काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शनिबार) सातौ चरणका दुई खेल हुँदै छन् । पहिलो खेल बिहान ११ बजे नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेल दिउँसो २:३० बजे एनआरटीविरुद्ध संकटा क्लब मैदानमा उत्रिने छ । शनिबारका दुबै खेल हलचोकस्थित एपीएफको मैदानमा हुनेछन् ।
समान ६ खेलबाट समान १० अंक जोडेका पुलिस र हिमालयन शेर्पा एक अर्कालाई पराजित गर्दै अंक तालिकामा अघिबढ्ने दाउँमा रहेका छन् । हालको अंक तालिकामा गोल अन्तरका आधारमा पुलिस पाँचौ स्थान र हिमालयन छैटौ स्थानमा छन् ।
तर पुलिसलाई मुख्य खेलाडीको चोटको पिरलो छ । रेजिन सुब्बा, समन लामा र हेम तामाङ चोटका कारण मैदानमा देखिनै छैनन् । दोहोरो पहेलो कार्डका कारण अघिल्लो खेल गुमाएका अजित भण्डारी हिमालयन शेर्पाविरुद्वको खेलमा मैदान उत्रनेछन् ।
त्यस्तै आजै हुने दोस्रो खेल संकटा र एनआरटी आमने सामने हुदैछन् । लिगको उपाधि दौडमा देखिएको संकटालाई तालिकामा अझ मजबुद बन्ने अवसर सातौ चरणको खेलमा प्राप्त छ ।
कारण, उसले तालिकाको पुछारमा रहेको टोली एनआरटीलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । एनआरटीले प्रतियोगितामा जित दर्ता गर्न सकेको छैन । संकटा १५ अंक सहित तालिकाको तेस्रो स्थान र एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४