काठमाडौं- दशैंको मुखमै चिनीको मूल्य एकाएक आकासियो। मूल्य नियन्त्रण गरी चिनी बिक्री गर्ने जिम्मा पाएकाे साल्ट ट्रेडिङ कर्पाेरेशनसँग रहेको २० हजार टन चिनी पनि सरकारकै निर्देशमा बिक्रि हुन दिइएन । यसको प्रत्यक्ष मारमा परे उपभोक्ता र महँगो मूल्य तिर्न बाध्य भए।
दशैंअघि केही डिपार्टमेन्ट स्टोरहरुले प्रतिकिलो चिनीको मूल्य केही कममा बिक्री गरेको घटनाबाहिर आएसँगै सरकारले कर्पोरेशनलाई तत्काल चिनी बिक्री गर्न रोक लगाएको थियो। उक्त रोक सरकारले अहिलेसम्म पनि फुकुवा गरेको छैन न कुनै विकल्प नै दिएकाे छ । अनिर्णयकाे बन्दी बनाइएकाे ट्रेडिङकाे गुनासाे छ । जसकारण निजी क्षेत्रका चिनी व्यवसायीले कृत्रिम मूल्य निर्धारण गरे र महँगीले थलिएका उपभोक्तालार्इ ढाड सेक्दै फाइदा लुटे ।
‘ साल्ट ट्रेडिङमा स्टक रहेको चिनी बिक्री फुकुवाका लागि पटक-पटक सरकारसमक्ष माग गरे पनि हालसम्म कर्पोरेशनलाई अनुमति दिएको छैन,’ कम्पनीका खरिद तथा बिक्री वितरण शाखा प्रमुख पंकज जोशीले भने, ‘अहिले हामी अनिर्णयको बन्दी भएका छौं। चिनी भएर पनि बिक्री गर्न सकेका छैनौं। सरकारले उचित निर्णय दिन सकेको छैन।’
कम्पनीले चिनी बिक्री गर्न नपाउँदा झनै नेपाली बजारमा चिनीको भाउ मनपरी बिक्री भइरहेको उनको बुझाइ छ। ‘विगतदेखि चिनीको मूल्यवृद्धि नियन्त्रण गर्दै आएको कम्पनीले दशैंमा लाचार भएर मुख दर्शक बन्न बाहेक केही गर्न सकेन,’ उनले भने।
दशैंअघि साल्ट ट्रेडिङ कर्पोरेशनले चिनी खुद्रा प्रतिकिलो ७५ भने थोकमा ७० रुपैयाँमा बिक्री गरिरहेको थियो। बजारमा चिनीको भाउ आकाशिएपछि सार्वजनिक लेखा समितिले प्रतिकिलो ६३ रुपैयाँ निर्धारण गर्न सरकारलाई निर्देशन दिएको थियो। उक्त निर्देशनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङलाई तत्काल चिनी बिक्री नगर्न निर्देशन दिएको थियो।
‘निर्देशनअनुसार हामीले असोज १४ गते बिहानदेखि चिनी बिक्रीमा रोक लगायौं,’ शाखा प्रमुख जोशीले भने, ‘असोज १२ गते सुपथ मूल्यको पसल उद्घाटन गरिएको थियो। उद्घाटनपछि एक दिन मात्रै राम्रो गरी चिनी बिक्री गर्यौं। त्यसपछि भोलिपल्ट बिहानदेखि बन्द गरियो।’
दशैंमा चिनीको भाउ बजारमा सय रुपैयाँसम्म पुगेपनि सरकारले नियन्त्रण गर्न नसकेको उपभोक्तावादीहरु बताउँछन्। उनीहरुकाअनुसार पसलअनुसार चिनीको मूल्य असुल्ने गरियो। साल्ट ट्रेडिङलाई चिनी बिक्रीमा रोक लगाउँदा चिनी उद्योगी, व्यवसायी तथा खुद्रा व्यापारीहरुले मनपरी चिनीको भाउ असुलेको उनीहरु बताउँछन्।
शाखा प्रमुख जोशीका अनुसार अहिले मुलुकभर रहेका कम्पनीको विभिन्न गोदामहरुमा करिब साढे १७ हजार टन चिनी स्टकमा छ। ‘जो पछिल्लो सरकारको निर्णयअनुसार ३० प्रतिशत भन्सार तिरेर ल्याइएको हो,’ उनले भने ‘उक्त चिनी दशैंमा बिक्री गर्न पाइएन।’
त्यस्तै विरगन्ज नाकामा दुई हजार पाँच सय टन चिनी अड्किएको उनको भनाइ छ। त्यसलाई समेत जोडेर २० हजार टन चिनी कम्पनीसँग अहिले स्टकमा रहेको शाखा प्रमुख जोशी बताउँछन्।
प्रत्येकदिन पौने चार लाख विलम्ब शुल्कनाकामा चिनी अड्किएको एक महिना भएको छ। असोज ४ गते उक्त चिनी नाकामा आइपुगेको ट्रेडिङले जनाएको छ। सरकारले ३१ भदौमा चिनी उद्योगीहरुसँग पर्याप्त मात्रामा चिनी स्टकमा रहेको भन्दै १ वैशाखदेखि चैत मसान्तसम्मका लागि ९४ हजार नौ सय टन ननाघ्ने गरी विदेशबाट आयात गरिने चिनीमा परिमाणत्मक बन्देज लगाउने निर्णय गरेसँगै नाकाबाट चिनी आउन नसकेको शाखा प्रमुख जोशीको भनाइ छ।
‘अहिलेसम्म विलम्ब तथा अतिरिक्त शुल्क मात्रै ६१ लाख ६० हजार रुपैयाँ पुगिसकेको छ,’ उनले भने ‘प्रक्रियागत रुपमा शुल्क जरिवाना बढ्दै जान्छ।’ उनकाअनुसार यसपछिको दस्तुर प्रत्येक दिन ३ लाख ८५ हजार रुपैयाँ थपिदै जानेछ।
समितिको निर्देशन पनि वेवास्तादशैं लागेसँगै चिनीको भाउ आकाशिएपछि सरकारको चौतर्फी विरोध भयो। लगत्तै सार्वजनिक लेखा समितिको बैठकबसी पटक-पटक चिनीको भाउ उद्योगी व्यवसायीहरुले प्रतिबद्धता गरे बमोजिम ६३ रुपैयाँ खुद्रा मूल्य कायम गर्न निर्देशन दिए पनि सरकारले टेरपुच्छर लाएन। सरकारले नै वेवास्ता गरेपछि उद्योगी, व्यवसायीहरुले झन टेर्ने कुरै भएन।
लेखा समितिले असोजमा चिनीको मूल्य सम्बन्धमा छानविन गर्न पूर्वमन्त्री तथा सांसद लेख राज भट्टको संयोजकत्वमा बनाएको उपसमितिले सरकारी निकायबाटै चिनीमा आर्थिक अनियमितता भएको कारण देखाउँदै चिनीको भाउ बढेको निष्कर्श निकालेको थियो। चिनीको मूल्य वृद्धि हुनुको कारण सरकारी निकाय-अधिकारीहरु रहेको भन्दै छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई दिनुपर्ने उपसमितिको ठहर छ।
प्रतिवेदनअनुसार २१ भदौ ०७५ मा प्रधानमन्त्री, संसद र चिनी उद्योगी संघका प्रतिनिधिकाबीच भएको सम्झौता कार्यान्वयन नगरी सरकारी संयन्त्रले नै प्रतिकिलो ७० रुपैयाँ बजार मूल्य कायम गर्न लगाएको भेटिएको छ।
त्यसरी बजारमा बिक्री गर्न अनुमति दिएकोमा ठूलो आर्थिक अनियमितता भएको देखिएकोले चिनी प्रकरण अख्तियारलाई विस्तृत छानविन गर्न निर्देशन दिनुपर्ने देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४