इटहरी- संघीय राजधानी काठमाडौंमा विभिन्न देशका नेताहरू ओर्ले। उनीहरूलाइ सरकारले राजकीय सम्मान दियो। नागरिकलाई सवारी साधनको जोरबिजोर प्रणालीले सास्ती भयो। तर, राज्यले राजकीय सम्मान गरेका नेताहरू कुनै सरकारी कार्यक्रममा आएका होइनन्। उनीहरू कोरियाको एक चर्चको मिसिनरी संस्थाको कार्यक्रममा आएका हुन्।
एसिया प्यासिफिक समिट नाम दिइएको कार्यक्रमको आयोजक हो छोटकरीमा युपिएफ भनिने युनिभर्सल पिस फेडरेसन। यसका हर्ताकर्ता हुन् एकनाथ ढकाल। स्वतन्त्र र गैरधार्मिक कार्यक्रम भनिए पनि कार्यक्रम आयोजकको गठजोड र गतिविधिले यो पूर्णतः इसाई धर्म प्रचार गर्ने राण्नीति रहेको पुष्टि हुन्छ।
युपिएफ मिसिनरी हो : गार्जियननेपालमा स्वतन्त्र भनिएको युपिएफ संस्था इसाई मिसिनरी भएको बेलायती पत्रिकाले जनाएको छ। द गार्जियनले सन् २००८ को नोम्बेभर २१ मा प्रकाशन गरेको समाचारमा युपिएफ विवादास्पद कोरियाली युनिफिकेसन चर्चको संस्था भएको लेखेको छ। रियाज बटले लेखेको उक्त समाचारमा युपिएफले शान्तिको काम गरेको भने पनि अन्ततः उसले सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर इसाई धर्ममा लाग्न बाध्य पारेको बताइएको छ। एक अभियानकर्मीलाई उधृत गरेर उक्त समाचारमा लेखिएको छ, ‘उनीहरूले तपाईंलाई शान्तिको कुराकानी गरे पनि उनीहरूको उद्देश्य इसाई धर्मको प्रचार र अरू धर्म मान्नेलाई इसाईमा परिवर्तन गर्नु हो।’
नेपालभरि शान्तिदूत बनाउँदै हिँड्ने युपिएफका संस्थापक सन म्युङ मुन हुन्। उनी कोरियाली युनिफिकेसन चर्चका संस्थापक पनि हुन्। उनले सन् १९५४ मा कोरियाको बुसानमा युनिफिकेसन चर्च खोलेका थिए।
यो संस्थालाई ‘विश्व क्रिस्चियन एकताका लागि पवित्र आध्यात्मिक संघ’ पनि भनिएको छ। यसको पुष्टिका लागि नेपालमा प्रकाशित अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा कोरियाली पत्रकारले लेखेको एक समाचार हेरे हुन्छ। सिउलकी ली नामक कोरियाली पत्रकारले सन् २०१६ (अप्रिल १–७) मा लेखेको समाचार शीर्षक ‘कोरियन मुभमेन्ट गेन्स पोलिटिकल फुटहोल्ड इन नेपाल’ छ। यस नेपाली अर्थ नेपालमा खुट्टा टेकेको कोरियाली अभियान हो।
सन् २०१२ मा मृत्यु भएका फादर मुन आफूलाई जिजसपछिका भगवानले पठाएको पुत्र मान्ने गर्थे। युपिएफले फादर मुन र उनकी पत्नी हाक जा हानलाई विश्वव्यापी रूपमा माता र पिता भन्दै प्रचार गर्दै आएको छ। गौतम बुद्धको देशमा कोरियाली युनिफिकेसन चर्चका संस्थापकलाई शान्तिदूत भन्दै पूजा गर्ने संस्था युपिएफ हो।
युपिएफले विभिन्न राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तिलाई शान्तिदूतको प्रमाणपत्र दिन्छ। कुनै खास नियमबिना दिइने यस्तो प्रमाणपत्र लिनेमा नेता, प्रशासक, मन्त्री, पूर्वप्रधानमन्त्रीसम्म छन्। उनीहरूमा कोहीलाई नेपालमै र कोहीलाई युपिएफका कार्यक्रम हुने देशमा यस्तो प्रमाणपत्र थमाइन्छ।
शान्तिदूतका नाममा चर्चको सन्देशयुपिएफले विभिन्न राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तिलाई शान्तिदूतको प्रमाणपत्र दिन्छ। कुनै खास नियमबिना दिइने यस्तो प्रमाणपत्र लिनेमा नेता, प्रशासक, मन्त्री, पूर्वप्रधानमन्त्रीसम्म छन्। उनीहरूमा कोहीलाई नेपालमै र कोहीलाई युपिएफका कार्यक्रम हुने देशमा यस्तो प्रमाणपत्र थमाइन्छ। शान्तिदूत बन्नेहरू विदेश जाँदा हवाईभाडा आफंैले बेहोर्छन्। खानाबस्न र घुम्ने प्रबन्ध भने युपिएफले गर्दै आएको छ।
पछिल्लो समयमा मुलुककाविभिन्न नगर, उपमहानगर र महानगरका मेयरलाई थाइल्याण्ड लगेर शान्तिदूत बनाइएको थियो। शान्तिदूत बन्नेमा इटहरीका मेयर द्वारिकलाल चौधरी, धरानका दिवंगत मेयर तारा सुब्बालगायत थुप्रै छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत अन्य थुप्रै भिआइपी पनि शान्तिदूत बनिसकेका छन्। शान्तिदूत बनाएर आफ्नो संस्थाको पक्षमा वकालत गराउन युपिएफ सक्रिय छ। शान्तिदूतको दीक्षा दिन आउनेहरू मिसिनरी नै हुन्छन्।
२०७४ कात्तिकमा इटहरीको दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा कोरियाबाट डा. नो ही पाकलाई मुख्य अतिथि बनाइएको थियो। उनी क्रिस्चियन मिसिनरी रहेको प्रमाण फेला परेको छ। नो ही पाकको फेसबुक प्रोफाइल जानकारीमै उनको व्याख्या, ‘मिसिनरी एट युनिफिकेसन चर्च’ लेखिएको छ। उनले आफूलाई युनिफिकेसन चर्चका धर्मप्रचारक भनेर चिनाएका छन्। मिसिनरी पाकको फेसबुकको टाइमलाइनमा हेर्दा पनि उनले विभिन्न गतिविधिमार्फत आफ्नो चर्चका गतिविधि प्रचार गरेको पाइन्छ। एफएफडब्लुपियु नामक मिसिनरी संस्थाबाट उक्त कार्य गरेको देखिन्छ। इटहरीका पाकसँगै आएका अर्का अतिथि डा. ह्युङ तेइ किम पनि कोरियाकै युनिफिकेसन चर्चकै हुन्।
शान्तिदूत समारोह र विवाहित जोडीको वैवाहिक प्रतिबद्धता समारोहमा युपिएफले हरेकपल्ट एउटा वृत्तचित्र देखाउँछ। नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री आदिले भाग लिएको वैवाहिक प्रतिबद्धता समारोहमा पनि त्यस्तो वृत्तचित्र देखाइन्छ। यस्ता कार्यक्रममा युपिएफका सदस्यहरू आफ्नो संस्था संयुक्त राष्ट्रसंघको आधिकारिक सल्लाहकार संस्था भएको दाबी गर्छन्।
चर्चबाटै चल्छ परिवार दलयुपिएफ नामक संस्थाले अवलम्बन गर्दै आएको पारिवारिक मूल्यमान्यतासम्बन्धी धारणा समेट्दै नेपाल परिवार दल स्थापना भएको छ। परिवार दलको चुनावमा युपिएफमा लाग्नेहरू नै परिचालित भएका थिए। साथै त्यो दलका उम्मेदवार एकनाथ ढकाल आफैं सोही संस्थाबाट परिचालित रहेको जानकारहरू बताउँछन्। ढकाल संविधानसभाका समानुपातिक सांसद थिए।
उनै ढकालको पार्टी भने कोरियाको युनिफिकेसन चर्चकै प्रायोजनमा सञ्चालनमा आएको पुष्टि भएको छ। शान्तिदूत बताउने र वैवाहिक प्रतिबद्धता समारोहजस्ता कार्यक्रम आफैं सञ्चालन गर्ने युपिएफका अध्यक्षसमेत रहेका ढकाल आफू हिन्दु भन्छन्। साथै आफू युनिफिकेसन चर्चको अभियानकर्मी भएको पनि स्वीकार्छन्। नेपाली टाइम्सँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘म युनिफिकेसन अभियानमा लागेको हिन्दु हुँ।’
नेपालका धेरै जिल्लामा कार्यालय रहेको युपिएफ मात्रै हैन, ढकालको पार्टी नेपाल परिवार दल पनि युनिफिकेसन चर्चबाटै परिचालित रहेको पाइएको छ। यसको स्वीकारोक्ति ढकालले नेपाली टाइम्ससँगको अन्तर्वार्तामै घुमाउरो पारामा गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४