शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ब्राजिलमा कम्युनिस्ट हार्दा अमेरिकाको हड्डी हाँस्यो   

ब्राजिलमा कम्युनिस्ट हार्दा अमेरिकाको हड्डी हाँस्यो   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- झन्डै बिस करोड असी लाख जनसंख्या भएको दक्षिण अमेरिकाकै सबैभन्दा ठूलो मुलुक ब्राजिलले भरखरै एउटा राजनीतिक घटना व्यहोर्न पुगेको छ ।

पूर्व सैनिक अधिकृत जायर बोल्सोनारो उम्मेदवार रहेको सामाजिक उदारवादी दलले समग्र मतको ५५.२% हासिल गरी ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेको छ । उनका प्रतिद्वन्द्वी वामपन्थी श्रमिक पार्टीका उम्मेदवार फर्नान्डो हदादले ४४.८% मत बटुल्न सक्षम भएका छन् । ब्राजिलको यो राजनीतिक घटनाक्रम आउँदो पाँच वर्षभित्र समृद्धि ल्याउँछौँ भनी जनतामाझ प्रतिबद्धता जाहेर गरिरहेको नेपाली वामपन्थी राजनीतिक वृत्तको सबैभन्दा ठूलो घटक एवं वर्तमान नेपालको सतारुढ दल नेकपाका लागि त यो अत्यन्तै अवाञ्छित बन्न पुगेको देखिन्छ ।

ब्राजिलको राष्ट्रिय निर्वाचनमा बोल्सोनारो विजयी हुनुको पछाडि उनको सामाजिक सुरक्षासम्बन्धी मुद्दा प्रमुख रहेका छन् । मुलुकमा जनताले ब्यहोर्दै आएका सामाजिक अपराध, भ्रष्टाचार एवं शृंखलाबद्ध आर्थिक घोटाला र काण्डैकाण्डलाई नियन्त्रण गरी विधिको शासन र राजनीतिक स्थिरता कायम राख्ने बोल्सोनारोको प्रतिबद्धताले यो निर्वाचनमा ठूलो भूमिका खेलेको पुष्टि हुन्छ ।  

संयुक्त राज्य अमेरिकाले देखिनसक्ने साम्यवादी समाजवादी सरकारले आफ्नै गोलाद्र्धमा क्रमशः क्युबा, भेनेजुयला हुँदै ब्राजिलमा समेत जरो गाड्न थालेको असह्य अमेरिकी पीडा ब्राजिलमा ट्रपिकल ट्रम्प उपनाम पाएका बोल्सोनारो राष्ट्रपति भएपछि धेरै मत्थर भएको छ । चरम दक्षिणपन्थी सोचका बोस्लोनारो अमेरिकाका निमित्त ल्याटिन अमेरिकामा वामपन्थी तह लगाउने गतिलो लौरो साबित हुने बताइँदै आएको छ । यस घटनाक्रमले त अमेरिकाको हड्डी हाँसेको छ ।        
 
संसारकै आठौं ठूलो अर्थतन्त्र भएको मुलुक ब्राजिललाई विश्व बैंकले उच्च–मध्यम स्तरको अर्थतन्त्रको रुपमा चित्रित गरेको छ । नव औद्योगिक यस राष्ट्रले समुच्चा ल्याटिन अमेरिकी क्षेत्रबाट सबैभन्दा बढी विश्वको धनराशि भएको मुलुकको पहिचान बोकेको छ । यस मुलुकलाई विश्वको सबैभन्दा ठूलो अन्न उत्पादक पनि मानिन्छ । विश्व व्यवस्था विज्ञहरु यस मुलुकलाई उदीयमान शक्ति मात्र होइन, विश्व महाशक्ति हुन सक्ने अत्यन्त ठूलो सम्भावना बोकेको मुलुकका रूपमा ग्रहण गर्छन् । 

कस्तो थिति बाँधेका थिए लुलाले ?

लुला द सिल्भा राष्ट्रपतीय उम्मेदवार हुँदा होस् या राष्ट्रपतिको निर्वाचन जितेपछि होस् उनले निरन्तर सामाजिक कार्यक्रमलाई सर्वोपरि रुपमा उठाउँदै आइरहेका थिए । तीमध्ये भोकमरीविरुद्धको अभियान प्रमुख थियो । अझ यसलाई विस्तारित गरी ‘भोक शून्यता’ नामक कार्यक्रम निर्माण गरी बृहत्तर रुपमा विकास गरियो ।  

यसअन्तर्गत विभिन्न सहायक कार्यक्रम विनियोजित गरिएको थियो । जसमा ब्राजिलका सुख्खाग्रस्त स्थानमा सिँचाइ एवं घरेलु प्रयोजनका खातिर जल भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण कार्यले प्रमुखता पाएको थियो । त्यस अलावा किशोरावस्थामै गर्भवती हुने क्रमलाई नियन्त्रण गर्ने राष्ट्रिय कार्यक्रम पनि कम महत्त्वको थिएन । पारिवारिक कृषि प्रणाली थप मजबुत बनाउन अत्यावश्यक प्राविधिक एवं आर्थिक सहायताको उपलब्धतालाई अझ बढी चुस्त बनाई आत्मनिर्भर समाज निर्माण गर्ने कोसिस सराहनीय देखिन्छ । अति गरिब परिवारलाई निश्चित मात्रामा नगद सहयोग गरी बिग्रिएको पारिवारिक अवस्था सुधार्ने कामको थालनी लुलाले गरेका थिए ।

सबैभन्दा ठूलो कार्यक्रम परिवारिक अनुदान हो । कुनै पनि परिवारका बालबच्चा विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भनी प्रदान गरिँदै आएको सहयोग कार्यक्रमलाई फरक ढंगबाट नयाँँ परिवेशमा प्रस्तुत गरिएको थियो । यो कार्यक्रमलाई प्रभावकारी ढंगले प्रस्तुत गर्नका निम्ति छुट्टै मन्त्रालय नै खडा गरिएको थियो जुन मन्त्रालयलाई ब्राजिलमा सामाजिक विकास तथा भोक उन्मूलन मन्त्रालय भनेर चिनिन्छ । जसले गर्दा अनावश्यक प्रशासकीय झन्झट एवं सेवाग्राहीले अवाञ्छित प्रकारका सास्ती खेप्नुनपर्ने अवस्था उत्पन्न भएको थियो ।  

लुलाको शासनकालमा ब्राजिली जनताको आर्थिक जीवनले काँचुली फेरेको थियो । ब्राजिल विश्वको आठौँ ठूलो अर्थतन्त्र पनि हुन पुग्यो । ब्राजिलले पहिलोपटक दक्षिण अमेरिकाकै इतिहासमा ग्रृष्मकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने सुनौलो मौका पनि पायो ।    
 
ब्राजिलको राष्ट्रिय निर्वाचनमा बोल्सोनारो विजयी हुनुको पछाडि उनको सामाजिक सुरक्षासम्बन्धी मुद्दा प्रमुख रहेका छन् । मुलुकमा जनताले ब्यहोर्दै आएका सामाजिक अपराध, भ्रष्टाचार एवं शृंखलाबद्ध आर्थिक घोटाला र काण्डैकाण्डलाई नियन्त्रण गरी विधिको शासन र राजनीतिक स्थिरता कायम राख्ने बोल्सोनारोको प्रतिबद्धताले यो निर्वाचनमा ठूलो भूमिका खेलेको पुष्टि हुन्छ ।
 
मुख्यतः लुला प्रशासनको नेतृत्वदायी कार्यक्रम वृद्धि विकास कार्यक्रम रहेको थियो जसको कुल बजेट सन् २०१० सम्म आइपुग्दा लुलाले ३५३ अर्ब अमेरिकी डलर पुर्‍याएका थिए । यो कार्यक्रमको प्राथमिक लक्ष नै लागानी गर्नु थियो । विशेषतः ब्रजिलको पूर्वाधार निर्माण कार्य अघि बढाउँदै सार्वजनिक निजी साझेदारीका माध्यमबाट मुलुकमा धेरैभन्दा धेरै रोजगार सिर्जना गर्ने अन्तनिर्हित उद्देश्य रहेको थियो ।  

अर्थतन्त्रको हिसाब राख्दा लुलाले मुलुकलाई एक भरपर्दो आर्थिक शक्तिका रुपमा उभ्याउने प्रयास गरेका थिए । उनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ब्राजिलले गरेका सम्झौता पुनरावलोकन गरी नयाँँ सिलसिला तय गरे । मुद्राकोषको ऋण सहयोग लक्ष्यभन्दा अघि नै चुक्ता गरेर चमत्कार गरेका थिए । यसरी बिस्तारै बजारमुखी अर्थतन्त्रका अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुसँग सम्बन्ध बिस्तार गर्दै लगेको पाइन्छ । जसले विश्वव्यापी वित्तीय संकटको सिकार हुनबाट जोगाई मुलुकको अर्थतन्त्रलाई स्थिरता एवं विकासशील बनाउन ठूलो योगदान गरेको पाइन्छ । यस अवधिमा आफ्नै मन्त्रिपरिषद्का केही भ्रष्ट मन्त्रीहरुलाई आर्थिक अपचलन गरेको आरोपमा बर्खास्त पनि गरेका थिए ।     

दिलमा रुसेफको योगदान    
 
सन् २०१४ को राष्ट्रपतीय निर्वाचनमा दिलमा रुसेफले एउटा टिकडम गरेकी थिइन् । मतदातालाई प्रत्यक्ष प्रभाव पार्ने खालको बजेट पुस्तिका तयार गरेर विशुद्ध चुनावमुखी विकासे योजना प्रस्तुत गरेकी थिइन् । त्यस कामले उनलाई चुनाव त जितायो तर अन्त्यमा जनताले आफूहरु ठगिएको महसुस गरे । 

त्यसो त ब्राजिली समाजवाद र लुलाको जनमुखी कार्यक्रमको अन्तर्यमा कुनै खोट थिएन, थियो त केवल ती कार्यक्रम परिचालन गर्न आवश्यक अर्थ–राजनीतिक अनुशासनको कमी । रुसेफले चानचुने रणनीतिले सत्ता हासिल गरेकी थिइनन् । उनको पार्टीले उनलाई नै त्यो जिम्मेवारी दिनुको पछाडि उनका विश्वासनीय कार्यक्रम थिए । आर्थिक स्थिरता कायम गर्ने, गरिबी निवारण गर्ने, राजनीतिक सुधार गर्ने, कर प्रणालीलाई परिमार्जन गर्दै लैजाने तथा व्यापक रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु दिलमाका आधारभूत दिगो विकास र समृद्धिका रणनीतिहरु थिए ।

उच्च आर्थिक बृद्धिका बेला आर्जित वित्तीय ताकत बिना हिच्किचाहट ब्यापक लगानी विस्तार गर्ने क्रममा खर्च हुन पुग्यो । भविष्यमा आउन सक्ने आर्थिक संकटका लागि बेलैमा सञ्चय गर्न नसक्दा लुलाले जोडेको समाजवादी उन्नतिको जायजेथा र लुला मोडेलको बिँडो दिलमा रुसेफले थाम्न सकिनन् । 

यसरी, विकासका लोकप्रिय एवं जनपक्षीय कार्यक्रम ल्याएर पहिले लुला द सिल्भा त्यसपछि दिल्मा रुसेफले आम श्रमजीवी जनताको जनजीवीका, जनस्वास्थ्य, शिक्षा एवं सीमान्तकृत वर्गको वर्गीय तथा सामाजिक उत्थानका प्रयास गरे पनि मनग्ये राजकीय ढुकुटीको अपचलन गरेको ठहरिन पुग्दा जनताले सत्ताबाट वामपन्थी समाजवादी शक्तिलाई बढारिदिए । यस्ता कार्यक्रमहरु चुनावी भोट आकर्षणका साधन मात्र हुन्, यसले ब्राजिली जनतालाई गरिबीबाट सापेक्ष रुपले मुक्ति दिलाए पनि दीर्घकालीन उपायका रुपमा यसले काम गर्न नसक्ने धरातलीय यथार्थलाई चेतनशील जनताले नजिकबाट बुझेका रहेछन् ।   
 
समग्र ल्याटिन अमेरिकी भेगमा समाजवादी लहरको अन्त्य गर्न पनि अति दक्षिणपन्थी वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण तागत बोल्सोनारोलाई जिताउन प्रयोग गरेको देखिन्छ ।
   
समग्र ल्याटिन अमेरिकामा अमेरिकाको गहिरो स्वार्थ

दोस्रो विश्वयुद्धको समाप्तिपछिका अमेरिकी सरकारहरुले आर्थिक सामरिक दृष्टिले कमजोर मुलुकमा आफू अनुकूल हुने गरी सत्ता परिवर्तन गर्ने खेलमा लागिरहे । अमेरिकाले आफ्नो विश्व प्रतिद्वन्द्वी सोभियत संघको साम्यवादी प्रभाव फैलिन नदिन यस्ता हर्कत गरेको हो ।

जब पुँजीवाद, लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको दुहाई दिने पुँजीवादी कित्ता र समता, समन्यायिकता एवं राज्य नियन्त्रित अर्थतन्त्र स्वीकार्ने साम्यवादी कित्ताबीच विश्व राजनीति बाँडिन पुग्यो । त्यसै बेलादेखि अमेरिकाले साम्यवादी लहर रोकथामका लागि मार्सल प्लान तथा टु«मन डक्ट्रिन अगाडि ल्यायो । यस्ता नीतिले त्यसपछिका सम्पूर्ण अमेरिकी सरकार प्रमुखहरुलाई साम्यवाद तथा समाजवादप्रति झन्झन् बढी कट्टर विरोधी बनाउँदै लग्यो । जसले सन् १९६१ को बे अफ पिगमा भएको साम्यवादी क्युबासँगको लडाइँ, अर्जेन्टिनी फोहोरी युद्ध, सन् १९४७ देखि अमेरिकी सरकारले ल्याटिन अमेरिकी मुलुकहरुमा सयौं राजनीतिक हत्या, सैन्य कु एवं आफ्ना खेमाको पक्षपोषण गर्ने विद्रोही समूह जन्माएर राज्य विप्लव गराउने कार्य गरिरहेको छ ।

इरानको तेल होस् या ग्वाटेमालाको केरा, पाएसम्म सबैमा आफैं हाबी भएर भान्से बन्न खोज्ने अमेरिकी मनसुबा कहीँ कतै लुकेको छैन । लोकतन्त्र या व्यक्तिगत स्वतन्त्रताका नाममा आफ्न पन्जा सर्वत्र फैलाएको छ अमेरिकाले । यसका लागि यसले विभिन्न एजेन्सीका मद्दतले स्थानीय बौद्धिक जमात तथा प्रभावशाली व्यक्तिहरुलाई भरसक आफ्नो प्रभावमा पार्ने, नभए धम्क्याउने, अपहरण गर्ने, यातना दिने, बेपत्ता पार्नेदेखि लिएर हत्यासम्म गर्ने–गराउने गरी आएको छ । आफ्ना  विपक्षमा उभिएका सरकारहरु रहेका मुलुकमा हिंसा भड्काउने, विद्रोह जन्माउने, सैन्य विद्रोहद्वारा सामाजिक अस्तव्यस्तता निम्त्याइदिने, आर्थिक एवं सामाजिक अराजकता सिर्जना गराई जनजीवनलाई प्रतिकूल परिस्थितिमा धकेल्ने काम गर्दछ ।

सन् १९५८ को क्युबाली क्रान्ति सफलताले पश्चिमी गोलाद्र्धमा साम्यवादी सरकारको उदय गराएको थियो । आफ्नै करेसा नजिक साम्यवादीहरुको विजयले आत्तिएको अमेरिका विभिन्न हत्कण्डा लिएर त्यसविरुद्ध प्रस्तुत हुन थाल्यो । शीतयुद्धकालमा साम्यवादी सोभियत संघ अमेरिकाको एकमात्र प्रतिस्पर्धी भएकाले साम्यवादी क्युबाली सरकारलाई स्वतः सहयोग दिने भयो । सोभियत संघले साम्यवादी आन्दोलन र सरकारलाई संसारभर सहयोग गरिरहेका हुनाले ल्याटिन अमेरिका पनि त्यसबाट अछुतो रहन सकेन । त्यसपछि त अमेरिकी गुप्तचर संस्था सिआइएका माध्यमबाट ल्याटिन अमेरिकाका सबै समाजवादी या साम्यवादी आन्दोलनविरुद्द आर्थिक, सैनिक एवं राजनीतिक–कूटनीतिक हमला जारी रखेको छ । यस्ता उदाहरण प्रशस्तै छन् ।
     
सन् १९५४ मा ग्वाटेमालामाथिको सैन्य हमला गरी सरकार पतन गराएको मात्र हैन, सन् १९५९ मा  सिआइएको मद्दतले फ्राँस्वाँ दुभालिएरलाई सत्तामा पुर्‍याएर फरक विचार राख्ने सम्पूर्ण हेइटीका जनताको कत्लेआम गराएको, सन् १९६४ मा ब्राजिलका राष्ट्रपतिले अमेरिकी कम्पनीहरुका आम्दानीमाथि थप करभार लगाएपछि सत्ताबाट हटाइएको, सन् १९६९ मा उरुग्वेको समाजवादी आन्दोलन दबाउन अमेरिकाले गरेको षड्यन्त्र, सन् १९७१ मा चे ग्वेभाराको आन्दोलन दबाउन बोलिभियामा भएको दमन, सन् १९७३ मा समाजवादी सरकार प्रमुख साल्भादोर एयान्डेको अमेरिकी सैन्य कारबाहीमा हत्या, सन् १९७६ मा भिन्न विचारधारा बोकेकै नाममा सैन्य शासक पेरोंलाई तिसौं हजार मनिसको ज्यान लिने दमन गर्न सम्पूर्ण सहयोग, सन् १९८० मा एल सालभडोरका समाजवादी विद्रोहलाई दबाउन त्यहाँको सरकारलाई सहयोग गरेको, सन् १९८९ मा पनामामाथि धाबा बोली हजारौँ पनामेली जनताको नरसंहार गरेको, सन् १९९० मा पेरुका शासक फुजिमोरीलाई सैन्य सहयोग दिई वामपन्थीको कत्लेआम गराएका जस्ता अनगिन्ती कर्तुत छन् । त्यसैले समग्र ल्याटिन अमेरिकी भेगमा समाजवादी लहरको अन्त्य गर्न पनि अति दक्षिणपन्थी वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण तागत बोल्सोनारोलाई जिताउन प्रयोग गरेको देखिन्छ ।  

सन् १९९८ मा ह्युगो चाभेजले विजय हासिल गरेपछि सम्पूर्ण अमेरिकी कम्पनीले  भेनेजुएलाको प्राकृतिक स्रोतसाधनमाथि एकछत्र दोहन गर्न पाइरहेको छुटलाई उनले नियन्त्रण गर्न सुरु गरे । विशेषतः खनिज तेलमा अमेरिकाको एकाधिकारको अन्त्य गर्न उनले अन्तर्राष्ट्रिय बजारमा नयाँँ नीतिको प्रस्ताव राखेर अमेरिकालाई बिच्क्याउने काम गरे । त्यसपछि अमेरिका उनको सरकार र उनी आफैंलाई सबै किसिमको अप्ठ्यारो सिर्जना गर्न थाल्यो ।

सन् २००२ मा उनलाई अपहरण गर्ने र बेपत्ता पार्नेसम्मको हर्कत गरेको पाइन्छ । त्यसपछिका वर्षमा नियमितजसो भेनेजुएलालाई अन्तर्राष्ट्रिय समुदायबाट एक्ल्याउन हरसम्भव लागिपारिरहेको छ । चाभेजको अन्त्यपछि उनका उत्तराधिकरी निकोलास मडुरोको सरकारलाई सम्पूर्ण ल्याटिन अमेरिकी समुदायबाट एक्ल्याएर आर्थिक एवं सामाजिक रुपले आक्रान्त पार्न संयुक्त राज्य अमेरिका लागिपरेको छ ।  

यसै रणनीतिका बीच अति दक्षिणपन्थी बोल्सोनारोको जितले अवश्य पनि अमेरिका खुसी भएको हो । ब्राजिललाई ल्याटिन अमेरिकामा आधार इलाका बनाई त्यस क्षेत्रका अन्य मुलुकबाट पनि समाजवादी साम्यवादी एवं कुनै पनि प्रकारको प्रगतिशील जनतान्त्रिक शक्तिलाई नियन्त्रण, संकुचन एवं सफाया गर्ने अमेरिकाले ठूलो मौका पाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।