शनिबार, वैशाख ८, २०८१

हाकु पटासीमा जब घन्किन्छ धिमे र बाँसुरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- हाकु पटासीलाई नयाँ डिजाइन दिइएको दौरा सुरुवाल, कली र मालासँगै रातो धागो, टाउकोमा सुनको फूल र गालामा रातो अबिरमा सजिएकी उनी संस्कारी देखिन्थिन्। हातमा बोकेको बाँसुरीले उनी अझै खुलेकी थिइन्।

मुलुकको जनसांख्यिक नक्सामा क्षत्री, बाहुन, मगर, थारू र तामाङपछिको पाँचौं ठूलो समूदाय हो, नेवार। ०६८ सालको जनगणनाअनुसार मुलुकभर १३ लाख २१ हजार नौ सय ३३ जनसंख्या छ, उक्त समूदायको। तीमध्ये ५१ प्रतिशतको बसोवास काठमाडौं उपत्यकामा छ। र, बाँकी मुलुकभर छरिएका छन्।

विज्ञहरूका अनुसार नेवार नेपाल उपत्यकाको भूगोलजनित विशेषण हो। नेपालमा बस्ने नेपाली भनेजस्तै 'नेपार' शब्दबाट नेवार बन्न पुगेको विज्ञहरूको भनाइ छ।

काठमाडौंको मलिलो माटो र समशीतोष्ण हावापानीले नेवारी संस्कृति हुर्काउन मद्दत गरेका छन्। नेवार जातिलाई कला, संस्कृति, व्यापार व्यवसाय, कृषि र विभिन्न परिकार बनाउनेमा धनी र विज्ञ मानिन्छ।

भाषा, कला, संस्कार र संस्कृति उपत्यकाभित्रका नेवारहरूले अझै संरक्षण गरेर बचाएका छन्। उपत्यका बाहिर भने विस्तारै भाषा र संस्कृति हराउँदै गएको छ।

विभिन्न समूदायमा परापूर्वकालदेखि नै पुरुषले मात्र सांस्कृतिक बाजा बजाउनुपर्छ भन्ने मान्यता छ। पुरानो सम्पदाले भरिपूर्ण ठाउँहरू हरिसिद्धि, भक्तपुर, खोकना, बुङमती र पाटनमा पुरुषहरूले मात्र नेवारी बाजा धिमे, बाँसुरी बजाउने चलन विस्तारै हट्दै गएको पाइन्छ।

अरू जातिले प्रयोग गर्ने पञ्चेबाजा, बाँसुरीभन्दा नेवार समूदायमा प्रयोग गरिने धिमे र ढोलक ठूला र भारी हुन्छन्। बाजाको बाहिरी भाग धातु र काठले बनेको हुन्छ। धिमे बाजा 'धाँचा' र 'मा धिमे' गरी दुई प्रकारका हुन्छन्। 'डाफा' लाई नेवार समूदायको मुख्य वा प्रमुख बाजा मानिन्छ। लिच्छवी कालमा उत्पत्ति भएको डाफालाई 'क्लासिकल' बाजा भनिन्छ। र, मल्लकालमा यो देशभर फैलिएको मानिन्छ।

डाफा बाजाहरू प्रायः धार्मिक उपासना झल्काउने दृष्टिले बनाइएको हुन्छ। विभिन्न चाडपर्वअनुसार रागहरू बजाउने गरिन्छ र यो कुनै एक गुठीसँग मात्र सम्बन्धित हुन्छ।
 
सबै महिलाले बाँसुरी बजाउँदा छुट्टै नेवारी पहिरन लगाउने गर्छन्, जो उनीहरू आफैंले तयार पारेका हुन्।

पहिलो बाजा कक्षा

'केंठा बाँसुरी समूह' ललितपुर हरिसिद्धिको बाँसुरी बजाउने पहिलो महिला समूह हो। हरिसिद्धिका महिलालाई नेवार संस्कृतिमा प्राथमिकता दिनुपर्छ भन्ने पहिलो समूह हो 'केंठा'।

१० सदस्य रहेको 'केंठा' बाँसुरी समूहमा दुई शिक्षक छन्, तीमध्ये एक जना हरिसिद्धिकै बासिन्दा हुन्।

'बाँसुरी बजाउन धेरै गाह्रो हुन्छ। कतिपयलाई दम र श्वासप्रश्वासको समस्याले पनि सताउने गर्छ,' समूहको नेतृत्व गर्ने प्रमिला महर्जन भन्छिन्, 'किनभने, बाँसुरी बजाउँदा धेरै समय सास रोक्नुपर्ने हुन्छ र तान्नुपर्छ।' उनी भने बाँसुरी बजाउँदै त्यसको धुनमा हराउने गर्छिन्। यी सबै महिलाले बाँसुरी बजाउँदा छुट्टै नेवारी पहिरन लगाउने गर्छन्, जो उनीहरू आफैंले तयार पारेका हुन्।

पुरुषले मात्र बाजा बजाउने चलनलाई पछाडि छाड्न सफलता पाएकामा उनी गर्व महशुस गर्छिन्। समय परिवर्तनसँगै समाजले पनि महिलाहरूलाई साहसी र राम्रो काम गरेको बताउँदै स्वीकारेको छ। नेवारी पहिरन लगाएर बाँसुरी बजाउनुको मजा अरूमा नभएको उनी बताउँछिन्।

नेवारी पहिरनमा सजिँदा आफ्नो संस्कृति जोगाउन केही पहल गरेजस्तो उनलाई लाग्छ।

सोही खलःका एलिजा महर्जनमा बाँसुरीप्रति छुट्टै लगाव छ। बाँसुरी बजाउन सिकेकामा उनी पनि गर्व गर्छिन्। 'सबैले राम्रो प्रतिक्रिया दिन्छन्। र, नेवारी संस्कृतिप्रति आफूले दिएको योगदान सही छ भन्ने आत्मविश्वास बढेको छ,' उनी भन्छिन्।

आफ्नो ठाउँ र घरमा पनि फरक शैली र चाडपर्व हुने बेलामा उनीहरू नेवारी पोशाकमा सजिने गर्छन्। र, बाँसुरीको धुनमा अरूलाई पनि रमाउन बाध्य हुने वातावरण तयार पार्छन्। तर, बाँसुरी बजाउनु उनको सोख हो।

नेवारी संस्कृतिअनुसार ८० उमेर नपुग्दै वृद्धवृद्धाको 'जङ्कु' गर्ने चलन छ। त्यस्तो समयमा उनीहरू आफ्नो पहिरनमा सजिएर बाँसुरी बजाउँदै टोलको परिक्रमा गर्ने गर्छन्।

आफ्नो टोलमा कुनै सांस्कृतिक कार्यक्रम हुँदा उनीहरू बाँसुरी बजाउन नपुगेका हुँदैनन्। त्यस्ता अवसरहरूमा केटी मान्छेले बाँसुरी बजाउँदा मायाबाहेक सम्मान पनि पाएको महर्जन बताउँछिन्।

त्यसबाहेक सांस्कृतिक कार्यक्रममा पनि उनीहरू बाँसुरीको धुनमा रमाउन पुग्ने गर्छन्। रेडियो नेपालमा दशैंको कार्यक्रममा बाँसुरी बजाएको याद अझै ताजा छ, महर्जनसँग। गुरु निरञ्जन महर्जनको सहयोगमा रेडियो नेपालसम्म पुगेकी थिइन्, उनी। भन्छिन्, 'बाँसुरी बजाएर कहिल्यै सकिँदैन, नयाँ राग र सरगम बढ्दै जान्छन्।'

हरिसिद्धिमा केंठा समूहले महिलाहरूलाई पहिलो पटक बाँसुरी बजाउन सिकाएको हो। त्यसपछि नै हो, पश्चिमा ढाँचा समूहले पनि महिलाहरूलाई भेला गरेर सिकाएको।

'जमानाअनुसार चल्न सकिएन भने सबैसामु लज्जित र पछाडि परिन्छ,' महर्जन भन्छिन्, 'अब महिलाहरू पनि हर्ष, उल्लाससँगै समाजमा घुलमिल हुनुपर्छ र आफ्नो धर्म संस्कृति बचाउनुपर्छ।' यही सोचअनुसार हरिसिद्धिमा केंठा दाफा खलःले महिलाहरूलाई बाँसुरी कक्षा शुरु गरेको हो।

२०६७ सालदेखि हरिसिद्धि माताको मन्दिरमा पुजारी बनेका शालिकराम महर्जन भन्छन्, 'पहिले महिलाहरूले नाच्न नहुने, चर्को आवाजमा हाँस्न नहुने, नचिन्ने व्यक्तिसँग बोल्न नहुने मान्यता थियो।'

'अ गोल्डेन प्लेस' र पर्यटकीय स्थलका रूपमा चिनिने हरिसिद्धिलाई नेवारी संस्कृतिको खजाना पनि मानिन्छ।



नेवारी बाजा बजाउने पहिलो महिला

महिला भएर बाजा छुन हुन्न भन्ने मान्यता थियो, भक्तपुरमा। १२ वर्षको उमेरमै इन्दिरा लाछिमस्युले बाजा बजाउन शुरु गरिन्। सानै उमेरमा उनमा बाजाप्रति आकर्षण बढ्यो। 'मलाई त महिला र पुरुष भनेर बाजा बजाउन छुट्याएको थाहा नै छैन,' उनी भन्छिन्।

इन्दिराका हजुरबा रत्नलाल र बुवा पञ्चलाल नेवारी धिमे बाजामा पोख्त थिए। उनले जब बाजा बजाउन थालिन्, गर्न नहुने काम गर्न लगायो छोरीलाई, परापूर्वकालदेखि मान्यता तोड्योजस्ता भनाइ उनका बुवाले धेरै सुन्नुपरेको थियो।

उनका बाजेले केटाहरूलाई नेवारी बाजा सिकाउने गर्थे। त्यही सुन्दासुन्दै उनले बाजाको सुरताल सिकिन्। केही समयपछि बाजे र बुवाको सहमतिमा उनले बाजा सिक्न थालिन्।

शुरुमा निकै अप्ठ्यारो भयो, केटीले बाजा बजाई भन्दै सबैले उनलाई मात्र हेर्ने र कुरा काट्ने गर्थे। तर, समाजमा त्यस्ता व्यक्ति पनि थिए, जसले इन्दिरालाई स्याबासी दिन्थे।

महिला-पुरुष सरावरी

पुरानो संस्कृति र सम्पदाले भरिपूर्ण खोकनामा पनि पुरुषले मात्र बाजा बजाउन सक्छन् भन्ने मान्यता थियो। पछिल्लो पुस्ताले त्यसको अनुसरण गरेका छैनन्।

महिला र पुरुष दुवै मिलेर धिमे बाजा र बाँसुरी बजाउँछन्। त्यसैले बाजा बजाउने महिलाहरूको मात्र समूह छैन। अमन मालीले दुई वर्षयता बाँसुरी सिकाउँदै आएका छन्। अमन भन्छन्, 'छोरीले बाजा बजाउन हुँदैन भन्ने मान्यता अब समयसँगै परिवर्तन भएको छ।'

आगामी दिनमा अझ धेरै परिवर्तन आउने उनको भनाइ छ। अहिलेसम्म अधिकांश प्रशिक्षक पुरुष छन्। 'तर, अब पालो महिलाहरूको हो,' अमन भन्छन्।

संस्कृतिविद तेजेश्वरबाबु ग्वँग भन्छन्, 'नारी चेतना र परिवर्तनको फल हो यो सबै।' अरू विषयमा आएको परिवर्तन नियाल्नुभन्दा पनि उनी आफूमा आएको परिवर्तनमै दंग छन्। विगतभन्दा फरक ढंगमा उनी आफ्नो जिन्दगी बिताउन चाहन्छन्। 'युगले रुचाएपछि मैले पनि रुचाउनुपर्छ,' उनी भन्छन्।
 
'महिला र पुरुषहरू समान र एक हुन् भन्ने कथन अहिले शब्दमा सीमित छैन। विस्तारै हाम्रो समाजले पनि स्वीकार गरेको छ।'

तोडिँदै मान्यता

ललितपुरको लुभुमा पनि महिलाले बाजा बजाउन हुँदैन भन्ने मान्यता तोडिँदै गएको छ। 'तर, महिलाको छुट्टै समूह बनाएर बाजा बजाउन लगाउनुपर्छ भन्ने छैन,' स्थानीय धनबहादुर मर्हजन भन्छन्।

महर्जनले ०५२ सालदेखि उनले 'नाश धिमे खलः'मा धिमे बाजा सिकाउँदै आएका छन्। उनी भन्छन्, 'नेवारको धिमे बाजा भगवान इन्द्रको मनपर्ने बाजा हो। धिमे बाजा बजाउँदा स्वयम् भगवान इन्द्र स्वर्गबाट धर्तिमा आउनुहुन्छ बाजा सुन्न।'

उनको बुझाइमा अहिलेसम्म महिलाले नै परम्परागत बाजा बजाउन चासो नदिएका हुन्। अहिले जति सिक्न आउँछन्, बाजामा पोख्त बनाउने गर्छन् उनी।

महिलाको मात्र समूह बनाएर बाजा बजाउनुपर्छ भन्ने सोच राख्छन् तर समूह मिलाउन गाह्रो देख्छन्। 'महिलामा लाज र अप्ठेरो भन्ने धेरै छ, सोही कारणले पनि महिलाहरू नेवारी संस्कृतिमा पछाडि परेका हुन्,' उनी भन्छन्।

महिला र पुरुष मिसाएर बाजा बजाउन लगाउँदा उनीहरूमा आत्मविश्वास बढेको उनले पाएका छन्। धिमे बाजा बोक्न धेरै गह्रौं हुन्छ, समाजमा महिलालाई नरम र पुरुषको तुलनामा कमजोर मानिन्छ। तर, अहिलेका महिलाले आरामले धिमे बजाउन सक्छन्। गाह्रो र भारी मान्नुभन्दा पनि तालमा रमाउने गर्छन्।

मिस नेवा पनि बाजामा अभ्यस्थ

ललितपुरको सिद्धिपुरमा पनि धिमे बाजा बजाउने महिलाहरूको छुट्टै समूह छैन। तलासी धिमे खलःका अध्यक्ष रामचन्द्र महर्जन भन्छन्, 'महिलाहरूले खासै चासो देखाउँदैनन्। त्यसैले उनीहरूको छुट्टै समूह बनाएर धिमे वा बाँसुरी सिकाउने सोच छैन।'

सन् २०११ मा 'मिस नेवा' को ताज पहिरेकी सुनिता डंगोल पनि एक समयमा बाँसुरी बजाउँथिन्। 'हामीले सानैदेखि पुज्दै आएको नाट्येश्वर मन्दिरमा महिलाहरू छिर्न र छुनु हुँदैन भन्ने मान्यता छ,' उनी भन्छिन्, 'महिलाहरूले बाजा छुँदा पागल हुने, नराम्रो घटना हुने र महिला भएर समाजमा घुलमिल कम हुनुपर्ने, रमाइलो गर्न नहुने र भीडभाडमा जान नहुने भन्ने सोच थियो।'

तर, समय बदलिएअनुसार आजको दिनमा पुरुषभन्दा बढी महिलाहरू नै बाजा र बाँसुरीमा संलग्न भएको देखिन्छ। 'महिला र पुरुषहरू समान र एक हुन् भन्ने कथन अहिले शब्दमा सीमित छैन। विस्तारै हाम्रो समाजले पनि स्वीकार गरेको छ,' उनी भन्छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।