बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या : सय दिन त्यत्तिकै खेर, इन्टरपोल गुहारियो 

निर्मला हत्या : सय दिन त्यत्तिकै खेर, इन्टरपोल गुहारियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याका सम्बन्धमा अनुसन्धान गर्न गठित विभिन्न सातवटा समितिहरू घटनाको दोषी पहिचान गर्न विफल भएपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ । महेन्द्रनगरको ओपेरा होटेलमा सिसी क्यामेराको डिलेट भएको भिडियो रिकभर गर्नका लागि इन्टरपोलसँग सहयोग मागेको कञ्चनपुर प्रहरीका प्रवक्ता डिएसपी कृष्ण ओझाले बताए । 

बर्खास्त भएका एसपी डिल्लीराज बिष्टका छोरा किरणले उक्त होटलमा केही युवतीको फोटोसुट गरेका थिए । स्थानीय बासिन्दाले निर्मला पनि त्यस दिन होटेलमा गएको आशंका गरेका छन् । यो भिडियो रिकभर भए नयाँ तथ्य खुल्न सक्ने प्रहरीको अनुमान छ ।

निर्मला हत्याका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान गरिए पनि नयाँ तथ्य फेला पर्न नसकेको डिएसपी ओझाले बताए । उनले भने, ‘अझै गहिरिएर अनुसन्धान गर्ने काम भइरहेको छ तर हत्याबारे नयाँ क्लु केही भेटिएको छ्रैन।’ निर्मलाको हत्या भएको शुक्रबार सय दिन पुगेको छ । घटनाको दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ ।

डिएसपी ओझाका अनुसार अहिलेसम्म प्रहरीले शंकाको घेरामा रहेका डेढ सयभन्दा बढीलाई सोधपुछ गरिसकेको छ । शंकास्पद विभिन्न व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको जानकारी उनले दिए । 

यस्तै प्रहरीले शंकास्पद व्यक्तिको डिएनए परीक्षणलाई तीव्र पारेको छ । प्रहरीले गत साता थप चार जनाको रगतको नमुना लिएर डिएनए परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको छ । अन्य शंकास्पद व्यक्तिको पनि डिएनए नमुना लिने तयारीमा रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले यसयअघि नै शंकास्पद ५ व्यक्तिको डिएन परीक्षण गरिसकेको छ । तर अहिलेसम्म  भएका  यी  अनुसन्धान र सोधपुछबाट प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।

गत साउन १० गते घरबाट पढ्न भनेर साथीकहाँ पुगेकी निर्मलाको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

शव भेटिएसँगै एउटा उच्चस्तरीय छानबिन समितिसहित सातवटा अनुसन्धान टोली बने पनि अझै हत्यारा पत्ता लाग्न सकेको छैन । सय दिन पूरा हुँदा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै प्रहरी प्रशासन र सरकारको चर्को आलोचना भइरहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले शंकास्पद देखाएका सबै व्यक्तिसँग सोधपुछ गरिए पनि अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन ।

निर्मला हत्याको प्रमाण नष्ट गरेको भन्दै गृह मन्त्रालयले कञ्चनुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिसकेको छ । तर कञ्चनपुरका स्थानीय र निर्मलाका आफन्तले उनीहरुलाई हिरासतमा राखे थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन् । 

घटनापछि निर्मलाका निम्ति न्याय माग्दै कञ्चनपुर, काठमाडौंलगायत देशका अधिकांश स्थानमा प्रदर्शन भएका छन् । कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको  थियो भने कैयन् व्यक्ति घाइते भएका थिए । 

सामाजिक अभियन्ताले निर्मला हत्याको सय दिन पुगे पनि अझै हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको विरोधमा कार्यक्रम गर्ने भएका छन् । निर्मलाको सम्झना र सरकारको विरोधमा शुक्रबार ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा दीप प्रज्वलन गरिने गरिने भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।