जनकपुरधाम-नेपालीहरुको पर्व छठको अवसरमा प्रदेश २ मा दुई दिन बिदा हुने भएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो । दसैं, दिपावली तथा छठ पर्वको अवसरमा प्रदेश सरकारले आइतबार आयोजना गरेको शुुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमार दुई दिने बिदा दिने निर्णय भएको जानकारी गराए । यसअघि केन्दीय सरकारले छठमा एक दिनमात्र दिँदै आएको थियो।
मुख्यमन्त्री राउतले छठपर्वको अवसरमा प्रदेशभरका पोखरी, तलाउ, नदी तथा पानीका मुहानलाई स्वच्छता अभियान अन्तर्गत सफा बनाउने पहल सुरु गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले ऐतिहासिक तथा धार्मिक धरोहर जानकी मन्दिर सौन्दर्यीकरणका लागि आठ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। यसका साथै रामजानकी विवाहोत्सवमा अयोध्याबाट आउने जन्तिका लागि प्रदेश सरकारले धोती र गम्छाले स्वागत गर्ने तयारी रहेको राउतको भनाई थियो ।
प्रदेश सरकारले मुख्यमन्त्रिय कार्यक्रम अन्तर्गत ‘बेटी पढाउ, बेटी बचाउ’, स्वच्छता अभियान र हेल्लो सीएम जस्ता कार्यक्रमले प्रदेश रुपान्तरणमा ठुलो भूमिका खेल्ने मुख्यमन्त्री राउतको विश्वास थियो । प्रदेश विकासका लागि सरकार तथा प्रतिपक्षको रचनात्मक सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेशका मन्त्री, राज्यमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४