वीरगञ्ज- वीरगन्ज महानगरपालिकाको भिष्वामा निर्माणाधीन बसपार्क पूर्व निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न महानगर प्रमुखले ठेकेदारलाई निर्देशन दिएका छन् ।
नगर प्रमुख विजय कुमार सरावगीले आइतबार निर्माणाधीन बसपार्कको निरिक्षणका क्रममा कार्य प्रगतिबारे जानकारी लिंदै समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
बसपार्कमा पर्खाल लगाउने काममा स्थानीयले अवरोध खडा गरेपछि नगर प्रमुख सरावगीको पहलपछि निर्माण कार्य पुन: शुरु भएको छ। बसपार्क निर्माण कार्यको सम्झौता अवधि यसै महिना सकिदैछ।
भुकम्प र भारतले गरेको नाकाबन्दीका कारण निर्माण सामाग्रीको आपूर्तिमा अवरोध खडा भएकोले पूर्व निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न नसक्ने दाबी गरेपछि नगर विकास कोषले सार्वजनिक खरिद ऐेनको दफा ५६ को प्रावधान अनुसार १२ महिना थप गरेको थियो ।
निर्माण अवधि थपिए पनि निर्माण कम्पनीले स्थानीयले साइटमा अवरोध गरेको भन्दै निर्माण कार्यमा आलटाल गर्दै आएको थियो ।
नगर विकास कोषले कन्सल्टेन्सी कम्पनी मार्फत तयार पारेको निर्माण कार्य प्रगति समीक्षा प्रतिवेदनले जम्मा ३५ प्रतिशत मात्र निर्माण प्रगति भएको उल्लेख छ।
निराशाजनक प्रगति भएकोले अबको बाँकी १५ दिनमा ठेकेदारले निर्माण कार्य सम्पन्न गर्नेमा आशंका व्यक्त गरिएको छ। महानगरले समयावधी थप्न सिफारिस नगर्ने चेतावनी दिइसकेको छ।
नगर विकास कोषले १७ करोड ७३ लाख पचास हजार रुपैयाँमा आधुनिक बसपार्क टर्मिनल निर्माणको ठेक्का लगाएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४