काठमाडौं– किसानबाट उखु खरिद गरेबापतको रकम भुक्तानी नगरेका उद्योगीले उद्योगमा कार्यरत मजदुरको तलब नदिएर अर्को बदमासी गरेका हुन्।
रौतहटको श्रीराम सुगर मिलले ३ सय जना मजदुरको तलब नदिएर बदमासी गरेको पीडित मजदुरहरुले गुनासो गरेका छन्। श्रीराम सुगर मिलमा कार्यरत राजदेव सहनीले सुगर मिलले आफूहरुमाथि ज्यादति गरेको बताए। ‘हामी ३०३ जना मजदुरले २०७५ सालदेखिको तलब पाएका छैनौं,’ उनले नेपाल समयसँग भने, ‘विभिन्न शिर्षकमा पाउनुपर्ने १८ देखि २२ करोड रुपैयाँ नदिएर चिनी मिल गत वर्षदेखि बन्द गरिएको छ।’
श्रीराम सुगर मिलबाट सहनीले मात्रै करिब १० लाख रुपैयाँ लिनुपर्ने छ। उनी भन्दा सानो तथा ठूलो पदमा काम गर्ने अन्य मजदुरले कसैले उनको भन्दा बढी रकम त कसैले कम रकम लिनुपर्ने छ। ‘सबैको यकिन रकम त याद छैन। सबैको गरेर २२ करोड रुपैयाँजति लिनुपर्ने छ,’ उनले भने। गत वर्ष असारदेखि मिल बन्द गरिएको र कर्मचारी बस्दै आएका कोठाको समेत बिजुली कटौती गरेर मारमा पारेको उनको भनाइ छ। तलबसहित अन्य सेवा सुविधावापतको रकम माग गर्नका लागि आफूहरु श्रम अदालत पुगेको समेत उनको भनाइ थियो।
श्रम अदालतमा पेश गरिएको विवरण अनुसार धेरै कर्मचारीले ०७७ जेठ महिनादेखिको तलब पाएका छैनन्। उखु क्रसिङको मात्रै तलब पाउने भए पनि अघिल्लो आर्थिक वर्ष २०७६–०७७ सालको रिटेलिङ भत्ता बाँकी रहेको श्रम अदालतमा पेश गरेको विवरणमा उललेख गरिएको छ। मिलमा काम गर्ने कमर्कचारी र चिनी कारखाना व्यवस्थापकबीच सिजनल कामदार तथा कर्मचारीले रिटेलिङ भत्ता पाउने सहमति भएको थियो।
त्यस्तै २०७६ साल वैशाख महिनादेखि हालसम्म सम्पूर्ण कामदार तथा कर्मचारीहरुको सञ्चयकोष हालसम्म बाँकी रहेको मजदुरको आरोप छ। त्यस्तै आपसी सहमति सम्झौता अनुसार बेसिक तलबको ५ प्रतिशत ग्रेडवृद्धि रकम गत वर्ष साउनदेखिको पाउनुपर्ने मजदुरले बताएका छन्।
आर्थिक वर्ष २०७५–०७६ र २०७६–०७७को दुई फिक्स बोनस पनि बाँकी रहेको उल्लेख गरिएको छ। त्यस्तै कसै पनि मजदुरलाई जानकारी नगराई गत वर्ष २०७७ साउन ११ गतेदेखि चिनी मिल बन्द गरेकाले कामदार तथा कर्मचारीहरुले श्रम ऐन २०७४ को दफा १४५को उपदाफा ७ अनुसारको क्षतिपूर्ति पाउनु पनि बाँकी रहेको छ।
कारखाना बन्द गरेपछि प्रचलित कानुन अनुसार उपलब्ध गराउनुपर्ने उपदान समेत नपाएको मजदुरले उल्लेख गरेका छन्। यी सबै शिर्षकमा १८ देखि २२ करोड रुपैयाँ पाउनुपर्ने पीडित सहनीको भनाइ छ। यसअघि पनि आफूहरुको तलब एवं सेवा सुविधावापतको रकम उपलब्ध गराउन भन्दै पटक पटक माग गर्दापनि कारखाना व्यवस्थापनले चासो नदिएको आरोप मजदुरले लगाएका छन्। यता प्रतिनिधिसभामा रौतहटकी सांसद कल्याणीकुमारी खड्काले मजदुरको तलबबापतको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन्।
‘श्रीराम सुगर मिलले ३०३ जना मजदुरहरुलाई कानुन बमोजिमको तलब सुविधा दिएको छैन,’ उनले भनिन्, ‘मजदुरहरुको तलब, भत्ता, सञ्चयकोष लगायत बाँकी रकम यथाशिघ्र दिलाउन सरकारसँग माग गर्दछु।’
यसअघि श्रीराम सुगर मिलले उखु किसानको ३ करोड १४ लाख रुपैयाँ उखु खरिद गरेबापतको भुक्तानी दिएको छैन। उखु किसान हरिश्याम रायले बिहीबार नेपाल समयसँग भने, ‘श्रीराम सुगर मिलबाट हामीले पाउनुपर्ने ३ करोड १४ लाख रुपैयाँ हो। पाएका छैनौं।’