काठमाडौं- नेकपा सचिवालयको बैठक भोलि आइतबार बस्दैछ। पार्टीको बाँकी रहेको एकीकरण तथा समसामयिक विषयमा छलफल गर्न आइतबार सचिवालयको बैठक बोलाइएको हो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार छलफलपछि महासचिव विष्णु पौडेलले आइतबार अपरान्ह सचिवालय बैठक बोलाएका हुन्।
दुवै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको र नेताहरू आरोप-प्रत्यारोपमै उत्रिएका बेला शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो।
यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयनसम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए।
पार्टीका जनवर्गीय तथा भातृ संगठनलगायत तल्लो तहमा बाँकी रहेको एकीकरणको प्रकृयाबारे निर्णय लिन सचिवालय बैठक बोलाइएको हो।
सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले प्रदेश नेतृत्वको विषयमा आफ्नो असहमतिमा अडान लिने एक नेताले बताए। प्रदेश नेतृत्वमा कुनै छलफल नगरी आफूखुशी गरिएको बताउँदै नेता नेपालले असहमति जनाएका छन्। र, अविलम्ब स्थायी समिति बैठक बोलाउन माग गरेका छन्।
नौ सदस्यीय सचिवालयमा नेपाललाई पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले साथ दिने सम्भावना छ। सचिवालय बैठकमा रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलको मध्यमार्गी भूमिका रहने स्रोतले बतायो। तथापि, पोखरेलले विधि र प्रक्रियाबाटै पार्टीभित्र एकीकरणको टुंगो लगाउनुपर्ने धारणा राख्दै आएका छन्।
सचिवालय बैठकले स्थायी समिति बैठकको तिथि तोक्ने सम्भावना रहेको एक नेताले बताए। तीन महिनामा स्थायी समितिको बैठक बस्ने बताइए पनि लामो समयदेखि अनिश्चित भएको छ। ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि एक पटक मात्र स्थायी समितिको बैठक बसेको छ। स्थायी समिति ४५ सदस्यीय छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४