काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा ब्रन्टफर्डले सुखद् सुरुआत गरेको छ। ब्रेन्टफोर्डकै घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम आर्सनललाई २–० गोलले हराउँदै लिगको सुखद् सुरुआत गरेको हो।
यो खेलसँगै ब्रेन्टफर्ड ईपीएल २०२१–२२ मा पहिलो ३ अंक जोड्ने टिम भएको छ। ब्रेन्टफोर्डलाई ३ अंक दिलाउने क्रममा सर्जी क्यनोस र क्रिस्टियन नोरगार्डले गोल गरेका थिए।
डिफेन्डर इथन पिन्नोकले उपलब्ध गराएको पासमा मिडफिल्डर क्यानोसले २२औं मिनेटमा पहिलो गोल गरेका थिए। यता खेलको ७३औं मिनेटमा नोरगार्डले फ्रि हेडरमार्फत् गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।
सो अग्रतासँगै ब्रेन्टफर्डले ईपीएल यो संस्करणमा पहिलो जित निकालेको हो। उसले सन् १९४७ पछि पहिलो पटक ईपीएलको सुरुवाति खेलमा जित निकालेको हो। यता आर्सनल भने १९७७ पछि पहिलो पटक दोस्रो डिभिजनबाट बढुवा भएर आएको क्लबसँग पहिलो खेलमै हार बेहोरेको छ।
१९७७ मा उसले ब्रिस्टल सिटीसँग हार बेहोरेको थियो। अन्य टिमको खेल नभए पनि ऊ ६ वर्षपछि ईपीएल तालिकाको पुछारमा छ।