जनकपुरधाम- जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त वैकुण्ठ दासलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । किर्ते जालजासी गरी मठमन्दिरको जग्गा बेचविखन गरेको आरोप लागेका महन्त दासलाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले आदेश जारी गरेको हो ।
आदलतले शुक्रबार नै ‘वारेन्ट’ आदेश जारी गरेपनि धनुषा प्रहरी महन्त दासलाई पक्राउ गर्न सकेको छैन् ।
जनकपुरधाम–८ स्थित हजारी जनक विद्यापीठको नाउँमा रहेको जग्गा महन्त दास र उनका सहयोगी अशोक शर्माले मिलोमतो गरी किर्ते गरेको आरोप छ । दासका सहयोगी शर्मालाई प्रहरीले यसअघि नै पक्राउ गरी सकेको छ ।
साढे दुई अर्बभन्दा बढी मूल्य बराबरको विद्यापीठले भोगचलन गर्दै आइरहेको गुठीको उक्त जग्गाको संरक्षक दास र मोही शर्मालाई बनाइएको छ ।
हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको साढे दुइ बिघा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाइ हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए । केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको उक्त जग्गामा क्याम्पस व्यवस्थापनले घेराबेरा गरी भौतिक संरचनासमेत निर्माण गरिसकेको छ ।
२०५० सालदेखि विद्यापीठले भोगचलन गर्दै आइरहेको सिट नम्बर १३५४÷१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर तथा सिट नम्बर १३५४/१५ को कित्ता नम्बर १, २, २८ र ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा फर्जीलालपुर्जा बनाइ महन्त दासका सहयोगी शर्माले बेच्न खोजेका थिए ।
प्रहरी बेखबर
महन्त दासलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेपनि यसबारे आफूहरुलाई कुनै जानकारी नरहेको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्र शाहीले महन्त दासलाई पक्राउ गर्न अदालतले दिएको आदेशबारे हालसम्म आफूहरुलाई कुनै जानकारी नरहेको बताए । दासलाई पक्राउ गर्नबारे कुनै आदेश आएको भएपनि मुद्दा शाखालाई जानकारी हुन सक्ने उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४