काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (बिहिबार) दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल र नेपाल पुलिस क्लबले खेल्नेछन् ।
फ्रेन्ड्स क्लब र थ्री स्टारबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् । थ्रीस्टारले १० महिनादेखि लिगको लागि तयारी गर्दै बलियो टोली तयार पारेको छ । राष्ट्रिय टोलीका ४ खेलाडी हाल क्लबमा आबद्ध छन् ।
एलन न्यौपाने, निराजन खड्का, सुनील बल र अनन्त तामाङले टोलीलाई मजबुती दिएका छन् । रजिन धिमाल, अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध चेम्जोङ, विजय धिमाल लगायतका घरेलु खेलाडी पनि टोलीमा छन् । विदेशी खेलाडीमा डिफेन्डर पिटर सेगुन र फरवार्ड अजायी मार्टिन्ग्स छन् ।
यता फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले युवा टोलीलाई डेढ महिना देखि बाग्मती नदी किनारमा प्रशिक्षण गराईरहेका छन् । टोलीले अहिलेसम्म चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा एक दक्षिण एसियाली राष्ट्रको खेलाडीको रुपमा बंगलादेशका खेलाडीलाई अुनबन्ध गरेको छं । यस टिममा यू–१८ का खेलाडीहरुको बाहुल्यता रहेको छ ।
त्यस्तै आज नै हुने अर्को खेल दिउँसो ३ बजे सुरु हुनेछ । जावलाखेल र पुलिस पनि विजयी सुरुवात गर्ने लक्ष्यसहि मैदान उत्रनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४