काठमाडौं- देशभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसनमा चुनावी सरगर्मी सुरु भएको छ ।
एसोसिएसनको ३२ औं कार्यकारिणी समिति नेतृत्वका लागि मंसिर २८ गते हुने चुनावमा लोकतान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुँदैछ । लोकतान्त्रिक समूहले ‘इन्जिनियरको नेतृत्व, दिगो समृद्धि र स्थायित्व’ भन्ने नाराका साथ हिरेन्द्रमान प्रधान नेतृत्वको प्यानललाई मैदानमा उतारेको छ भने प्रगतिशील समूहले ‘समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रको आह्वान : गतिशील इन्जिनियर, जिम्मेवार योगदान’ भन्ने नाराका साथ त्रिरत्न बज्राचार्यको प्यानल खडा गरेको छ ।
प्रजातान्त्रिक समूहका अध्यक्ष उम्मेदवार प्रधानले इन्जिनियरहरूको पेसागत सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको इन्जिनियरिङ शिक्षा र उनीहरूलाई व्यावसायिक तालिम दिलाउन आफूले उम्मेदवारी दिएको बताए ।
उनले इन्जिनियर कलेजहरूलाई उत्कृष्ट सिकाइ केन्द्रका रूपमा विकास गर्ने, बढीभन्दा बढी इन्जिनियर जनशक्तिलाई नेपालमै रोजगारीको अवसर दिलाउन नीतिगत व्यवस्था गर्ने, इन्जिनियरहरूलाई उद्योग र विश्वविद्यालयसँग समन्वय गर्ने वातावरण बनाउनेलगायतका प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘प्राविधिक क्षेत्रमा लागेका जनशक्तिको पेसागत सुरक्षा नभएसम्म उनीहरू स्वदेशमा टिक्न सक्ने अवस्था हुँदैन । त्यसैले इन्जिनियरहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सक्दो पहल गर्नेछु ।’
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रधानले ४० वर्षदेखि प्राध्यापन गर्दै आएका छन् । प्रधानले अहिले काठमाडौं इन्जिनियरिङ कलेजको नेतृत्व गरिरहेका छन् । उनी प्रस्ट वक्ता र दीर्घकालीन सोचाइ भएका प्राध्यापक मानिन्छन् ।
प्रगतिशीलतर्फका अध्यक्ष उम्मेदवार बज्राचार्यले आफ्नो प्यानलले चुनाव जितेमा सबै इन्जिनियरलाई स्वदेशमै रोजगारीको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘हामीले जितेमा इन्जिनियर विदेश जानुपर्ने बाध्यता अन्त्य गर्छौं । उनीहरूलाई स्वदेशमै रोजगारी दिलाउन गर्न पहल गर्छौं ।’ उनले देशमा ४० हजार भन्दा बढी इन्जिनियर रहे पनि अहिलेको नेतृत्व असक्षम भएका कारण एसोसिएसनमा १७ हजारमा मात्र संगठित भएको आरोप लगाए ।
उनले भने, ‘अहिलेको नेतृत्व असक्षम भएका कारण इन्जिनियरहरूमा एसोसिएसनप्रति विकर्षण पैदा भएको छ । हामीले जितेमा उनीहरु सबैलाई संगठित गर्छौं । हाल त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका डिन रहेका बज्राचार्यले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा गहन भूमिका निर्वाह गरेका छन् ।
केन्द्रमा १८ जना र प्रत्येक प्रदेशमा १६ जनाका दरले १३० पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो ।
लोकतान्त्रिक समूहबाट अध्यक्षमा हिरेन्द्रमान प्रधान, उपाध्यक्षमा चण्डिका भट्ट, महासचिवमा अभिमन्युलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी, सहकोषाध्यक्षमा जानुका थापा मैदानमा छन् । यस्तै केन्द्रीय सदस्यहरूमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्यबहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, ज्योतिमणि भट्टराई, भेषराम पोख्रेल, उमेशप्रसाद चौधरी, सुदर्शन भण्डारी र दिनेश अर्यालले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समूहबाट प्रदेश ३ मा सुवाचन्द्र बरालको नेतृत्वमा प्यानल खडा भएको छ । उपाध्यक्षमा श्यामकिशोर सिंह, सचिवमा विक्रम खतिवडा, सहसचिवमा कुशल पौडेल, कोषाध्यक्षमा विप्लव घिमिरे र केन्द्रीय सदस्यमा कृष्णराज पाठक तथा सदस्यहरूमा सन्तोष अर्याल, विशाल दाहाल, नीलकमल शाही, रूपेश भट्ट, सन्तोष पोख्रेल, मन्दिप दाहाल, बोधराज दाहाल, रामस्वरूप महासेठ, दीपकबहादुर रावल र हरिनारायण राय यादव प्रतिस्पर्धामा छन् ।
यस्तै प्रगतिशील सूमहका तर्फबाट अध्यक्षमा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविलाल पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्ष चाँदमाला श्रेष्ठले उम्मेदवारी दिएका छन् । इन्जिनियरहरू प्रताप सापकोटा, छविलाल अधिकारी, शिव चापागाईं, दिलीपकुमार विश्वकर्मा, टेकबहादुर कटुवाल, दीपेन्द्र जम्कट्टेल, ज्ञानेन्द्रप्रसाद कलौनी, गजेन्द्रकुमार झा, चक्रचूडामणि भट्ट, रोशन भट्टराई, अनिल नेपाल र सुगन्ध सुवेदीले केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन् ।
प्रगतिशील समूहले प्रदेश ३ मा नन्दलाल बन्जाडेको नेतृत्वको प्यानललाई चुनावी मैदानमा उतारेको छ । उपसभापतिमा डिल्लीराम भट्ट, सचिवमा प्रदीप अधिकारी, सहसचिव शरद पण्डित, कोषाध्यक्ष राजन थापा र केन्द्रीय सदस्यमा श्यामकृष्ण कार्की मैदानमा छन् । सदस्यहरूमा सुरज गौतम, सरोजकुमार कार्की, हर्जुतुमिन तुम्रुक लिम्बु, मदन खकुरेल, मौसम भण्डारी, सागर न्यौपाने, कपिल रेग्मी, दिनेशभाइ अधिकारी नवीन काफ्ले, सम्झना ढकालले चुनाव लडेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४