काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले वामदेव गौतमलाई सांसद बनाउनका लागि काठमाडौं- ७ खाली गराइएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
गौतमलाई सांसद बनाउनकै लागि तत्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभामा निर्वाचित रामवीर मानन्धरले ठाउँ खाली गर्ने घोषणा गरेका छन् । मानन्धरले मंगलबार पत्रकार सम्मेलन गरी सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। मानन्धरले राजिनामा गरेसंगै उक्त क्षेत्रमा हुने उपनिर्वाचनका लागि नेकपाबाट गौतमले उम्मेदवारी दिने भएका छन् ।
यसै विषयलाई मुख्य समाचार बनाउदै आजको नागरिक दैनिकले 'गौतमलाई काठमाडौं– ७ बाट चुनाव लडाउने तयारी' शीर्षकमा खबर छापेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता गौतमसँग भेटेर विशेष डिल गरेपछि मानन्धरले राजीनामा गरेको समाचारमा उल्लेख छ । नागरिकले मानन्धरलाई राजीनामा गराएर गौतमलाई सांसद बनाउने प्रयास भएकोमा नेकपाभित्र व्यापक असन्तुष्टि रहेको पनि खबर लेखेको छ ।
यस्तै कान्तिपुरले 'गौतमका लागि उपनिर्वाचन : काठमाडौं ७ खाली' शीर्षकमा खबर छापेको छ भने उनलाई सांसद् बनाउनकै लागि राज्यकोषको करोडौँ खर्च गर्न लागिको पनि उल्लेख गरेको छ । गौतमका लागि उपनिर्वाचन गराउदा २ करोड ९१ लख २४ हजार खर्चिनु पर्ने अवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । यो आयोगको खर्चमात्रै हो, गृह र रक्षामन्त्रालयको थप खर्च उतिनै रहेको कान्तिपुरले उल्लेख गरेको छ ।
अन्नपूर्ण पोस्ट्ले सांसद छाड्दा उल्टै प्रसन्न शीर्षकमा खबर लेखेको छ । सांसद पदबाट राजीनामा दिने घोषणा गर्दा निकै खुसी देखिएका रामवीर मानन्धरले आफ्ना कार्यकर्ताहरुलाई पनि प्रशन्न मुद्रामा सम्झाइरहेको अन्नपूर्णले जनाएको छ। उसले खर्चिलो दुष्प्रयास उपशीर्षकमा पनि समाचार लेखेको छ । नयाँ पत्रिकाले पनि यो विषयलाई विशेष महत्वका साथ छापेको छ ।
वामदेव गौतमका लागि काठमाडौं ७ खाली गराइएको विषय बाहेक आजको नयाँ पत्रिकाले स्थानीय तहले निःशुल्क औषधि पनि दिन सकेनन् शीर्षकमा मुख्य समाचार छापेको छ । उसले ३५ थरीका ४४ औषधिका लागि केन्द्रबाट बजे गएपनि स्थानीय तहले निः शुल्क रुपमा नदिएको समाचारमा उल्लेख छ । नयाँ पत्रिकाले देशमा ४८ सय डाक्टर वेरोजगार रहेको तर, ९५० सरकारी दरबन्दी खाली रहेको पनि जनाएको छ ।
यस्तै अन्नपूर्णले दशैंमा घर जानका लागि काटिने अग्रिम टिकटमा कालोबजारी भइरहेको विषयलाई विशेष महत्वका साथ छापेको छ। नागरिक दैनिकले भने आठवटा संवैधानिक निकायको ४० पदमा ५३५ को दाबी रहेको विषयलाई महत्वका साथ पहिलो पृष्ठमा छापेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४