भैरहवा- गैडहवा तालको नाम कमैले सुनेका होलान् । सुनून् र पनि कसरी ?सरकारले हालै मात्रै एक सय नयाँ पर्यटकीय गन्तव्यको छनोट गरेर सार्वजनिक गर्यो । तर गन्तव्य सूचीमा गैडहवा ताल पर्न सकेन । यस्तै पर्यटन प्रवद्र्धन कार्यालयले यसलाई महत्त्व दिएको छैन । शक्ति र सत्ताले बेवास्ता गरे तापनि गैडहवा ताल तराईमा जल पर्यटनमार्फत पर्यटकको बसाइ लम्ब्याउन सकिने मुख्य गन्तव्य हो ।
गौतम बुद्ध जन्मस्थल लुम्बिनीदेखि ७ किलोमिटर उत्तरस्थित गैडहवा ताल प्रदेश ५ कै प्रमुख गन्तव्यको सूची बन्न कसैले छेक्न नसक्ने देखिन्छ । प्रदेश सरकारले चालु वर्षमा रूपन्देहीको गजेडी ताल र कपिलवस्तुको जगदशीपुर ताललाई योजनामा पारी बजेट छुट्ट्याएको छ ।
अस्ताउन लागेको सूर्यको किरण गैडहवा तालमा ठोकिएर फर्कंदाको मनोरम दृश्यले रारा तालको झझल्को मेटाइदिने अवलोकनकर्ता बताउँछन् । आकाशम लामा लागेर उड्ने साइबेरियाली चराहरूको ताँती र तालको पानीमा देखिने छाया वर्णन गर्नै नसकिने त्यहाँ पुगेर फर्किएकाहरू बताउँछन् । सारस र बकुल्ला तथा सालको हरियालीले तालको सौन्दर्य बढाएका छन् ।
७८.दशमलव ७ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल पर्याप्त बजेट अभावकै कारण उपयोगी बनाउन नसकिएको स्थानीय सरकारले जनाएको छ । गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले भने, ‘महत्त्व थाहा हुँदाहुँदै पनि पर्याप्त बजेट नहुँदा भनेजस्तो बनाउन सकेका छैनौं । तथापि यस वर्ष २० लाख छुट्ट्याएर संरक्षण गर्ने काम भएको छ ।’
अध्यक्ष केवटवले भने, ‘सन् २०१९ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजले उडान भर्न थालेपछि दैनिक लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई गैडहवा तालमा जल पर्यटनमार्फत सेवा दिन सकिन्छ । तर हाम्रो बजेटले त्यो सबै व्यवस्थापन गर्न सक्दैन । त्यसका लागि संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ ।’
‘लुम्बिनी क्षेत्रको भ्रमण गर्दागर्दै गर्मीले आत्तिएका पर्यटकहरूलाई यहाँ ल्याएर डुंगामा सरर घुमाउँदै यस आसपास स्तरीय रेस्टुरेन्ट सञ्चालन गर्ने, सहिद पार्कमा घुमाउने, तालमा फिसिङको व्यवस्था गर्ने र गुरुयोजनाअनुसार भौतिक संरचना बनाएर पर्यटकलाई पर्याप्त सुविधा दिने र विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य छ’, उनले भने । सहरको कोलाहलबाट बाहिर निस्कँदा शान्ति पनि मिल्ने भएकाले प्रदेश सरकारले पनि यसलाई गौरवको आयोजनाभित्र राखेर प्रदेश सरकार र संघीय सरकारले सहयोग गरेमा देशकै नमुना जल पर्यटनको मुख्य गन्तव्य बनाउने लक्ष्य स्थानीय सरकारको छ ।
गैडहवा तालकै नामबाट साबिकको सूर्यपुरा, विष्णुपुरा, साडी र जोगडा गाविस मिलाएर गैडहवा गाउँपालिका बनाइएको हो । गाउँपालिकाले उक्त तालमा तत्काल २ वटा डुंगा सञ्चालन गर्ने तयारी गरेको छ । ताल संरक्षण, संवद्र्धन र प्रचारका लागि यसै वर्ष गैडहवा महोत्सव गर्ने योजना रहेको अध्यक्ष केवटले जानकारी दिए ।
गाउँपालिकाले बुद्धजन्मस्थल आउने पर्यटकलाई गैडहवा ताल हेर्ने गरी वातावरण सिर्जना गर्नेगरी काम अगाडि बढाउने बताएको छ । तोकिएको समयमा सम्पन्न भएमा लुम्बिनी भ्रमणमा आउने पर्यटक एक दिन तालको भ्रमण पुग्ने अपेक्षा गाउँपालिकाको छ । जिल्लाकै सबैभन्दा ठूलो ताल गैडहवा प्रदेशकै नमुना पर्यटकीय स्थल बनाउने लक्ष्यअनुसार काम अगाडि बढाउनुपर्ने गाउँपालिका उपाध्यक्ष शुभाववती यादवले बताइन् ।
अलपत्र गुरुयोजना तालतलैयाविज्ञ जुद्धबहादुर गुरुङ र शैलेन्द्र पोखरेल नेतृत्वको टोलीले १० वर्षमा काम सक्ने गरी एक अर्ब १७ करोड २९ लाख २२ हजार रकममा गैडहवा ताललाई प्रदेशकै नमुना ताल बनाउने गुरुयोजना तयार पारेको छ । तथापि गुरुयोजना अझै सम्म कुनै पनि सरकारलाई हस्तान्तरण गरिएको छैन ।
गुरुयोजनाअनुसार उक्त ताल क्षेत्रमा व्यवस्थित पाकिङ, स्वागतद्वार, फुटपाथ, मोनोरेल, २ वटा पुल, एउटा झोलुंगे पुल, एउटा स्विमिङ पुल, ताल व्यवस्थापन समितिको कार्यालय र कफ्रेन्स हल जस्ता भौतिक संरचना बनाइनेछ ।
गैडहवा तालको उचित व्यवस्थापन नुहँदा विभिन्न क्षेत्रबाट अतिक्रमण समेत भइरहेको छ । सामुदायिक बनले ताल क्षेत्रको ७ सय ३७ दशमलव ४ हेक्टर क्षेत्रफल अतिक्रमण गरेको छ । यसैगरी ५९ दशमलवब २ हेक्टरमा घाँसे मैदान छ । ३ हजार ४ सय ५४ दशमलव ५ हेक्टर क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएका छन् । ९८ दशमलव ५ हेक्टर क्षेत्रफलमा घर बनाइएको छ । यद्यपि ती घर खेतमा प्रयोग भएको भूभागका बासिन्दालाई पुर्जा भने दिइएको छैन ।