काठमाडौं ‐ नेपाल राष्ट्र बैंकले ऋण विस्तार र पुँजी बजारमा कडाइ गर्दै मौद्रिक नीति ल्याउने भएको छ। शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको मौद्रिक नीति अपराह्न चार बजे सार्वजनिक गरिँदैछ।
कोभिडका कारण अर्थतन्त्र ओरालो लाग्दा बैंक तथा वित्तीय संस्थाको कर्जा पनि खराब कर्जामा परिणत हुन थालेपछि थप ऋण विस्तार नगर्ने तथा भएका ऋणहरुलाई उठाउनतर्फ ध्यान दिने गरी मौद्रिक नीति ल्याउन लागको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए।
सरकारले ल्याउन लागेको बजेट प्रतिस्थापन विधेयक नपर्खीकन नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको हो।
मौद्रिक नीति ल्याउन ढिलाइ गरेको तथा राष्ट्र बैंकले आफ्नो स्वायत्तता गुमाएको भन्ने सर्वत्र आलोचना भएपछि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउन लागेको हो।
मौद्रिक नीति चालू आर्थिक वर्ष कसिलो आउने भएको छ। अध्यादेशमार्फत ल्याइएको बजेटमा सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो। त्यो लक्ष्य प्राप्तिका लागि राष्ट्र बेंकले विस्तारकारी बजेट ल्याउनुपर्ने थियो। तर यो सरकारले नयाँ बजेट ल्याउने भएपछि राष्ट्र बैंकले मौद्रिक नीति कसिलो ल्याउन लागेको हो।
अर्थ मन्त्रालयले पनि कोभिडका कारण साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने भन्दै लक्ष्य घटाउने भएकोले पनि संकुचित मौद्रिक नीति आउन लागेको हो।
गत आर्थिक बर्षमा राष्ट्र बैंकले ऋण विस्तारको लक्ष्य २० प्रतिशत राखे पनि सरकारले दिएको सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा तथा बैंकले व्यवसाय निरन्तरताका लागि कर्जा दिँदा गत आर्थिक बर्षको ऋण विस्तार २८ प्रतिशत माथि पुगेको थियो।
मौद्रिक नीतिले ऋण विस्तार र पुँजीबजारलाई कडाइ गर्ने तथा मर्जरलाई प्राथमिकता दिने भएको छ। त्यस्तै हाल व्यवसायीलाई दिइँदै आएको सेवासुविधा भने निरन्तर हुनेछ। सीसीडी रेसियो, सीआरआरलाई निरन्तरता दिनेछ। हाल सीसीडी रेसियो ८५ र सीआरआर ३ प्रतिशत छ।