काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी कार्यालयभित्रको भ्रष्टाचार प्रकरणले गम्भीर रुप लिएको छ र कार्यलयमा कार्यरत सबै १२ जना कर्मचारीलाई हटाइएको छ।
पार्टीको छविमा समेत नकारात्मक असर पर्ने भएकोले दशैंको मुखमा कुनै अभियोगबिना सबै कर्मचारीलाई हटाइए पनि अहिले भ्रष्टाचार कान्डको खुलासा भएको छ। हटाइएका कर्मचारीले कारण मागेपछि अध्यक्ष मण्डलका संयोजक र सदस्यहरुले आर्थिक अनियमिततामा संलग्न भएको कारण सबैलाई निष्कासन गरिएको खुलासा गरेका हुन्।
स्रोतका अनुसार स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन प्रचार सामग्रीको छपाइ तथा पार्टीको विभिन्न तहको बैठक आयोजनाको खर्चमा घोटला गरेको आरोपमा कर्मचारीहरुलाई हटाइएको हो ।
पार्टीको घोषणापत्र, पम्प्लेट र अन्य सामग्री छपाईमा अनियमितता गरेको, शहिदको फोटो बिक्रीको हिसाव किताव पारदर्शी नभएको र राजनीतिक समिति बैठकमा भएको खर्चको हिसाव किताव पारदर्शी नभएको भन्दै निकालिएको थियो।
राजपा एकीककरण हुनुअघिका ६ वटा पार्टी कार्यालयका १२ जना नै राजपा पार्टी कार्यालयका सचिव थिए। राजपामा प्रदीप पाठक, सुरेन्द्र मण्डल, राजेश चौधरी, रञ्जित निष्पक्ष, सत्येन्द्र मिश्र र राजाराम पासवान कार्यालय सचिवको रुपमा कार्यरत थिए। त्यस्तै कार्यालयका कर्मचारी सुरेन्द्र मण्डलसहतिका १२ जनालाई २६ असोजमा तलव र एक महिना बराबरको भत्ता दिएर बिदाई दिएको कार्यालय सचिवबाट अवकास पाएका चौधरीले बताए।
राजपा अध्यक्ष मण्डलका सबै सदस्यहरुको उपस्थितिले कर्मचारीहरुको मिलेमतोमा चुनावी प्रचार सामग्री छपाइमा आर्थिक अनियमितता गरेको ठहर गर्दै सबैलाई बिदाई दिने निष्कर्ष निकालेका थिए। तर कर्मचारीहरुलाई एक महिना बराबरको भत्ता उपलब्ध गराइ पार्टी कार्यालयलाई आवश्यकता परेको अवस्थामा फेरि बोलाइने भन्दै बिदाई गरिएको थियो।
‘हामीलाई निकाल्नुको कारण आवश्यकताभन्दा धेरै कर्मचारी भएर भनिएको छ’, अर्का सचिव पाठकले नेपाल समयसँग भने, ‘हामीले राम्रै काम गरेका थियौं, त्यसैले हामीलाई फेरि पार्टीले अवसर दिन्छ भन्ने विश्वास लिएका छौं।’ राजपा स्रोतका अनुसार उनीहरूलाई छपाई र राजनीतिक समिति बैठकको खाना तथा खाजा खर्चमा बास्ताविकता भन्दा करिव २५ लाख जति बढी हिसाव देखाएर अनियमितता गरेको निष्कर्ष अध्यक्ष मण्डलको थियो।
अवकास पाएका सचिव राजेश चौधरीले आफूहरुलाई निष्कासन गर्दा कुनै कारण जनाइएन तर अहिले आएर आवश्यकताभन्दा बढी कर्मचारी भएकोले अवकास दिइएको बताइएको जनाए। ‘आवश्यकताभन्दा बढी कर्मचारी थिए भने आवश्यकलाई राखेर अनावश्यकतलाई अवकास दिन सकिन्थ्यो तर किन गरिएन’, चौधरीले भने, ‘यदि आर्थिक अनियमितता भएको थियो भने छानबिन गरी दोषीलाई कारबाही गर्नु पथ्र्यो, यसमा मेरो खेद छ।’
उनले आफूहरुलाई निकाल्नुको कारण आर्थिक अनियमितता भएको भन्दै चर्चा चलेकोमा खेद ब्यक्त गरे। राजपा महासचिव मनिषकुमार सुमनले पार्टी कार्यालयमा आवश्यक परेका कर्मचारी मात्र राख्न अव प्रतिष्पर्धाको आधारमा पार्टी सदस्यमध्ये योग्यलाई कार्यालयको कर्मचारीको रूपमा लिनु पर्ने बताए। उनले भने ‘आवश्यकताभन्दा बढी कर्मचारीहरु राजपामा थिए’ सुमनले भने, ‘एक कुनै कर्मचारीले कमजोरी गरे गरेनन थाहा भएन तर मन नपर्दा कसैले कसैलाई आरोप लगाएको हुनसक्छ।’
मधेश आन्दोलनका शहिदहरूको फोटो सहितको बोर्ड यतिवेला २ नम्वर प्रदेशका मन्त्रीको कार्यालय र निवासमा राखिएको छ। प्रदेश सभासद र संघीय संसदका सदस्यहरुले पनि निवासमा त्यो फोटो राखेका छन्। पार्टी कार्यालयले ति फोटोसहतिको बोर्ड १० हजार रुपैयाँका दरले बिक्री गरेको थियो। त्यसको हिसाव पनि पारदर्शी नभएको एक नेताले नाम नबताउने सर्तमा जानकारी दिए।
राजपाका कर्मचारीहरूलाई २८ असोजबाट बिदाई गरेपछि राजपा केन्द्रीय कार्यालय हालसम्म बन्द रहेको छ। महामन्त्री बिनोदकुमार सिंहले छिट्टै नै पार्टी कार्यालय सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।
६ वटा मधेशबादी दल तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकीकरण भई ६ बैशाख २०७४ मा राजपा गठन हुँदै ति पार्टीका सबै कार्यालय सचिव र कर्मचारीहरु राजपा पार्टी कार्यालयका कर्मचारीको रुपमा कार्यरत थिए।
राजपा नेपालका कर्मचारीहरुलाई आर्थिक हिनामिना गरेको आरोपमा हटाइएको कुरा सत्य नभएको राजपा महासचिव सिंहले बताए। उनले आइतबार मात्र औपचारिक रुपमा पार्टीमा आवश्यक्ता भन्दा बढी कर्मचारीहरु भएकोले हटाईएको दाबी गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४