बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अमेरिका छाडेर हाकिम सापलाई ‘बोल्न’ सिकाउँदै इच्छा मल्ल

अमेरिका छाडेर हाकिम सापलाई ‘बोल्न’ सिकाउँदै इच्छा मल्ल

 |  शनिबार, साउन ३०, २०७८

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शनिबार, साउन ३०, २०७८

अध्ययन गर्न अमेरिका गएका अधिकांश युवा उतै पलायन हुन्छन्। केही युवा भने त्यहाँ  पर्याप्त अवसर पाउँदापाउँदै स्वदेश फर्केर पर्याप्त आम्दानीसहित सम्मानपूर्ण जीवन बताइरहेका छन्। तर इच्छा मल्ल अपवादमध्ये परिन्।

triton college

काठमाडौं–  अमेरिकाका केही प्रतिष्ठित युनिभर्सिटीबाट स्नातक सकेपछि बेरोजगार बस्नु पर्दैन। त्यही सूचीमा पर्छ जोन हप्किङ्स युनिभर्सिटी। जोन हप्किङ्सबाट स्नातक सकेपछि इच्छा मल्लले पनि राम्रो अवसर पाएकी थिइन्। तर उनले नेपालमै करियर बनाउने सोच बनाइन् र फर्किइन्। तत्काल काम गर्न बुवाको औषधि व्यवसाय छँदै थियो।

बुबाआमासँगै फर्मास्युटिकल्स कम्पनीमा काम गर्दै जाँदा उनले काममा प्रभावकारिताको अभाव देखिन्। त्यसको एउटा कारण थियो– कम्युनिकेसन स्किल ग्याप। कार्यालको कार्य विभाजन र पदका कारण हुने ‘कम्युनिकेसन ग्याप’का कारण काम प्रभावकारी नभएको र लक्ष्य हासिल हुन नसकेको निष्कर्षमा पुगिन् उनी। 

अनि आफ्नै कम्पनीका कर्मचारीलाई ‘कम्युनिकेसन स्किल’को तालिम दिन थालिन्। एकअर्कालाई कसरी बुझ्ने र कसरी बुझाउने भन्ने सिकाउँदै गइन्। यसै क्रममा काठमाडौं म्यानेजमेन्ट कलेजमा ‘कम्युनिकेसन स्किल’ पढाउन पनि थालिन् इच्छाले। बिस्तारै उनलाई यही क्षेत्रमा लाग्ने विचार आयो। अनि संस्था दर्ता गरिन् पिपुल्स फस्ट।

यस संस्थाले मानिससँग कसरी सञ्चार गर्ने भन्ने सिकाउँछ। ‘बोल्नु ठूलो कुरा होइन तर कसरी बोलिन्छ त्यो महत्त्वपूर्ण हुन्छ,’ उनी भन्छिन्। धेरै कुरा पढ्ने वातावरण भए पनि आपसमा सम्बन्ध विस्तार र सञ्चार सीप विकास गर्ने विषयमा भन्ने पढ्न नपाइने उनी बताउँछिन्। ‘मानिससँग प्रभावकारी रुपमा कुराकानी तथा संवाद गर्ने सीप पाठ्यक्रममा भेटिँदैन,’ उनी भन्छिन्, ‘विश्वभरका सबैजसो पाठ्यक्रममा टेक्निकल स्किल बारेका धेरै अध्ययन सामग्री भेटिन्छन् तर मानिससँग कसरी कम्युनिकेट गर्ने। मान्छेका कुरा कसरी बुझ्ने भन्ने अध्ययन सामग्री छैनन्।’

corrent noodles
Metro Mart

संस्था दर्ता गरेर काम अघि बढाइरहँदा उनलाई निजामती सेवाका अधिकृतहरुलाई कम्युनिकेसन स्किल पढाउने प्रस्ताव आयो। लोकसेवा पास गरेर आएका हाकिम सापहरुलाई पढाउन उनी कर्मचारी प्रशिक्षण प्रतिष्ठान अर्थात् स्टाफ कलेजमा आबद्ध भइन्। 

‘सरकारी अधिकृत विदेश जाँदा देशकै प्रतिनिधित्व गरिरहेका हुन्छन् तर उनीहरुलाई विदेशीसँग कसरी बोल्ने, कूटनीतिक मर्यादा कसरी राख्ने भन्ने नै थाहा हुँदैन,’ उनी भन्छिन्, ‘हामीकहाँ ग्राहकसँग कस्तो व्यवहार गर्ने भन्ने औपचारिक पढाइ नै हुँदैन।’

निजी संस्थामा काम गरेकी इच्छालाई सुरुमा सरकारी कर्मचारीले नरुचाउने हुन् कि भन्ने डर थियो। त्यही संशयसहित उनले कक्षा लिइन्। एक सातापछि उनलाई लाग्यो त्यो डर बेकारको रहेछ। उनको सिकाइ गतिविधि हाकिम सा’पहरुले मन पराए।

चार वर्षमा उनले झन्डै २ हजारभन्दा बढी सरकारी अधिकृतलाई बोल्न सिकाइसकेकी छिन्। ‘सरकारी अधिकृत विदेश जाँदा देशकै प्रतिनिधित्व गरिरहेका हुन्छन् तर उनीहरुलाई विदेशीसँग कसरी बोल्ने, कूटनीतिक मर्यादा कसरी राख्ने भन्ने थाहा हुँदैन,’ उनी भन्छिन्, ‘हामीकहाँ ग्राहकसँग कस्तो व्यवहार गर्ने भन्ने औपचारिक पढाइ हुँदैन।’


जाउलाखेलस्थित स्टाफ कलेजमा मल्लको कक्षामा सहभागी सरकारी अधिकृत। तस्बिर सौजन्य : इच्छा मल्ल

पिपुल फस्ट संस्था स्थापना गर्नुको कारण व्यावसायभन्दा पनि ज्ञान तथा अनुभव विस्तार गर्नु रहेको उनी बताउँछिन्। ‘मेरा बुबाआमा सक्षम भएकाले मैले विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालयमा पढ्ने मौका पाएँ तर नेपालका सबै दाजुभाइदिदीबहिनीले यस्तो मौका पाउँदैनन्। त्यसैले आफूले पाएको ज्ञान तथा अनुभव अरुलाई पनि बाँडौं भन्ने चाहना हो,’ उनी भन्छिन्।

पिपुल फस्टले बैंक तथा कर्पोरेट क्षेत्रका कर्मचारीलाई पनि कम्युनिकेसन स्किलको तालिम दिने गरेको छ।

‘देशको सेवा गर्नु भनेको आफ्नो सीप बाँड्नु पनि हो,’ उनी भन्छिन्, ‘नेपालमा कम्युनिकेसनको मात्र हैन सेल्समा पनि समस्या छ। त्यसबारे काम गर्न कर्पोरेट हाउससँग वार्ता भइरहेको छ।’

सरकारले स्टार्टअप बिजनेसका लागि अनुदान दिने गरेको छ। महिलाले उद्योग गर्न चाहेमा विनाधितो १५ लाख रुपैयाँसम्म ब्याज अनुदानमा ऋण लगानी गर्ने सरकारको नीति छ। उनले सरकारी सेवासुविधा नलिए पनि सरकारको यी प्रावधानलाई आमतहमा काठमाडौंबाहिरका महिला सशक्तीकरणका लागि उपयोग गर्नुपर्ने बताउँछिन्। ‘यसमा पनि कम्युनिकेसन स्किलको ग्याप देखिन्छ,’ उनी भन्छिन्।

महिलाका चुनौती

महिला भएकै कारण इच्छालाई कतिपय अवस्थामा असहज भएको छ। तालिमका लागि जाँदा सुरुवाती दिनमा सरकारी अधिकृतहरुका असहज भाषा प्रयोगले उनलाई अप्ठेरो बनायो। तर त्यसलाई हाँसेर टारिन् उनले। बिस्तारै उनले आफ्नो व्यक्तित्व र अडानलाई प्रखर रुपमा प्रस्तुत गर्दै गइन्। वातावरण  सहज हुँदै गयो।

सुरुमा त उनलाई पहिरनको औपचारिकता असहज भयो। उनलाई सर्ट, प्यान्ट सहज लाथ्यो। औपचारिक कार्यक्रम तथा तालिममा जाँदा कुर्ता बढी प्रभावकारी हुने। तर उनलाई कुर्ता लगाउनै नआउने। त्यसमा पनि बिस्तारै बानी पर्दै गयो। 

उनलाई लाग्छ नेपालका महिला प्रायः क्षेत्रमा पछाडि परेका छन्। कुनै पनि क्षेत्रमा पुरुषले खुला प्रतिस्पर्धा गर्न पाउँछ भने महिलाले भने विभिन्न अवरोधको सामना गर्नुपरेको छ।

एक पटकको असफलताबाट सिक्दै जानुपर्ने उनको धारणा छ। ‘यसो गर्दा काम पनि सजिलो हुँदै जान्छ र व्यक्ति पनि परिपक्व हुँदै जान्छ,’ उनी भन्छिन्, ‘एउटा वा दुईटा समस्या देखिनेबित्तिकै कामै छोडेर पलायन हुनु राम्रो होइन। नेपालमा यही समस्या छ।’

‘महिलालाई त बाँधिएसरह छ,’ उनी भन्छिन्, ‘तर बाँधिएका छौं भनेर चुप बस्नु पनि भएन। जसरी भए पनि हिँड्ने प्रयास गर्नुपर्छ। अघि बढ्दै जाँदा परिस्थिति त वातावरण अनुकूल बन्दै जान्छ। अनि परिपक्व हुँदै गइन्छ र अवसरका नयाँ ढोका खुल्दै जान्छन्।’

इच्छा नेपाल उद्योग वाणिज्य महासंघको युवा उद्यमी मञ्चमा पनि आबद्ध छिन्। ‘पारिवारिक बिजनेसमा ममीले घरमा छोराछोरी हेरेर अफिसमा पनि उत्तिकै समय दिनुहुन्छ तर नाम भने बुबाको मात्र अगाडि आउँछ। मेरो मनमा जहिले पनि यस्तो किन भयो होला भन्ने प्रश्न आउँथ्यो। उत्तरमा मैले के पाएँ भने भने महिलाहरु आफ्नो मार्केटिङ गर्दैनन् वा गर्न सक्दैनन्,’ उनी भन्छिन्, ‘महिला चुपचाप काम गर्छन्। यसो गर्दा जो सघैं फ्रन्टमा आउँछ उसैले बढी काम गरेको देखिन्छ।’

एक पटकको असफलताबाट सिक्दै जानुपर्ने उनको धारणा छ। ‘यसो गर्दा काम पनि सजिलो हुँदै जान्छ र व्यक्ति पनि परिपक्व हुँदै जान्छ,’ उनी भन्छिन्, ‘एक वा दुई समस्या देखिनेबित्तिकै कामै छोडेर पलायन हुनु राम्रो होइन। नेपालमा यही समस्या छ।’

नेपालमा अवसर

अमेरिका बसाइले उनलाई आधुनिक जीवनशैली र कार्य पद्धतिसँग जानकार गराएको छ। अमेरिकाको आधुनिक जीवनशैलीको कामधन्दाभन्दा नेपालमा पारिवारिक सदस्यसँगै बसेर काम तथा व्यवसाय गर्न पाउनु ठूलो अवसर हो भन्ने उनको बुझाइ छ।

‘म अमेरिका पनि बसें। कामको अवसर पनि पाएँ। तर यहाँ जत्तिको अवसर त मैले अन्त पाइनँ,’ उनी भन्छिन्, ‘यहाँ त आफ्नै परिवारसँग बसेर बच्चा हुर्काउँदै करियर अघि बढाउन पाउनु ठूलो अवसर हो। पैसाले परिवारको माया र परिवारसँग बिताउने समय किन्न सकिँदैन।’

उनलाई लाग्छ अधिकांश मानिसले आफूसँग भएको अथाह अवसरलाई गुमाउँदै गएका छन्। ‘यही कुरा युवा पुस्तालाई बुझाउन जरुरी छ,’ उनी भन्छिन्।

विकसित  मुलुकमा मानव पुँजीमा ठूलो लगानी  गर्ने गरिएको छ तर नेपालमा मानव पुँजी निर्माणको लागि लगानी गरिँदैन। उनी भन्छिन्, ‘हाम्रो संस्थाले त्यही मानव पुँजी विस्तारमै काम गरिरहेको छ।’


प्रकाशित: Aug 14, 2021| 12:47 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।