इटहरी- प्रदेश १ का चार सुख्खाग्रस्त क्षेत्रका परिवारले प्रदेश सरकारबाट राहत पाउने भएका छन । प्रदेशका सुख्खाग्रस्त धनकुटाको चौबिसे गाँउपालिका, पाँचथरको तुम्बेवा र कुम्मायक गाँउपालिका र तेह्रथुमको छथर गाँउपालिकाका स्थानीयले राहत पाउने भएका छन । सोमबार साँझ बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णयले सुख्खाग्रस्त क्षेत्रका प्रतिपरिवारलाई सात हजार पाँच सय रुपैयाँ नगद दिने भएको छ । यस्तैगरि, पाँचथरको तुम्बेवा गाँउपालिकामा खानेपानीको चरम समस्या समाधान गर्नलाइ खानेपानी बोक्ने एउटा ट्यांकरको लागी आवश्यक बजेट बिनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए ।
राहत कार्यक्रमको ३० प्रतिशत रकम स्थानीय सरकारले स्वामित्व लिने पनि मन्त्रिपरिषदले निर्णय गरेको मन्त्री आङ्बोले बताए ।
एक महिना अगाडि प्रदेश १ सरकारको गठन गरेको अध्ययन अनुसार राहत वितरण गरिन लागेको प्रदेश सरकारले बताएको छ । सुख्खाग्रस्त क्षेत्रको बारेमा दीर्घकालिन समाधानको लागी प्रदेश सरकारले थप कार्यक्रमहरु ल्याउने पनि मन्त्री आङ्बोले बताए । उनले भने, ‘चाडबाड आइरहेको अवस्थामा जनतालाइ केहि राहत दिनलाइ हामिले यस्तो निर्णय गरेका हौँ ।’
मन्त्री आङ्बोले सांसद निर्वाचित भएपछि नै आफू जुनसुकै ओहोदामा भएपनि सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाइ सहयोग र राहत दिने प्रतिवद्धता गरेका थिए । सोमबार उनैको मन्त्रालयले पेश गरेको प्रस्तावमा मन्त्रिपरिषदले छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४