काठमाडौं‐ अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। आन्तरिक राजस्व विभागबारे जानकारी लिने क्रममा मन्त्री शर्माले राजस्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी कार्ययोजना पेस गर्न भनेका हुन्।
‘चलिराछ, यस्तै चल्छ भन्ने मेरा लागि मान्य छैन। एक पटक राम्रोसँग सोच्नुहोस्– राजस्व संकलन बढाउन सकिने उपाय तपाईं आफैं फेला पार्नुहुनेछ’, उनले भने, ‘त्यसका लागि तपाईंलाई के चाहिन्छ? जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ।’
उनले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैंले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन निर्देशन दिएका हुन्।
‘करदाता आफैं उत्साहित भएर कर तिर्ने हुनुपर्दछ। त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयका तर्फबाट केके गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्’, मन्त्री शर्माले भने, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ।’
‘करदाता आफैं उत्साहित भएर कर तिर्ने हुनुपर्दछ। त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयका तर्फबाट केके गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्’, मन्त्री शर्माले भने, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ।’
उनले समग्र राष्ट्रको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकतासमेत औंल्याएका छन्। उनले भने, ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्यांकन? यसको हिसाबकिताब खोइ? जनतासँग भएको सम्पत्ति के कति हो?’
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व संकलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताए। राजस्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए।
प्रविधिका माध्यमबाट सबै राजस्व कार्यालयलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन निर्देशन दिए।