काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुको नक्कली श्रम इजाजत बनाउने वैदेशिक रोजगार विभागका २५ जना कर्मचारी विरुद्ध मुद्दा दर्ता गरिएको छ।
९ भदौ २०७४ देखि ९ कार्तिक २०७४ सम्म कुवेतमा रोजगारीको लागी जाने एक सय ८४ जना नेपाली महिला कामदारको श्रम इजाजत नै नक्कली बनाउने श्रम विभागका कर्मचारीविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गरेको हो। उक्त नक्कली भिषामार्फत कुवेत पुगेका १८४ जना महिला अलपत्र परेपछि श्रम विभागका कर्मचारीविरुद्ध उजुरी परेको थियो।
अख्तियारले शुक्रबार जारी गरेका विज्ञप्तीमा ६ अधिकृत १४ जना नायब सुब्बा ५ जना कमप्युटर अपरेटर र दुईजना विचौलिया विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
अख्तियारले वैदेशिक रोजगार विभाग ताहचल काठमाडौंमा कार्यरत शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दिपक कुमार आचार्य, गणेश विक्रम शाह, अधिकृतहरु दिनेश कुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओली छन्।
त्यस्तै नायब सुब्बाहरु अमरराज जोसी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, हेमराजपाण्डे, कर्णबहादुर नेपाली, केदार घिमीरे, मदन गिरी, खगेन्द्र पोखरेल , लक्ष्मीदेवि भुषाल, नगेन्द्र प्रसाद गौतम, रविन्द्र घिमीरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशव ढुङगानविरुद्ध किर्ते कागज मार्फत अख्तियारको दुरुपयोग गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो।
नक्कली श्रम स्वीकृती बनाउने दुई विचौलिया राजीब कुमार पन्जियार तथा विकास थापाविरुद्ध समेत अख्तियारले मुद्दा दर्ता गरेको आयोगले जारी विज्ञप्तीमा उल्लेख छ।
पक्राउ परेका श्रम विभागका कर्मचारी विरुद्ध भष्टचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम र दुई विचौलियाविरुद्ध सोही ऐनको दफा २२ बमोजिम सजाय तथा जरिवाना मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४