको हुन्थ्यो। हाम्रा सबै साथीहरू अमेरिका, जर्मनी वा क्यानडा जाने बाहेक तेस्रो विकल्पमा समेत कुरा गर्दैनथे। त्यही सेरोफेरोमा म संयोगबस छत्रेदेउरालीमा दुईमहिने शिक्षक बनेको थिएँ। तराईमा आठ-नौ कक्षामा पढ्दा मैले उपयोग गरेका सामान्य प्रयोगात्मक सामग्रीसमेत उक्त विद्यालयमा थिएनन्। 

मेरो बाल्यकालको सामान्य विद्यालय र त्यहाँका शिक्षकहरू कहिलेकाहीं सम्झनामा आउँछन्। मेरो जेजस्तो व्यक्तित्व निर्माण भयो, उहाँहरुको योगदानबाट निर्माण भयो। कैयन् शिक्षकहरु अभावको अवस्थामा पनि विद्यार्थीलाई जेजस्तो साधन पाइन्छ, त्यसैबाट सकेसम्म उत्कृष्ट सिकाउने कोसिस गर्नुभयो। शिक्षासम्बन्धी नीति निर्माणमा उहाँहरुको पहुँच थिएन। तर निर्धारित पाठ्यक्रममा रहेर जानेजति मेहनत गर्नुभयो। अहिलेजस्तो शिक्षा, शिक्षक र शिक्षण संस्थामा राजनीतिकरणको महामारी त्यतिबेला धेरै कम थियो। जसले गर्दा अभावमा पनि शिक्षाको गुणस्तर समयसापेक्ष राम्रो थियो। 

बहुदल आएपछि शिक्षकले राजनीति गर्न थाले। विद्यार्थीले पनि राजनीति गर्न थाले। शिक्षण संस्थाहरु राजनीति र दलका अखाडा भए। शिक्षकहरु दलमा विभाजित भए। संघ र संगठन बने। नेता शिक्षकले पढाउनै नपर्ने भयो। नेता विद्यार्थीले पढ्न नपर्ने भयो। राम्रो परिणाम ल्याउने विद्यालयहरुको नतिजा शून्य हुन थाल्यो। शिक्षाको व्यापार सुरु भयो। धनीको लागि अलग विद्यालय र गरिबका लागि नपढाउने नेता शिक्षक रहेका सरकारी विद्यालय मात्र विकल्प भए। शिक्षामा वर्गीय विभेदको विभाजन रेखा कोरियो। 
                                                          
हाम्रो मुलुकमा संस्थागत शिक्षाको विकास र थालनी तत्कालीन विश्व परिस्थितिको तुलनामा ढिलो मात्र आरम्भ भएन, ज्यादै निम्छरो ढंगबाट आरम्भ भयो। राणाहरूले आफ्ना परिवारका सदस्यहरुलाई पढाउनका लागी सन् १८५४ मा खोलेको दरबार हाइस्कुल नै नेपालको पहिलो संस्थागत शिक्षा हासिल गर्ने शैक्षिक संस्था थियो। जबकि त्यही अवधिमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयको इतिहास ८ सय वर्षभन्दा पुरानो भइसकेको थियो। 

कल्पना मात्र गर्दा पनि कहाली लाग्छ, नेपालमा पहिलोचोटि सन् १९१८ मा एउटा सामान्य कलेज अर्थात् त्रिचन्द्र कलेजको स्थापना हुँदा अमेरिकाको हावर्ड विश्वविद्यालय करिब तीन सय वर्ष पुरानो भइसकेको थियो। हामीले अहिले विकसित र सम्पन्न ठानेका मुलुकहरुको शैक्षिक इतिहास ज्यादै पुरानो छ। हामीले त्यहाँको संस्थागत शैक्षिक प्रणालीको विकासक्रमको कल्पना मात्र गर्न सक्छौं। तर अचम्मको कुरा के छ भने हाम्रो मुलुकको सार्वभौमिकता र स्वतन्त्रताको इतिहास भने उनीहरुको भन्दा धेरै पुरानो छ। 

त्यसकारण स्वतन्त्र इतिहास मात्र भएर हुँदो रहेनछ। शिक्षाको संस्थागत अवसरबिना राष्ट्र स्वतन्त्र भए पनि नागरिक स्वतन्त्र हुन सक्दा रहेनछन्। अहिले पनि हामी मानसिक रूपमा स्वतन्त्र छैनौं किनकि जुन राष्ट्रका दुई तिहाइ युवा स्वदेशमा बस्न सक्ने वातावरण छैन, त्यस्तो राष्ट्रलाई कसरी स्वतन्त्र राष्ट्र भन्न मिल्छ ?

लोकतन्त्रमा शिक्षालाई स्वतन्त्रता प्राप्त गर्ने पहिलो साधन मानिन्छ। त्यसैले आधारभूत शिक्षालाई नागरिकको मौलिक हकअन्तर्गत राखिएको हो। उचित शैक्षिक योग्यता प्राप्त गरेको व्यक्तिले मात्र सही अर्थमा स्वतन्त्रता उपभोग गर्न सक्छ। किनकि उसले प्राप्त गर्ने आर्थिक स्वतन्त्रताले लोकतन्त्रमा चाहिने आलोचात्मक चेतको विकास गर्ने हो। शिक्षाको जगमै लोकतन्त्र र स्वतन्त्रताको समृद्धि सम्भव छ। हाम्रो मुलुकमा लोकतन्त्र स्थापना भए पनि त्यसले दीर्घायु प्राप्त गर्न नसक्ने कारणमध्ये मूल कारण उचित शिक्षाको अभाव हो । 

२००७, २०४६ र २०६३ सालका परिवर्तनहरूलाई हामीले कहिले पनि संस्थागत गर्न सकेनौं। लोकतन्त्रलाई संस्थागत गर्नु भनेको राज्यका लोकतान्त्रिक संस्थाहरूको जगलाई आधारदेखि नै विकसित तुल्याउनु हो। त्यसका लागि लोकतन्त्रको विकास गर्न सकिने जग बुझेको शिक्षित समुदाय निर्माण हुनु आवश्यक हुन्छ। शिक्षाको संस्थागत विकासबिना त्यस्तो समुदाय तयार हुनै सक्तैन। 

त्यसैले हामीले संस्थागत नभइसकेको राज्य सत्ताको पुरानो ढाँचालाई त जहिले पनि भत्काउन सक्यौं तर नयाँ ढाँचाको निर्माण गर्न कहिले पनि सकेनौं। सक्ने कुरा पनि होइन, ध्वंस गर्न कुनै शिक्षाको आवश्यकता पर्दैन। तर निर्माण गर्न दक्ष जनशक्तिको दरकार पर्दछ। यो तथ्य नबुझेपछि व्यक्तिले आफ्नो कमजोरीलाई होइन, राष्ट्रमाथि दोष थोपर्न सुरु गर्छ। त्यसकारण व्यक्तिको चरित्र निर्माणमा शिक्षाको जस्तो महत्त्वपूर्ण भूमिका हुन्छ त्यस्तै महत्त्वपूर्ण भूमिका राष्ट्र निर्माणमा पनि हुन्छ। हाम्रो जस्तो निम्छरो शैक्षिक इतिहासलाई हामीले विकसित गर्नुको साटो झन्झन् विकृत पार्दैछौं।
 
रोगी र अशिक्षित नागरिकले समृद्ध राष्ट्र निर्माण गर्न सक्तैन। शिक्षाको महत्त्वलाई राष्ट्रको समृद्धिसँग जोड्नुको रहस्य यही हो। त्यसैले शिक्षालाई मानसिक जीवनको अंश तथा आत्मिक जीवनको अंग भनिएको हो।

सार्थक हस्तक्षेपको खाँचो

यति महत्त्वपूर्ण विषयमा हामीले शिक्षा नीतिको आधारभूत समस्याबारे कहिल्यै छलफल गरेका छौं ? मुलुकको गुणस्तरीय शिक्षाको कुरा गर्दा सरकारी विद्यालयमा कुनै उच्च राजनीतिज्ञ, कर्मचारी र व्यापारीले आफ्नो सन्तानलाई पढाएको छ ? सरकारी विद्यालयको शैक्षिक स्तर किन दिनप्रतिदिन खस्कँदै गएको छ ? किन त्यसभन्दा न्यून खर्चमा सञ्चालित निजी विद्यालयहरू नाफामा छन् ? कसरी नीतिगत भ्रष्टाचारबाट नेपालको शिक्षा र स्वास्थ्य नीति आक्रान्त छ ? किन शिक्षा र स्वास्थ्य क्षेत्र नै राजनीतिक हस्तक्षेपबाट सबैभन्दा हैरान छन् ? यस्ता अनगिन्ती प्रश्नहरुको उत्तर नखोजीकन हामीले शैक्षिक सुधारका सतही कुरा र 'समाजवादी' शिक्षाको रुमानी सपनाबाट ब्युँझिन सम्भव छैन। 

विख्यात चिन्तक तथा विचारक अन्तनिओ ग्राम्सीको शिक्षासम्बन्धी विश्लेषण उच्च कोटिको मानिन्छ। उनी भन्छन् 'पुरानो विद्यालयको विरुद्धमा संघर्ष गर्नु त ठिकै थियो। तर त्यसमा सुधार गर्न त्यति सजिलो थिएन, जति सजिलो हामीलाई लाग्थ्यो। समस्या कुनै आदर्श पाठ्यक्रमको मात्र थिएन बरु समस्या आदर्श मानिसहरुको थियो। र, समस्या ती अध्यापकहरुको पनि थिएन जसले स्वयं पढाउँथे। तर समस्या सम्पूर्ण उक्त सामाजिक प्रणालीको थियो, जसको उनीहरूले प्रतिनिधित्व गर्दथे।' 

इटलीको शिक्षाको सन्दर्भमा ग्राम्सीले व्यक्त गरेका विचार धेरै समयपछि पनि उत्तिकै सान्दर्भिक छन्। एउटा निश्चित प्रणालीअन्तर्गतको सोचाइले ल्याउने ध्वंसले एउटा राजनीतिक औजारका रूपमा निर्धारित लक्ष्य प्राप्त गर्न सहयोग गरे पनि आफ्नो परिवेशबाट माथि उठ्न सम्भव हुँदैन। ग्राम्सीको विचारमा शिक्षा भनेकै विचार निर्माणको आधार हो। आधुनिक राज्यले पनि शिक्षालाई कस्तो वैचारिक आधार बोकेको नागरिक तयार पार्ने भनेर नै शिक्षा नीति र पाठ्यक्रमको निर्धारण गरेको हुन्छ। त्यसैले शिक्षामा वर्गीय प्रतिबिम्बन देखिनु स्वाभाविक हुन्छ। 

समाजमा जस्तै शिक्षामा पनि टड्कारो वर्गीय स्वरूप देखिन्छ। आज धनी र गरिब वर्गले आर्जन गर्ने शिक्षामा आकाशजमिनको फरक छ। तर हरेक विद्यार्थीले प्रतिस्पर्धा भने समान रूपमा गर्नुपर्छ। त्यसकारण रोजगारीका सीमित अवसरहरूमा पनि धनी वर्गले नै आधिपत्य कायम गर्छ। त्यसले झन् पछि झन् वर्ग विभेदलाई गहिर्‍याउँदै जान्छ। 

आज धनी र गरिब पढ्ने स्कुल, पाठ्यक्रम, ड्रेस, अध्यापक आदि सबै कुरा फरक छन्। यसले राज्यमा दुई वर्गका नागरिक तयार गरिरहेको छ। हाम्रो मुलुकमा शिक्षा र स्वास्थ्यको स्थितिमा सुधार नआउनुको प्रमुख कारण यही हो। धेरैजसो विकसित मुलुकहरूमा शिक्षालाई यस्तो विभेदबाट सकेसम्म मुक्त राख्ने प्रयत्न गरिएको छ। शिक्षाको एउटा निश्चित तहसम्म सरकारले पूर्ण निःशुल्क गरेको छ। र, उच्च शिक्षामा भने विद्यार्थीको रुचि र योग्यताका आधारमा वर्गीकरण गरेर विशेष विषयगत शिक्षाको व्यवस्था गरिएको हुन्छ। 

अहिलेको सरकारले आफूलाई समाजवादी दाबी गर्छ। समाजवादतर्फ उन्मुख शिक्षाको कुरा गर्दै आफैं निजी शिक्षाको व्यापारमा संलग्न हुन्छ। समाजवादी मुलुकहरूमा शिक्षालाई सम्पूर्ण रूपमा राज्यको दायित्वभित्र राखिएको हुन्छ। र, त्यो निःशुल्क हुन्छ। नेतृत्वमा समस्याप्रतिको सही दृष्टिकोण, इमानदार प्रयास र दृढ इच्छाशक्ति हुने हो भने सानो समय अन्तरालमा नागरिकको भरोसा र विश्वासलाई जित्न सकिने मुद्दा भनेकै शिक्षा र स्वास्थ्य हो। किनकि नागरिकले यी दुई कुरा अभाव हुँदा ज्यादै ठूलो सास्ती भोगेको हुन्छ। 

विपन्न नागरिकलाई आज राम्रो शिक्षा प्राप्त गर्न र स्वस्थ रहन सम्भवै छैन। यसो नभएपछि राज्यमा मानसिक र शारीरिक रूपमा स्वस्थ नागरिक उत्पादन हुने कुरा पनि भएन। रोगी र अशिक्षित नागरिकले समृद्ध राष्ट्र निर्माण गर्न सक्तैन। शिक्षाको महत्त्वलाई राष्ट्रको समृद्धिसँग जोड्नुको रहस्य यही हो। त्यसैले शिक्षालाई मानसिक जीवनको अंश तथा आत्मिक जीवनको अंग भनिएको हो।  

तर दुर्भाग्य ! आजको हाम्रो शिक्षा न त आत्मिक छ न त व्यावहारिक । बच्चालाई मानसिक बोझ थोपर्ने एउटा कहालीलाग्दो यातना मात्र छ। बच्चाले औपचारिक शिक्षा प्राप्त गर्नुभन्दा अगाडि प्रकृति, सौन्दर्य, संगीत, सिर्जना आदि जस्तो रमाइलो र उन्मुक्त संसारमा विचरण गरिरहेको हुन्छ चाहे त्यो जुनसुकै वर्गमा जन्मिएको किन नहोस्। तर औपचारिक शिक्षाका लागि विद्यालय जानेबित्तिकै ऊ बच्चा रहँदैन। उसको बालसुलभ खुसी विद्यालयले खोसिदिन्छ। यस्तो शिक्षाले बालकलाई विद्यालय एउटा अघोषित जेल बनाइदिएको हुन्छ। 

विकसित राष्ट्रहरुमा बालकलाई बिस्तारै-बिस्तारै मानव जीवनमा आउने कठिन श्रमका लागि तयार पार्ने उद्देश्यसहित शिक्षा दिने प्रणाली विकास गरिएको हुन्छ। यसो गर्दा सिक्ने बालकको मस्तिष्कमा कुनै दबाब सिर्जना गरिएको हुँदैन । बरु बालकले थाहै नपाई कठिन बौद्धिक श्रम गर्न सक्ने र एकाग्र रहन सक्ने व्यक्तित्व निर्माण गरिन्छ। त्यसैले कुनै पनि विषयको अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने तरिकामा अध्ययन विधिको ज्यादै ठूलो महत्त्व हुन्छ। 

सिर्जनात्मक बौद्धिक श्रमले विद्यार्थीलाई बिस्तारै अप्ठेरोसँग जुध्ने कला सिकाइरहेको हुन्छ। तर उसले कुनै मानसिक कठिनाइ सामना गरिरहेको हँुदैन। तथ्य र घटनाको अन्तरसम्बन्ध र अन्तरविरोधका बहुआयामिक जटिलताहरुलाई सहज र सरल ढंगबाट बुझाउनका लागि विद्यार्थीलाई एकाग्र रहन सक्ने आत्मानुशासनको चेतना विकास गराइन्छ। जसले गर्दा विद्यार्थीको आत्मबल बलियो बन्दै जान्छ र उसले आफ्नो क्षमता र रुचिका आधारमा आफ्नो लक्ष्य आफैं निर्धारण गर्छ र प्राप्ति पनि। 

तर आज हाम्रो समाजमा अधिकांश विद्यार्थीको लक्ष्य अभिभावकले निर्धारण गरिदिन्छन्। बढी आय आर्जन गर्न सकिने पेसा जस्तै ः डाक्टर, इन्जिनियर, पाइलट आदि पढ्न बच्चामाथि दबाब सिर्जना गर्छन्। जसले गर्दा सिर्जनात्मक बौद्धिक विकास कुण्ठित बन्दै जान्छ। विद्यार्थीका लागि बौद्धिक, नैतिक र श्रम शिक्षा उसको सर्वाङ्गीण विकासका पूर्वाधारहरु हुन्। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रारम्भिक शिक्षाबाटै पहल सुरु गर्नुपर्छ। अन्यथा माथिल्लो तहमा पुगेपछि उसलाई चाहेअनुसार बदल्न सकिँदैन। 

सानो उमेरमा बच्चाले उसको सर्वाङ्गीण विकासको मापनबाट शिक्षा पाएको छैन भने पछि जति नै राम्रो विद्यालय र शिक्षक भए पनि राम्रो उपलब्धि हासिल गर्न सकिँदैन। शिक्षा आत्मिक र मानसिक जीवनको अभिन्न अंग बन्नका लागि विद्यार्थीले प्राप्त गरेको ज्ञान सक्रिय कर्ममा पनि निरन्तर जोडिएको हुनुपर्छ। विद्यार्थीले प्राप्त गरेको ज्ञानलाई प्रयोगमा ल्याएन भने उसको ज्ञान विस्मृतिमा जान्छ। त्यसकारण विद्यार्थीलाई हमेशा ज्ञानको प्रयोग गर्न सिकाइरहनुपर्छ।

प्रख्यात जर्मन गणितज्ञ फेलिक्स क्लाइनले विद्यार्थीलाई तोपसँग तुलना गर्दै भनेका थिए- 'दस वर्षसम्म विद्यार्थीको दिमागमा ज्ञान कोचिन्छ अनि पड्काइन्छ। तोप पड्काइसकेपछि विद्यार्थीको दिमागमा केही पनि बाँकी रहन्न।' अहिले हाम्रो शिक्षाको हालत फेलिक्सले भनेजस्तै छ। विचार गर्नुको साटो स्मरण मात्र गर्नु तथा घटना र प्रवृत्तिको विश्लेषण गर्नुको साटो घोक्नु शिक्षाको सबैभन्दा खराब पक्ष रहिआएको छ। असल शिक्षाको अभिप्राय के हो भने एउटा सुसंगत वैज्ञानिक पद्धतिबाट प्राप्त बौद्धिक विकासका माध्यमबाट विद्यार्थीले कुनै पनि परिघटनाको कार्य-कारण सम्बन्धलाई बुझ्न र व्याख्या गर्न सकोस्। 

हाम्रो राष्ट्रका लागि सर्वसुलभ गुणस्तरीय शिक्षा पहिलो आवश्यकता हो। आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा नै हाम्रो सम्दर्भमा गुणस्तरीय शिक्षा हो। नेपालमा ठूलाठूला आन्दोलन र क्रान्ति सम्पन्न हुँदा पनि आर्थिक सामाजिक रूपान्तरणको अभियानले दिगो प्रतिफल प्राप्त गर्न नसक्नु उचित शिक्षाकै कमी हो। सामाजिक रूपान्तरणको वास्तविक माध्यम नै शिक्षा हो। शिक्षा गलत र निम्छरो भएपछि सबै गडबढीहरु त्यहींबाट सुरु हुन्छन्। त्यसकारण शिक्षालाई मानसिक र आत्मिक जीवनको अंशका रूपमा विकास गरेर मात्र सामाजिक रूपान्तरणको अभियानमा प्रगतिशील भूमिका निर्वाह गर्न सकिन्छ। आजका विद्यार्थीले ज्ञान पद्धतिको यो वैज्ञानिक सच्चाइलाई बुझ्न जरुरी छ। क्रमशः

(यस आलेखको दोस्रो खण्ड आगामी पौस १२ गते बिहीबारको विभाजन रेखा स्तम्भमा प्रकाशित हुनेछ) 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।