एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोन्टपिलरबीचको लिग खेल स्थगित गरिएको छ । पछिल्लो समय पेरिसमा हिंसात्मक प्रदर्शन बढेपछि पिएसजी र मोन्टपिलरबीचको खेल स्थगित गरिएको हो ।
फ्रेन्च लिग वान फुटबल अन्तर्गत आगामी शनिबार तय गरिएको उक्त खेल स्थानीय प्रहरीले खेल रोक्न अनुरोध गरेपछि दुवै क्लब खेल स्थगित गर्न सहमत भएका हुन् । सरकारले इन्धनमा कर वृद्धि गरेपछि पेरिसमा प्रदर्शन सुरु भएको हो ।
पछिल्लो समय उक्त प्रदर्शन हिंसात्मक बन्दै गएको छ । उक्त खेल पिएसजीको मैदानमा हुने थियो । यस्तै लियोन र टुलुसबीचको खेल पनि स्थगित गरिएको छ । स्थगित खेलको नयाँ मिति पछि तोकिने जनाईएको छ ।
जारी लिगमा पिएसजी शीर्ष स्थानमा छ भने मोन्टपिलर तेस्रो स्थानमा छ । १५ खेल खेलेको पिएसजी ४३ अंक छ । १५ खेल खेल्दा पिएसलीले एक खेल बराबरी र १४ खेलमा जित निकालेको छ ।
मोन्टपिलरले १६ खेल खेल्दा २९ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ । मोन्टपिलरले १६ खेलमा ८ खेलमा जित, ५ बराबरी र ३ खेलमा हार व्यहोरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४