बिहीबार, वैशाख ६, २०८१

यस्तो छ नबल्ने ट्राफिक लाइट अनि कमिशनको कथा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-‘ट्राफिक लाइट बल्दैन ?’ नेपाल समयको जिज्ञासामा राजधानीको नयाँ बानेश्वरस्थित सडकमा ड्युटीमा खटिएका एक ट्राफिकले भने, ‘कमिसनमा बनेका लाइट किन बल्थे ?’
नयाँ बानेश्वर मात्र होइन, राजधानीका अधिकांश सडकमा ट्राफिक लाइट बल्दैन। राजधानीमा नबोल्ने ट्राफिक लाइटको कथासँग कमिशनको चक्कर जोडिएको छ। निम्न गुणस्तरका सामग्री प्रयोग गरेका कारण ट्राफिक लाइट नबलेको गुनासो प्रहरी वृत्तबाटै आउन थालेको छ।

२०२३ सालमा राजधानीका प्रमुख २० चोकमा जापानी सहयोग नियोग (जाइका) ले ट्राफिक लाइट जडान गरिदिएपछि नेपालका सडकमा ट्राफिक लाइटको व्यवस्था सुरु भएको मानिन्छ।  
समयक्रमसँगै राजधानीमा सडक विस्तार हुँदै गए, सवारीसाधन भित्रिने क्रम बढ्दै गयो। २०५० को दशकमा जापान सरकारले नै राजधानीका थापाथली, त्रिपुरेश्वर, माइतीघर, पद्मोदय मोड, नयाँ बानेश्वर, कोटेश्वर, सातदोबाटो, केशरमहल, लैनचौर, महाराजगन्ज चक्रपथमा ट्राफिक लाइट थप गरिदियो। 

त्यतिबेला थापाथलीचोकमा ट्राफिक लाइटको इसारामा सवारीसाधन गुडेको देख्दा जोकोहीलाई लाग्थ्यो- हाम्रो राजधानीका सडक पनि कुनै विकसित मुलुकका सडकभन्दा कम छैनन्। तर मर्मतसम्भार नगरिँदा ट्राफिक लाइट बिस्तारै जीर्ण बन्दै गएपछि सवारीचालक र पैदल यात्री ट्राफिक प्रहरीको सिठ्ठी र हातको इसारामा चल्नुपर्ने अवस्था आएको छ। उपत्यकाका २८ व्यस्त चोकमध्ये मुख्य सडकका पाँच र सहायक सडकका दुई स्थानमा मात्र ट्राफिक लाइटको आंशिक प्रयोग हुँदै आएको छ। अन्यत्र ट्राफिक प्रहरीको इसाराबाटै सडक व्यवस्थापन हुँदै आएको छ।

कुनै बेला राजधानीको थापाथलीचोकमा ट्राफिक लाइटको इसारामा सवारीसाधन गुडेको देख्दा जोकोहीलाई लाग्थ्यो- हाम्रो राजधानीका सडक पनि कुनै विकसित मुलुकका सडकभन्दा कम छैनन्। मर्मतसम्भार नगरिँदा ट्राफिक लाइट बिस्तारै जीर्ण बन्दै गएपछि अहिले सवारीचालक र पैदल यात्री ट्राफिक प्रहरीको सिठ्ठी र हातको इसारामा चल्नुपर्ने अवस्था आएको छ। 


५२ वर्ष अवधिमा उपत्यकाको जनसंख्यामात्र बढेको छैन सडक र सवारीसाधन संख्या पनि विस्तार भएको छ। फराकिला पारिएका सडकमा हजारौं संख्यामा सवारी आवतजावत गर्छन्। तर सडकमा ट्राफिक व्यवस्थापन फितलो हुँदा घन्टौं जाममा पर्न बाध्य छन् राजधानीका सडक प्रयोगकर्ता। मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वारमा जीर्ण रहेका ट्राफिक लाइटले त्यहाँबाट दैनिक ओहोरदोहर गर्ने प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीलाई गिज्याइरहेको छ।

नेपाल समयले गत साउन १४ गते सरोकारवाला निकायलाई झकझकाएपछि काठमाडौं उपत्यकाका नयाँ बानेश्वर, महाराजगन्ज, पुतलीसडकलगायतका केही व्यस्त चोकमा लामो समयदेखि बन्द ट्राफिक लाइट बल्न थालेका थिए। तर अहिले ती लाइट बल्न छाडेका छन्।

विकसित मुलुकमा आकस्मिक अवस्थामा बाहेक ट्राफिक व्यवस्थापन ट्राफिक बत्तबाटै निर्देशित हुन्छ। ट्राफिक लाइटको सही प्रयोगका कारण दर्घटना न्यूनीकरणमा सघाउ पुग्छ भने सडक व्यस्थापनमा पनि थोरै जनशक्ति परिचालन गरे पुग्छ। तर हाम्रो देशमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीको ठूलो जनशक्ति उच्च जोखिम मोलेर ड्युटीमा खटिन बाध्य छन् भने ट्राफिक लाइट नहुँदा सडक अनुशासनबारे सडक प्रयोगकर्ता अनभिज्ञ देखिएका छन्। 

ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले राजधानीका अधिकांश मुख्य सडकमा जडान गरिएका ट्राफिक लाइट नबल्दा नेपाल प्रहरीको ठूलो जनशक्ति सडक व्यवस्थापनमा खटिनुपरेको बताए।

जाइकाले केही वर्षअघि कौशलटार, गठ्ठाघर, सूर्यविनायक र सल्लाघारीमा जडान गरिदिएको ट्राफिक लाइट पनि बिस्तारै जीर्ण बन्न थालेका छन्। विदेशी सहयोगमा जडित यी ट्राफिक लाइट मर्मतसम्भार हुन नसक्दा प्रयोगविहीन बनेका हुन्।

ट्राफिक लाइट जडान र मर्मतको जिम्मेवारी सडक विभागको हो। तर विभाग पुराना ट्राफिक लाइट मर्मत नगरी ती ठाउँमा नयाँ ट्राफिक लाइट जडानको तयारीमा छ। विभागका उपमहानिर्देशक एवम् प्रवक्ता मुक्ति गौतम जाइकाले जडान गरेका ट्राफिक लाइट मर्मत गर्न झन्झटिलो रहेको बताउँछन्। ती ठाउँमा जडित ट्राफिल लाइट मर्मत गर्न उपकरण र प्राविधिक जापानबाटै झिकाउनुपर्ने  भएकाले समस्या रहेको दाबी उनको छ। विभाग बोलपत्र आह्वान गरी नयाँ ट्राफिक लाइट जडान गर्ने तयारीमा रहेको जानकारी उनले दिए।

उनले नेपाल समयसँग भने, ‘महाराजगन्ज र नयाँ बानेश्वरमा नेपाली प्राविधिकले तयार पारेका ट्राफिक लाइट परीक्षण गरिएको छ। कुनै समस्या आए तत्कालै मर्मत गर्ने सर्तमा नेपाली प्राविधिकले बनाएको लाइट जडान गर्ने गरी टेन्डर आह्वान गरिसकेका छौं।’

विभागले कमिसन निरुत्साहित गर्न खुला प्रतिस्पर्धाबाट टेन्डर आह्वान गरेको दाबी गरेको छ। एउटा चोकमा पाँचदेखि सात लाख रुपैयाँसम्ममा ट्राफिक लाइट जडान गर्न सकिन्छ। तर १५ लाख रुपैयाँभन्दा माथिका मात्र टेन्डर परेको विभागका एक अधिकारीले बताए। 

राजधानीको ट्राफिक व्यवस्थापनमा एसियाली विकास बैंक (एडिबी) ले पनि चासो देखाएको थियो। तर लागतभन्दा दोब्बर बढीका आवेदन परेपछि एडिबीका तीनवटा टेन्डर फेल भए। यसैगरी एडिबीको ५१ प्रतिशत अनुदान र सरोकारवाला निकायको ४९ प्रतिशत लगानीमा जडान गर्ने गरी आएको विदेशी अनुदान ‘फ्रिज’ भइसकेको छ।

सडक विभाग जीर्ण बनेका ट्राफिक लाइट मर्मत नगरी चर्को मूल्यको टेन्डर प्रस्ताव गर्र्ने कम्पनीमार्फत नयाँ ट्राफिक लाइट जडान गर्ने तयारीमा जुटेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।