शुक्रबार, वैशाख १४, २०८१

पटकपटक नाम फेरिरहने कवि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी : गत असार २९ गते भानुजयन्तीका दिन कवि बद्री भिखारीको ‘समुद्र साउती’ कविता संग्रह बजारमा आयो । राजधानीको शिखा बुक्सले प्रकाशन गरेको भिखारीको कविता संग्रह लोकार्पणअघि सामाजिक सञ्जालमा धेरै प्रचार भयो । 

तर भर्खरै संग्रह आएकै बेला कविको नाम ‘गायब’ भयो । उनले केही महिनाअगाडि आफ्नो नामबाट भिखारी  हटाएका थिए । भिखारी हटाएर पोखरेल लेखेपछि फेसबुकमा कवि बद्री भिखारी खोज्दा भेटिएनन् उनी । नयाँ आइडी बन्यो बद्री भिखारी ।  फेसबुकको नयाँ आइडीमा १४९ मात्रै साथी बने । पुरानो आइडीमा ४७ सय बढी साथी थिए । यसले पुस्तक प्रचारमा कमी आएको कवि भिखारी स्वीकार्छन् । 

साहित्यको  उपनाम ‘भिखारी’हटाएर नागरिकताको थर ‘पोखरेल’ थपेकोमा विराटनगरका कवि सुमन पोखरेलले भने, ‘मलाई त पोखरेल हुनुमा तनाव लाग्न थाल्यो । भिखारीले आफ्नो थर पोखरेल रोज्न थाले ।’

कवि भिखारीको नाम परिवर्तनको शृंखला पुरानै हो । उनी न्वारानको नाममा मात्रै असहमत छैनन् । आफैंले न्वारान गरेका नाम पनि पटकपटक फेरिरहन्छन् । २०१६ साल पुस २६ गते पुरोहितले न्वारान गरेर दिएको बद्रीलाई मन परेन । २०३९ सालमा आफैंले न्वारान गरे-बद्री भिखारी ।

बद्रीप्रसाद भिखारी पनि उनलाई चित्त बुझ्दो लागेन । त्यसपछि कहिले भवनाथ शर्मा त कहिले बबी शर्माका नामबाट कविता लेखे । 

कविता, निबन्ध, संस्मरण विधामा कलम चलाएका भिखारीले एकपटक त थरै परिवर्तन गरेर बुधन चौधरीका नाममा विभिन्न पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गरे । 

‘मनको गुलाम भएर थुप्रै नाम लेखें’

कवि बद्री आफू साहित्यमा नाम बद्री भिखारीकै नाममा चिनिन चाहन्छन् । यही नाममा उनले आफ्ना दुई कविता संग्रह र एक मुक्तक संग्रह प्रकाशित गरेका छन् । प्रेम वियोग भएपछि आफूले भिखारी उपनाम लेखेको उनी बताउँछन् । 

नाम फेरिरहनुमा आफ्नो नाम, काम र सिर्जना कारण भएको उनी बताउँछन् । उनी भन्छन्, ‘म मनको गुलाम हुँ । कसैको आग्रह, आदेश र निर्देशनमा केही लेख्न सक्दिनँ ।’

कवि भिखारी सरकारी जागिरे थिए पञ्चायतकालमा । राज्यले वाक् स्वतन्त्रतामा कडाइ गरिरहेका बेला उनी सत्ताको विरोधमा कविता लेख्थे । पञ्चायतको आँखा छल्न आफूले कवितामा विभिन्न नाम राखेको उनी बताउँछन् । ‘आफू जोगिन र जागिर जोगाउन मैले नामहरु फेरिरहें’, उनले भने ।

उनले २०४३ तिर भवनाथ शर्माको नामबाट कविता लेखे । यो नामबाट उनले थुप्रै हाइकु र मुक्तक पनि लेखे । त्यसपछि  नयाँ नाम जुराए, बबी शर्मा । बबी शर्माबाट उनले झापाका तत्कालीन माले पक्षधर विभिन्न पत्रिकामा साहित्य सिर्जना प्रकाशन गरे । 

२०४८ सालमा आइपुग्दा उनी नयाँ नाम र थरमा अखबारी लेखनमा सक्रिय भए । त्यतिबेला उनी बुधन चौधरी नाममा लेखरचना छपाउँथे । 

यी सबै नाम राख्नुमा भिखारीका आफ्नै तर्क छन् । बबी शर्मा उनले आफ्नो मूल नाम बद्री भिखारीको छोटकरीमा लेखेका हुन् । भवनाथ शर्मा उनका मामा हुन् । मामाले आफ्नो जस्तै अनुहार भएको भनेकाले उनले यो नाममा कविता लेखे । 

उनी बुधबार जन्मिएका हुन् । उनले आफ्नो जीवनको अधिकांश समय तराईमा बिताए । उनी यहाँका भूमिपुत्र थारू अर्थात् चौधरीलाई प्रिय मान्छन् । जन्मबारको आधा र तराईको जातिको थर मिसाएर बुधन चौधरी जुराएको उनी बताउँछन् । 

‘मलाई तराईका आदिवासी भूमिपुत्र थारू (चौधरी) धेरै इमानदार र परिश्रमी लाग्छन्’, कवि भिखारी भन्छन्, ‘त्यही भएर बुधनको पछि मैले चौधरी जोडें र त्यही नामबाट मैले समसामयिक राजनीतिक विषयमा लेखहरू लेखेँ ।’

अब अर्को नाम

साहित्यमा सक्रिय भिखारीका ७ वटा नाम छन् । २ थर जोडिएका छन् । अब नयाँ नाम के राख्ने? भिखारी मुस्कुराए । ‘मलाई कालुसिंह परियारका नाममा लेख्न मन छ ।’

आफूलाई विगत १५ वर्षदेखि यो नाम प्रिय रहँदै आएकाले केही समीक्षा लेख्न मन लागेको भिखारीले बताए । उनले भने, ‘यो नाममा गोप्य रूपमा लेख्न मन थियो । तपाईंसँग बोल्दाबोल्दै फुत्किहाल्यो । अब अर्कै नाममा लेख्नुपर्ला !’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।