इटहरी- चीनसँग पारवहन सम्झौतामा अन्तर्राष्ट्रिय नाका भनेर घोषणा गरिएको संखुवासभाको किमाथांका नाकाको ट्र्याक खुल्न ढिलाइ भएको छ । जोगबनी-विराटनगर-किमाथांका ट्र्याक खोल्न अझै २३ किलोमिटर बाँकी छ । नेपाल र चीनबीच २०७५ भदौ २२ भएको प्रोटोकल सम्झौताले किमाथांकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो ।
पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७२ चैत ८ मा चीनसँग पारवहन सम्झौता गरेका थिए । ओलीले गरेको सम्झौताको साढे दुई वर्षपछि भएको प्रोटोकल सम्झौताले किमाथांकाले अन्तर्राष्ट्रिय नाकाको मान्यता पाएको थियो ।
जोगबनी-किमाथांकाको उत्तर-दक्षिण कोसी सडक आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार चेपुवा, छुमसुरजस्ता चट्टानी खण्डमा निर्माण कठिनाइका कारण ट्र्याक खोल्ने काममा ढिलाइ भएको भएको हो । त्यस क्षेत्रमा रहेको भीरमा विस्फोट गराएपछि १५ किमि ट्र्याक खुल्नेछ । यसपछि बाँकी काम गर्न सहज हुने ज्ञवालीले बताए । उनले भने, ‘हामी अब भीरमा विस्फोट गर्ने तयारीमा छौं ।’
जोगबनी-विराटनगर-किमाथांका ट्र्याक खोल्न अझै २३ किलोमिटर बाँकी छ । नेपाल र चीनबीच २०७५ भदौ २२ भएको प्रोटोकल सम्झौताले किमाथांकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो ।
जोगबनीबाट खाँदबारीसम्म सहज रुपमा सवारी आवागमन भइरहेको छ । खाँदबारीबाट किमाथांकासम्मको एक सय ६२ किलोमिटर सडक क्षेत्र पूर्ण हुन २३ किलोमिटर हाराहारी ट्र्याक खोल्न बाँकी छ । खाँदबारी र किमाथांका दुवै तर्फबाट सडक खोल्ने काम भइरहेको जानकारी उनले दिए । उनले भने, ‘किमाथांकातर्फबाट पनि १४ किलोमिटर सडक निर्माण गरिएको छ ।’
केही ठाउँमा रहेको चट्टानी भीर र स्थानीयको जग्गा विवादका कारण सडकको निर्माणले गति लिन नसकेको ज्ञवालीले बताए । ज्ञवालीका अनुसार आयोजनाका लागि छुट्याइएको दुई अर्ब ३९ करोड बजेटमध्ये दुई अर्ब १२ करोड हाराहारी खर्च भइसकेको छ ।
आयोजनाले यसै वर्षभित्र मूर्त रुप लिने संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र गौतमले बताए । उनले भने, ‘त्रिदेशीय लोकमार्ग भएकाले जोगबनी-किमाथांका सडकले चाँडो निर्माण हुनुपर्छ । यस वर्षभित्रमा ट्र्याक खोलेपछि व्यवस्थित सडक निर्माणले तीव्रता पाउनेछ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४