इटहरी- सन् २००६ मा सञ्चालनमा आएर सन् २०१२ मा बन्द भएको अग्नि एयरका जहाज त्यत्तिकै थन्किए। मान्छे बोक्न छाडेका अग्निका यी दुई जहाजले पर्यटकको मन भने आकर्षित गर्दैछन्।
मोरङ र झापाका दुई पर्यटकीय केन्द्रले यी जहाजलाई ल्याएपछि पर्यटकीय आकर्षण बढेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ को गोकुलम रिसोर्ट र झापाको सुरुंगामा रहेको ह्याप्पी ल्यान्डले एकएकवटा जहाज प्रदर्शनका लागि राखेका छन्।
झापाको कन्काई नगरपालिका–३ मा पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटरभित्र रहेको ह्याप्पी ल्यान्ण्ड ४ बिघा २ कट्ठामा फैलिएको छ । जहाज राखेपछि सबैको आकर्षण बढेको सञ्चालक दिनेश शिवाकोटीले बताए ।
भतिजा मनोज शिवाकोटीसँगको साझेदारीमा २०७४ पुस २७ गते उद्घाटन गरिएको यो पर्यटन क्षेत्रमा जहाजले नयाँपन दिएको शिवाकोटीको अनुभाव छ । उनी भन्छन्, ‘यहाँ दैनिक थोरैमा तीन सयदेखि धेरैमा २७ हजारसम्म आगन्तुक आएको रेकर्ड छ । जहाज अगाडि बसेर तस्बिर खिच्नेहरू थुप्रै छन् ।’
पूर्वी नेपालका विभिन्न जिल्लासहित भारत बिहार र पश्चिम बंगालबाट पर्यटक आउने गरेको सञ्चालक बताउँछन् । ह्यापी ल्यान्डमा १० करोड हाराहारी लगानी भएको जानकारी दिँदैसञ्चालक शिवाकोटीले जहाजको दाम भने गोप्य राखेका छन् । धेरैले चासो दिएको जहाजभित्र आर्ट ग्यालरी राख्ने तयारी भइरहेको छ ।
अग्नि एयरकै जहाज ल्याएका मोरङको गोकुलम रिसोर्टका सञ्चालक गिरीश दंगालले पनि जहाजको दाम भन्न चाहेनन् । जहाजको कारणले पर्यटक बढेको उनी बताउँछन् ।
‘हाम्रो रिसोर्ट इटहरीमै जोडिएको छ, विराटनगर र धरान जस्ता पूर्वका मुख्य सहरबाट धेरै टाढा छैन’, दंगालले भने, ‘जहाज आएपछि यो हेर्न आउने बढेका छन्।’
२०७३ वैशाख १ गतेदेखि सञ्चालनमा आएको गोकुलम रिसोर्टले दुई महिनाअगाडि ग्राउन्डेड जहाज ल्याएको हो । साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा जहाज आएपछि बालबालिका, युवादेखि वृद्धसम्म आकर्षित भएको दंगाल बताउँछन। १५ करोड बढी लगानीमा सञ्चालन भएको रिसोर्टमा दैनिक न्यूनतम एक हजार पर्यटक पुग्छन् । गोकुलममा जहाजको इन्स्टलेसन भने बाँकी छ।
जहाजको इन्स्टलेसनपछ कुन रूपमा प्रयोग हुने निर्णय गरिने रिसोर्टका सञ्चालक दंगाल बताउँछन्। उनी भन्छन्, ‘क्याफे, रेस्टुरेन्ट, म्युजियमजस्ता थुप्रै प्रस्ताव आएका छन् । सबैभन्दा राम्रो कुन हुन्छ त्यसैमा होमवर्क गरेर जहाजको प्रयोग हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४