झापा- झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ। दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो। प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ।
उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा विपीनकुमार पाण्डेले मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलोको संक्रमण भेटिएको उल्लेख गरे। संक्रमितमध्ये दुईजना रोजगारीका लागि भारतबाट आएका थिए। उनका अनुसार झापामा सातसहित मोरङमा तीन, सुनसरीमा दुई र इलाममा दुई संक्रमित छन्। यी जिल्लामध्ये सबैभन्दा धेरै झापामा देखिएको डा पाण्डेले बताए।
औलोबाट भारतीय सीमावर्ती क्षेत्रका १३ जिल्ला अतिप्रभावित, ३३ जिल्ला प्रभावितको अवस्था रहेको कार्यपत्रममा जनाइएको थियो। नेपालबाट औलो उन्मूलन भइसके पनि पछिल्लो समय फाट्टफुट्ट औलोको संक्रमण भेटिन थालिएपछि स्थानीय तहले समेत त्यसविरुद्ध जनचेतनामूलक कार्यक्रम शुरु गरेको दमक नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए।
अन्तरक्रियामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायतले औलो सार्ने लामखुट्टेलाई निर्मूल गर्न सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए। नगरपालिकामा भएको अन्तरक्रियामा वडाध्यक्षहरूले औलो रोग नियन्त्रण गर्न सरसफाइ एक मात्र उपाय भएको औँल्याएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४