काठमाडौं–‘राष्ट्रकवि र कवितालाई म छुट्याउँनै सक्दैन’, कैलालीमा स्थापित साहित्यिक संस्था नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले राजधानीमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भने ।
साहित्यकारसमेत रहेका चन्दले भने, ‘राष्ट्रकवि घिमिरे कवितासँगै सुत्नुहुन्छ र कवितासँगै बिउँझिनु हुन्छ।’ चन्दको प्रसंसा सुनेर राष्ट्रकविको ओठमा मुस्कान छायो । उनले अगाडि थपे ‘राष्ट्रकवि घिमिरे नेपाली साहित्यको प्रकाश स्तम्भनै हो । उहाँको साहित्यमा मात्र होइन एउटै रचना भित्र पनि विभिन्न रस पाइन्छ ।’
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले राष्ट्रकविको सय वर्ष पुग्दाको ऊर्जालाई सलाम गरे। उप्रेतीले सात नम्बर प्रदेशमा रहेर साहित्य विकासमा योगदान पुर्याइरहेको प्रतिष्ठानले काठमाडौंमै आएर राष्ट्रकविलाई सम्मान गर्नु सराहनीय कार्य भएको बताए ।
राष्ट्रकविको सम्मानकै लागि सुदूरबाट राजधानी आएर साहित्यकारले देखाएको ममताले प्रफुलित भएका राष्ट्रकविलाई आशीष वचन दिन भन्दै कार्यक्रम सञ्चालक टिएन जोशीले आग्रह गर्दा घिमिरेले ‘गाली गर्दैन बाँसुरी, झुटो बोल्दैन सारंगी’भन्दै सम्बोधन सुरु गरे । ‘मलाई के बोलौं के नबोलौं लागिरहेको छ । चर्को बोलौं सक्दिनँ, सानो बोलौं स्पष्ट हुँदैन’, बिरामी भएर भरखर तंग्रिएका घिमिरेले भने, ‘सय वर्षमा पुगेको छु, सय वर्ष भनेको सय वर्ष नै हो ।’
राष्ट्रकवि घिमिरेले सुदूरले देखाएको ममताले खुसी तुल्याएको बताउँदै पश्चिमको ढुंगा र माटोभरि इतिहास रहेको बताए । उनले खप्तड स्वामीले तपस्या गरेको पावन भूमिबाट सम्मानित हुन पाउँदा आफू हर्षित भएको बताए ।
प्रतिष्ठानले शताब्दी वर्ष पुगेका घिमिरेलाई एक लाख धनराशिको मनिराज वाङ्मय पुरस्कार २०७४ प्रदान गरेको हो । प्रतिष्ठानले अन्य स्रष्टालाई पनि सम्मान गरेको छ। प्रतिष्ठानले जयराज पन्त लोकसाहित्य पुरस्कार २०७४ दाङ निवासी संस्कृतविद् डा.गोविन्दराज आचार्य, खप्तड स्वामी सचितानन्द सरस्वती पुरस्कार २०७३, १००८ स्वामी गौरीशंकर आचार्य, शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार ०७३/७४ क्रमशः साहित्यकार मोहन चापागाईं र ऋषिकेष भारद्वाजलाई प्रदान गरेको छ ।
यस्तै गोदावरी प्रतिभा पुरस्कार २०७४ बाट डा. नवराज लम्साल, नृपबहादुर स्वाँर साहित्य पुरस्कार २०७४ बाट खगेन्द्र गिरी कोपिला सम्मानित भए । सबै पुरस्कारको राषी १०–१० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी ‘प्रभात’ले गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४