काठमाडौं- तिहारले गर्दा स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु आज (शनिबार)बाट सुरु हुँदैछन् । आज ‘ए’ डिभिजन लिगका दुई खेल हुदै छन् । पहिलो खेलमा उपाधिको दाबेदारको रुपमा हेरिएको मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ भने दोस्रो खेलमा अर्को उपाधि दाबेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
पहिलो खेल विहान ११ बजे र दोस्रो खेल दिउँसो दुई बजे शसस्त्र प्रहरी बलको खेल मैदान हलचोकमा हुनेछन् । पहिलो चरणको खेलमा मनाङले व्रिगेड ब्वाइजलाई ३-१ ले पराजित गरेको थियो । एनआरटीले आर्मीसँग २-२ गोलको बराबरी खेलको थियो ।
मनाङलाई मिडफिल्डर सुजल श्रेष्ठको अनुपस्थितिले पिरोलेको छ । हातमा चोट बोकेका सुजल कम्तिमा ३ साता मैदान बाहिर रहने छन् । तर मनाङलाई अर्काे मिडफिल्डर प्रकाश बुढाथोकीको आगमनले राहत दिएको छ । राष्ट्रिय टिमका खेलाडीको भरिएको मनाङको कप्तानी विराज महर्जनले गर्नेछन् ।
शारिरिक रुपमा बलियो आर्मी र प्राविधिक रुपमा स्तरीय च्यासल दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछन् । लिगको उद्घाटन खेलमा बलियो मानिएको आर्मीले न्युरोड टिम एनआरटीसँग २-२ गोलको बराबरी खेलेको थियो ।
च्यासल युथ क्लब पनि मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । राष्ट्रिय टिमका खेलाडीले भरिएका दुवै टोलीले मैदानमा ३ अंक प्राप्तीका लागि संघर्ष गर्ने छन् । आर्मीमा भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथु जस्ता खेलाडी छन् । च्यासलमा विमल घर्ति मगर, हेमन्त थापा मगर र देवेन्द्र तामाङ जस्ता खेलाडी समावेश छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४