काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन बिहीबार उनले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने बताए । 'हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुनुपर्छ । त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ', प्रधानमन्त्री ओलीले भने, 'सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।'
मन्त्री र कर्मचारीले काम गर्ने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बताउँदै उनले नीति, बैठक, छलफल र सुझावमा धेरै समय खेर नफालेर राष्ट्र विकासका कामलाई प्राथमिकता दिन निर्देशन दिए। 'विषयवस्तुको आफैँ गहन अध्ययन गर्नुहोस्, अवधारणा बनाउनुहोस् र त्यसपछि सुझाव लिनुहोस्' उनले भने, 'सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।'
कार्यालय समयमा हुने बैठकका भत्ता लिएर राज्यकोषलाई मारमा नपार्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिँदै मितव्ययी भएर राज्यकोषलाई दोहनबाट जोगाउनुपर्नेमा जोड दिए । उनले नेपाल वायुसेवा निगमको ‘वाइबडी’ जहाज उडाउने तयारी तथा निगम घाटामा जानाको कारणबारे पनि जिज्ञासा राख्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयलाई वृक्षरोपणमा मात्र नभई कृषि वन बढाउन पनि आग्रह गरे । 'अनुत्पादक जातका बिरुवा होइन प्रतिफल दिने फलफूलका बिरुवा रोप्न प्रेरित गर्नुहोस्, त्यसो गरेमा फल जति जनताको, बोटजति सरकारको हुन्छ,' प्रधानमन्त्रीले भने ।
सहकारीमार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त प्रस्तुत गर्दै प्रधानमन्त्रीले त्यसैअनुसार नेपालमा पनि बृहत् उत्पादनमा जोड दिनुपर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४